गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १३ गते । सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण गर्न नेपालसहित २५ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार फागुन १७ देखि गत बुधबारसम्म सात वटा हिमाल आरोहण गर्न २५ देशका ८२ आरोहीले अनुमति लिएका हुन् । १० समूहका यी आरोहीमा २१ महिला र ६१ पुरुष छन् ।
सगरमाथा, ल्होत्से र आमादब्लमलगायतका हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त सिजन मानिने वसन्त ऋतुको हिमाल आरोहणको अनुमतिसँगै आरोहणका लागि रोप फिक्सिङ (डोरी टाँग्ने), आधार शिविर व्यवस्थापनलगायतका आरोहण गतिविधि सुरु भएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार अनुमतिबाट एक करोड ८४ लाख तीन हजार ८० रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको छ ।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने गर्छन् । सरकारले १० वर्षपछि गत भदौदेखि पर्वतारोहणमा लागु गरेको नयाँ शुल्कका कारण आम्दानी पनि बढेको छ । गत शरद ऋतुमा आरोहण शुल्क तेब्बरले बढेको र यो याममा सगरमाथाको आकर्षणका कारण चार गुणाले बढ्न सक्ने गौतमले बताउनुभयो ।
सरकारले विसं २०७१ पुस १७ देखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क परिवर्तन गर्दै गत साउन २६ देखि नयाँ शुल्क कायम गरेको थियो ।
यस वर्ष सगरमाथा र ल्होत्से आरोहणका लागि आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले र दोस्रो शिविरदेखि चुचुरोसम्मको बाटो व्यवस्थापन पर्वतारोहण सञ्चालक सङ्घले गर्ने उहाँले जानकारी दिनुभयो । हाल नेपालले ४१४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । जसमध्ये पाँच हजार आठ सयदेखि छ हजार चार सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति पर्वतारोहण सङ्घले दिने गरेको छ ।