प्रनिश गिरी
कुश्मा, पर्वत वैशाख २१ गते । जिल्लाको उत्तरी भेगमा अवस्थित जलजला हमपाल क्षेत्र पर्यटकीय आकर्षणको गतिलो गन्तव्य बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र धार्मिक महत्त्व बोकेको हम्पाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनको सङ्ख्या यतिखेर दिनानुदिन बढ्दो छ ।
पर्वतको जलजला गाउँपालिकाको जलजला भन्ने स्थानसम्म केही पक्की तथा कच्ची सडक पुगेको छ । गाडी गुड्न नसक्ने स्थानबाट रोमाञ्चक र साहसिक पैदलयात्रा सुरु हुन्छ । पैदलयात्रीले समुद्र सतहदेखि ३३ सय मिटर उचाइँमा रहेको जलजला क्षेत्रको हमपालको रमणीय लेकसम्म पाइला टेक्न सक्छन् ।
मोदी गाउँपालिकाको हम्पाल लेक, माटेको लेक, डाँडाकमेरे, भमरकोट, भुकदेउराली, लप्सीबोट, कास्की विरेठाँटीसम्म दुई दिनमा पैदल यात्रा गर्न सकिन्छ । पैदलयात्रीले हमपाल क्षेत्रमा पर्ने जलजला सरोवर, हमपाल (ओमपाल), सिर्पु लगायतका स्थानहरूका रमणीय दृश्यको अवलोकन गर्न सक्ने छन् ।
यात्राको क्रममा थरिथरि रङमा लटरम्म फूलेका लालीगुराँस रुखहरूले सजिएको हम्पाल लेकको प्राकृतिक दृश्यावलोकन, जैविक विविधता तथा स्थानीय कला संस्कृतिको झलकले जसकसैको मन फुरुङ्ग हुन्छ । हम्पाल क्षेत्रमा मात्र लालीगुराँसका विभिन्न थरीका फूलहरू फूल्ने वर्षौ पुराना रुखहरू पाइन्छन् ।
हम्पाल क्षेत्र स्थानीय जलजला गाउँपालिका र मोदी गाउँपालिका क्षेत्रमा पर्ने हुँदा पनि स्थानीय पालिकाले यस क्षेत्रको पर्यटकीय विकासका लागि चासो देखाएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले हम्पाल क्षेत्रको दिगो विकासका लागि सडक निर्माण, धर्मशाला निर्माण, पदमार्ग विस्तार, विद्युत् तथा इन्टरनेट पहुँच, खानेपानीको व्यवस्था, भगवान शिवको मूर्ति तथा मन्दिर निर्माण, जटभरतको मूर्ति स्थापना, गौतमबुद्धको मूर्ति स्थापना लगायतका योजना रहेको उल्लेख गरेका थिए ।
कालान्जर क्षेत्रमा आकर्षक पदमार्ग, मनमोहक हिमश्रृङ्खला दृश्य, ऐतिहासिक स्थल र धार्मिक आस्थाका केन्द्रहरू रहेका छन् । पूर्वाधारको अभाव, प्रचार–प्रसारको कमी र पहुँच मार्गको समस्याजस्ता कारणले अपेक्षाकृत रूपमा पर्यटक भित्रिन सकेका छैनन् । यात्रामा सहभागी पैदलयात्रीले कालान्जर क्षेत्र समेत भनेर चिनिने हम्पाललाई व्यवस्थित रूपमा विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउँछन् । जलजला क्षेत्रको सम्भावना निकै ठुलो छ तर आवश्यक पूर्वाधार र प्रचार नहुँदा ओझेलमा परेको छ ।
जलजला क्षेत्रमा विगत ३ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका स्थानीय टीका पुनले पर्यटकीय विकासका नाममा जथाभाबी भौतिक संरचना बनाउँदा यहाँको मौलिक प्राकृतिक स्वरूप बिगार्न नहुने र जङ्गल पैदल यात्रा नै उपयुक्त हुने सुझाउनुहुन्छ । यस वर्ष पर्यटकको आगमन उल्लेख्य रहेको होटल व्यवसायी पुनको भनाइ छ । पर्यटकीय क्षेत्रमा स्थानीय होटल व्यवसायीहरूले विद्युत् र सञ्चार इन्टरनेटको सुविधाको खाँचो रहेको गुनासो गरेका छन् ।