• २१ वैशाख २०८३, सोमबार

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, दर्जन बढी घरमा क्षति

blog

चट्याङ लागेर ज्यान गुमाउनु भएका रुमबहादुर भुजेल । तस्बिर ः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २१ गते । अविरल वर्षासँगै परेको चट्याङले पश्चिम बागलुङको बडीगार्डमा एक जनाको ज्यान गएको छ ।

 चट्याङले दर्जनबढी घरमा क्षति पुगेको छ । आइतबार साँझ बडिगाड गाउँपालिका-१, सिरानका ४८ वर्षीय रुमबहादुर भुजेलको चट्याङ लागेर ज्यान गएको वडाध्यक्ष बोमबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार, भुजेलको घरमै चट्याङ लागेर ज्यान गएको हो । पछिल्लो समय लगातर भइरहेको वर्षासँगै परेको चट्याङले बडिगाड क्षेत्रका दर्जनबढी घरमा क्षति समेत पुगेको छ ।

बडिगाड गाउँपालिका वडा नं.१ का अधिकांश घरका ससाना विद्युतीय उपकरणमा क्षति पुगेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । चट्याङ परिरहेको समयमा विद्युत्‌को मेन स्विच अफ गर्दैगर्दा हाइभोल्टेज करेन्ट प्रवाहका कारण मृत्यु भएको हुनसक्ने वडाध्यक्ष थापाको अनुमान छ ।

 मृतकको शव पोस्टमार्टमका लागि इलाका प्रहरी कार्यालय हरिचौर लैजाने तयारी भइरहेको प्रहरी चौकी खर्बाङका प्रमुख प्रहरी नायब निरीक्षक नारायण कुँवरले जानकारी दिनुभयो ।

प्रनानि कुँवरका अनुसार, चट्याङले बडिगाड क्षेत्रका अधिकांश घरका राउटर, बल्ब, चार्जर लगायतका साना उपकरणमा क्षति पुगेको छ । साथै, निरन्तरको वर्षाले ग्रामीण सडकमा क्षति पुग्दा सहज यात्रा हुन नसकेको स्थानीयको गुनासो छ ।