शशिधर पराजुली
विराटनगर, वैशाख २१ गते । उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् ।
उद्योग सङ्गठन मोरङले औद्योगिक क्षेत्रका यस्ता समस्या सुल्झाउने उद्देश्यले आगामी वैशाख २५ र २६ गते विराटचोकमा ‘नेपाल मानव संसाधन सम्मेलन’ को दोस्रो संस्करण आयोजना गर्ने तयारी गरेको हो ।
पछिल्लो समय युवाहरूको वैदेशिक पलायन र सिपयुक्त जनशक्तिको कमीका कारण उद्योगहरूको उत्पादन क्षमता प्रभावित भइरहेको छ । बजारमा चाहिएजस्तो कामदार नपाउने र भएका कर्मचारी पनि नटिक्ने समस्याले गर्दा औद्योगिक विस्तारले गति लिन नसकेको सन्दर्भमा यो सम्मेलन हुन लागेको हो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार सम्मेलनले मानव संसाधनलाई केवल प्रशासनसँग मात्र नजोडी उत्पादन र दीगो विकासको रणनीतिक आधारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
उहाँले जनशक्तिको सिपलाई गुणस्तर र उत्पादकत्वसँग प्रत्यक्ष जोड्ने गरी सम्मेलनको खाका तयार पारिएको जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा कुल ९ वटा विशेष सत्रहरू रहने छन् ।
ती सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बहुराष्ट्रिय कम्पनीहरूले अपनाएका सफल अभ्यास, प्रविधिगत परिवर्तनले जनशक्तिमा पारेको प्रभाव र आधुनिक डिजिटल एचआर प्रणालीको प्रयोगबारे छलफल हुने जानकारी दिइएको छ ।
सङ्गठनका मानव संसाधन विकास समिति संयोजक दीपक अग्रवालका अनुसार सम्मेलनमा कर्मचारीलाई उद्योगमै टिकाइराख्ने उपाय, काम गर्दै सिक्ने ‘अप्रेन्टिससिप’ मोडल र प्रचलित श्रम ऐनका विविध पक्षमा समेत कार्यपत्रहरू प्रस्तुत गरिने छन् ।
सम्मेलनमा उद्योगी, व्यवस्थापक, सरकारी नीति विश्लेषक र विद्यार्थी गरी १५० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । कुमारी जब, रिगो एचआर र जब्स डाइनामिक्स लगायतका संस्थाहरूको सहयोगमा हुने यो कार्यक्रमले उद्योग र तालिम प्रदायक संस्थाहरू बिचको दूरी कम गर्ने विश्वास लिइएको छ । दुई वर्षअघि पनि सङ्गठनले यस्तै सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनर्फत औद्योगिक रूपान्तरणका लागि आवश्यक दक्ष जनशक्ति र प्रविधिमैत्री कार्यवातावरण निर्माण गर्न मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ ।