• १४ वैशाख २०८१, शुक्रबार

ढुक्कसँग दोस्रो बुस्टर खोप लगाउन चिकित्सकको आग्रह

blog

काठमाडौं, फागुन १६ गते । सरकारले कोरोना भाइरसविरुद्धको दोस्रो बुस्टर मात्रा खोप दिने भएको छ । यो खोप काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगाउनु सुरु गरिएको छ भने स्थानीय तहमा खोप पठाइसकेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखाको प्रमुख डा.अभियान गौतमका अनुसार पहिलो चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिइने छ । 

साथै स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घरोगी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई लक्षित गरी दोस्रो मात्रा बुस्टर डोज खोप दिने भएको हो । 

पूर्ण खोप लगाएको तीन महिना पूरा भएका, पहिलो बुस्टरडोज लगाउन छुटेका र पहिलो बुस्टर डोज खोप लगाएका छ महिना पूरा भएकालाई दोस्रो बुस्टर मात्रा खोप लगाउन डा. गौतमले आग्रह गर्नुभयो ।  

कोरोना भाइरसबाट सङ्क्रमण भएकाहरुले सङ्क्रमणमुक्त भएको एक महिनापछि मात्र बुस्टर डोज लगाउन मिल्ने गौतम बताउनुहुन्छ ।  

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार सो अभियानका लागि सरकारले कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्टको १५ लाख डोज खोप प्राप्त गरेको छ । 

डा.गौतमका अनुसार, सरकारले खोप सबै प्रदेशमा पठाइसकेको छ र लक्षित जनसङ्ख्या पहिचान गरी प्रदेश सरकारले खोप लगाउन सुरु गरिसकेको छ । 

खोपको प्रभावकारिता 

जनस्वास्थ्यविज्ञ डा.खेम कार्कीले रोग प्रतिरोधात्मक र वृद्धवृद्धहरुलाई कोरोनाबाट सङ्क्रमित भए पनि जोखिम कम गर्ने हुँदा दोस्रो बुस्टर डोज लगाउन ढुक्कासँग लगाउन आग्रह गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “यो खोप पुरानै हो । त्यसैले ओमिक्रोनको सब भेरिएन्टका लागि कम प्रभावकारी देखिएको छ । प्रभावकारी कम भए पनि सङ्क्रमण भएमा जटिलता र मृत्यु दरलाई कम गरेको विभिन्न अध्ययनले देखाएका छन् ।” 

डा.कार्कीका अनुसार, कोरोनाविरुद्धको खोपले २४–२५ हप्तासम्म रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने र विस्तारै कम हुँदै जाने हुँदा खोप उपलब्ध भएसम्म सके ६–६ महिनामा नभए एक वर्षमा बुस्टर डोज लगाउँदा कोरोनाबाट हुने जोखिम र मृत्युदर कम गर्न सकिन्छ । 

जनस्वास्थ्य विज्ञ डा. कार्कीले कोरोना सङ्क्रमणको दर घट्दो क्रममा रहे पनि यसको जोखिम कम भइनसकेको बताउनुहुन्छ । 

 उहाँभन्नुहुन्छ, “नेपालमा सङ्क्रमणदर घट्दो क्रममा रहे पनि अमेरिका, युरोपियन देशमा ओमिक्रोन भेरिएन्टका नयाँ÷नयाँ सब भेरिएन्ट देखा परेका छन् । त्यसैले यसको जोखिम कायम नै छ ।” 

सात आठ महिनासम्म यस्तै स्थिति भयो भने मात्र देशबाट महामारीको जोखिम कम भएको मान्न सकिने डा. कार्कीको भनाइ छ ।  

हाल नेपालमा १० जनाभन्दा कममा कोरोना सङ्क्रमण देखिएको छ । महामारी सुरु भएदेखि अलिहेसम्म पिसिआर र एन्टिजेन परीक्षण गर्दा नेपालमा ११ लाख ५३ हजार ३७६ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नौ लाख ८९ हजार  ११५ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार २० जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेदेखि हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले पहिलो र ९५.७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार ७९ लाख ७२ हजार ७९१ जनाले बुस्टर डोज लगाएका छन् ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।