बालकृष्ण समको प्रेमपिण्ड प्रेमविषयक चिन्तनप्रधान नाटक हो । यसको मूल घटनाका साथै अनेक अवान्तर प्रसङ्गहरू पनि प्रेमसँग सम्बन्धित छन् । ती सबैले आदर्श प्रेमको गाथा बोल्छन्, प्रेमका लागि आत्मोत्सर्ग गर्ने पात्रहरूको झझल्को दिलाउँछन् । यस नाटकमा प्रेमको अधिरचना ‘नियमित आकस्मिकता’को दर्शनको जगमा उभिएको छ । प्रेम आकस्मिक रूपमा जागृत हुने भावना नै त हो तर त्यो अनियमित हुँदैन । त्यो विपरीत विद्युतीय भार भएका ऋणात्मक र धनात्मक शक्तिका बीच परस्पर आकर्षण पैदा भए जस्तै नारी र पुरुषका बीच परस्पर ऋणात्मकता र धनात्मकताले हुने आकर्षण आकस्मिक क्रिया हो । सायास वा हठपूर्वक प्रेम हुनै सक्दैन, त्यसले व्यक्तिको स्वार्थ मात्र पूरा हुन सक्छ । आत्मत्याग गरी अर्कोलाई गरिने प्रेमको आदर्श नै यस नाटकमा स्वीकार्य छ । प्रेमको त्यस आदर्शले आध्यात्मिक रूपमा, भोगविहीन रूपमा प्रेमको अपेक्षा गर्दछ । दण्डित हुनुपरे पनि प्रेमका लागि आत्मोत्सर्ग गर्ने प्रेमीहरूको कथा यस नाटकमा प्रस्तुत गरिएको छ । यस नाटकमा प्रेमको आविर्भाव र विकास मनोविज्ञान, जीवविज्ञान र भौतिक विज्ञानअनुरूप सहज र स्वाभाविक देखिए पनि प्रेमदर्शन आध्यात्मिक र आदर्शवादी बन्न पुगेको छ । नाटककारको ‘नियमित आकस्मिकता’को दर्शन ज्ञान र विज्ञान, अध्यात्मवाद र भौतिकवादको समन्वयमा आधारित भएकाले त्यसको प्रभाव यस नाटकमा पनि परेको छ । पूर्वीय आर्य संस्कृति एवं पूर्वीयपाश्चात्य चिन्तनको सङ्केत नाटकमा घुमिफिरी देखापरिरहन्छ र त्यो प्रेमलाई हेर्ने आधार पनि हो । यस लेखमा तिनै कुराको विमर्श गरिएको छ ।
प्रेमपिण्ड नाटकमा सविता र नकुलको प्रेमकथा तीन भाग, नौ अङ्क र बयासी दृश्यमा फैलिएको छ । नाटकको आरम्भमा ‘नान्दी र प्रस्तावना’ अनि अन्त्यमा ‘विष्कम्भक’ दृश्य पनि रहेका छन् र तिनलाई अङ्मुख दृश्यको पूर्वाद्र्ध र उत्तराद्र्ध भनिएको छ । कालीगण्डकीको तीरमा प्रद्युम्नले गाउँलेहरूलाई कथा सु्नाउने प्रस्ताव राख्दै सन्तवीरले आफ्नी टुहुरी बहिनीलाई काठमाडौँको एउटा ठूलो सेतो दरबारमा सुसारेमा राख्न लिएर गएको, ऐडविलकी स्त्रीले नौलीलाई त्यही छोडेर जान र नजर गराएर निधो दिने भनेपछि सन्तवीरले बहिनीलाई त्यहाँ छोडेर गएको भन्दै नाटकीय कार्यव्यापारको आरम्भको सङ्केत गरेकाले त्यसलाई नाटकको प्रस्तावना भन्नु उपयुक्त देखिन्छ । सारा नाटकीय घटना प्रद्युम्नले त्यही दृश्यमा नै सुनाएको भन्ने सङ्केत गरिएकाले त्यसलाई अङ्कमुख पनि भन्न सकिने देखिन्छ । नाटकको मूल घटना समाप्त भएपछि सुरुकै दृश्यमा प्रद्युम्नले गाउँलेहरूसितको वार्तालापमा आफ्ना विचार व्यक्त गरेको छ र त्यसलाई विष्कम्भक र अङ्कमुखको उत्तरार्ध भनिएको छ । नाट्यशास्त्रमा नान्दी, प्रस्तावना, विष्कम्भक र अङ्कमुख भिन्नभिन्न कुरा हुन् । नान्दी नाट्यप्रस्तुतिका क्रममा विघ्न आइनपरोस् भनी प्रारम्भमा गरिने मङ्गलाचरण हो र प्रस्तावना नाटक आरम्भ हुनुअघि सूत्रधार वा नटनटीद्वारा प्रस्तुत गरिने नाटकको रचनाकार र नाट्य विषयको परिचय एवं घटनाको उठान हो । विष्कम्भक र अङ्कमुख अर्थोपक्षेपक हुन् । अर्थोपक्षेपक भनेको सूच्य कथा हो । जुन कथा अङ्कमा देखाउन योग्य छैन तर बताउन आवश्यक छ वा कथा ज्यादै लामो छ भने त्यसलाई अर्थोपक्षेपकद्वारा प्रस्तुत गरिन्छ । कुनै अङ्कको आदिमा आएर कथा सूचित गर्ने वा कथालाई सङ्क्षिप्त गर्नेलाई विष्कम्भक र एकै अङ्कमा सबै अङ्कको सूचना दिने र बीजभूत अर्थको सूचकलाई अङ्कमुख भनिन्छ (विश्वनाथ, सन् १९७७, पृ. १८०–१८१) । भरतमुनिले विष्कम्भकलाई मुखसन्धिमा मात्र प्रचार गरिने भनेका छन् र विश्वनाथले त्यसको दृष्टान्तका रूपमा भवभूतिको मालतीमाधव नाटकको पाँचौँ अङ्कको सूच्य कथालाई प्रस्तुत गरेका छन् । भरत (२०३९)का अनुसार प्रथम अङ्कको आदिमा नारी वा पुरुषले बीज अर्थको सूचना दिने अर्थोपक्षेपक अङ्कमुख हो (भरत, २०३९, पृ. ३४५–३४६) । यस आधारमा हेर्दा प्रेमपिण्ड नाटकको अन्त्यमा विष्कम्भकलाई अङ्कमुखको दृश्यको उत्तराद्र्ध भनेर एउटै रूपमा प्रस्तुत गरेको नमिलेको देखिन्छ । बरु त्यो पूर्वीय नाटकमा प्रस्तुत गरिने भरतवाक्यसँग मिल्दो छ । त्यसमा प्रद्युम्नको प्रेमविषयक दर्शन र अन्त्यमा गाउँलेहरूले सविता र नकुलको अस्थिपञ्जरलाई काली नदीमा प्रवाहित गरेको दृश्य प्रस्तुत गरिएको छ । पाश्चात्य नाटकमा नाटकीय कार्यव्यापारपछि परिशिष्ट जस्तो अंश आवश्यक नमाने पनि प्रद्युम्नको प्रेमदर्शन सेक्सपियरको जुलियस सिजर नाटकको अन्त्यमा एन्टोनीले ब्रुटसको दुःखान्तपछि उसको प्रंशसा गरे जस्तै प्रकारको छ ।
प्रेमपिण्ड नाटकको शीर्षकीकरण विषयवस्तु र विचार दुवै दृष्टिले सान्दर्भिक देखिन्छ । शीर्षकले प्रेमको पिण्ड भन्ने अर्थ बुझाए पनि यहाँ अभिधार्थमा पिण्डको अर्थ खुल्दैन । भाववाचक प्रेम शब्दको इन्द्रियप्रत्यक्ष हुने डल्लो पदार्थ भन्ने अर्थ हुनै सक्तैन । नाटकको प्रस्तावनामा प्रद्युम्नले आफ्नो हातको शालिग्रामलाई देखाएर “यस्तै एउटा नयाँ प्रेमपिण्डको” (सम, २०४२, पृ. ३) नयाँ कथा सुनाउने प्रस्ताव गरेकाले प्रेमपिण्डले डल्लो पदार्थलाई पनि सङ्केत गर्दछ र पवित्र वस्तुलाई पनि । नाटकको अन्त्यमा प्रद्युम्नले सविता र नकुलको प्रेमकथा सुनाइसकेपछि उनीहरूको जोडिएको अस्थिपञ्जरलाई देखाउँदै गाउँलेहरूलाई “अब नकुल र सविताको यस ‘प्रेमपिण्ड’लाई मांसरहित प्रेमभावले डुङ्गामा हालेर लगीकन नदीको बीचमा डुबाइदिनुप¥यो !” (पृ. २८८) भनेकाले प्रेमपिण्ड भनेको सविता र नकुलको अस्थिपञ्जर रहेछ भनेर अनुमान लगाउन पनि सकिन्छ । तर ती अस्थिपञ्जरसँग अमर प्रेमको, प्रेमका लागि आत्मोत्सर्गको कथा जोडिएको छ र तिनलाई श्रद्धाको दृष्टिले हेरिएको छ । प्रद्युम्नले भनेको छ– “यी दुई जनाको हाड टाँसिएको गाँठोमा चक्र परेर लक्ष्मीनारायण शालिग्राम बनिदिए म घरमा लगेर सीतारामको तसबिरमन्तिर राख्थेँ, तर चाँडै बन्दैन क्यारे !” (पृ. २८४) । यहाँ प्रेमपिण्डलाई अभिधाभन्दा व्यञ्जनाबाट बुझ्नुपर्छ । त्यसो गर्दा प्रेमको एकत्व, घनत्व र अमरत्वको अर्थ प्रस्टिन्छ । त्यसो त प्रस्तुत नाटकभित्र ‘प्रेमपिण्ड’ नामक गर्भनाटक पनि छ, तर त्यसमा सावित्री–सत्यवान् कथाको अनुकरण गरिएको छ । त्यहाँ प्रेमलाई आध्यात्मिक आधारमा हेरिएको छ र त्यो लौकिक जीवनमा असम्भव छ । त्यसमा चम्पा बनेकी सविता आफ्नो पतिको मृत्यु हुँदा रोएको अभिनय गर्नुपर्ने दृश्यमा रिडी गएपछि सिकिस्त बिरामी भएको नकुलको अवस्थाले सविताको रुवाइ बढेर जानु र नथामिनु कारुणिक छ । तर त्यसका आधारमा नाटकको नामकरण गरेको मान्न सकिँदैन ।
नारी र पुरुषका बीच हुने सहज प्रेमको चित्राङ्कनमा प्रस्तुत नाटकले आफ्नो स्वरूप प्राप्त गरेको छ । नाटकभरि प्रेमको सन्दर्भ व्याप्त रहेको छ । निश्चय नै नारी र पुरुषका बीच आकर्षण, आसक्ति, अनुराग, कामना, लालसा, शारीरिक सम्बन्ध हुन सक्छ, तर ती जम्मै प्रेम हुन् कि होइनन्, प्रेमको परीक्षा कसरी उत्तीर्ण गर्न सकिन्छ भन्ने कुरामा नै प्रस्तुत नाटक केन्द्रित रहेको छ । नाटकको आरम्भदेखि अन्तिमसम्म नै कमला नकुलप्रति अनुरक्त देखापर्दछे र उसलाई आफूतर्फ आकर्षित गर्न अनेक प्रयत्न गर्दछे । त्यसैगरी ऐड्विड सविताको रूपसँग मोहित भएर उसलाई पाउनका लागि सबै प्रकारका युक्ति प्रयोग गर्छ । चिट्टे अमलाप्रति हुरुक्क देखिन्छ । मालती र खड्गेबीचको सम्बन्ध गाइँगुइँ सुनिन्छ । तर ती प्रेमका रूपमा देखापर्न सकेका छैनन् । ‘नियमित आकस्मिकता’को दर्शनले प्रेमलाई यसरी परिभाषित गरेको छ– “प्रेम त भावना हो, नियमित आकस्मिकताले ऋणात्मक र धनात्मक विद्युत्को घटबढ भइरहेको भावना– एक क्रिया” (सम, २०३९, पृ. २१९) । सविता र नकुलबीचको प्रेम आकस्मिक रूपमा, सहज ढङ्गमा भएको भावनात्मक क्रिया हो । प्रेमको अर्थलाई नाटकमा प्रद्युम्नले अझ स्पष्ट पारेको छ– “ईश्वर मूलतŒवको नाम हो भने प्रेम नै ईश्वर हो !... प्रेम पवित्र हुनैपर्छ, अपवित्र प्रेम त कामवासना मात्रै हो । प्रथमतः स्वार्थमा प्रेमको बीज बाँच्छ, परार्थमा गएर त्यसमा पवित्र मुना टुसाउँछ, मनुष्य मात्रमा फैलिएपछि त्यसमा पवित्र फूल फुल्छ ।... प्रत्येक व्यक्तिको स्वार्थ आत्मप्रेम हो, आत्मत्यागले अर्कोलाई प्रेम गर्नु प्रेमशिक्षाको प्रवेशिका हो ।” (सम, २०४२, पृ. २८६—२८७) । प्रद्युम्न गीतामा कृष्णले भने जस्तो निस्वार्थ निष्काम प्रेमको शिक्षा दिन्छ । निष्काम प्रेम भगवत् भक्तिमा समेत कठिन हुन्छ भने नारीपुरुषबीचको प्रेम कामनाशून्य हुनु झन् कठिन कुरा हो । प्रेमपात्रलाई पाउनका लागि नभएर प्रेमका लागि प्राणोत्सर्ग गर्नेहरू कथा बनेर स्मृतिमा बाँचिरहेका छन् । नकुल र सविताको कथा पनि त्यस्तै हो । नकुल भन्छ– “ऊ छ र यो संसार रमाइलो छ, ऊ निभी भने सूर्यलाई उज्यालो दिने पनि कोही हुँदैन, सूर्यलोकमा अँधेरी रात पर्छ । उसलाई केही भयो भने, ऊ मेरो निम्ति मरी भने यस विश्वमा फेरि केही पनि बाँकी रहँदैन– मेरो निम्ति यो संसार मर्छ अनि संसारको निम्ति मैले मर्नैपर्छ” (पृ. १०९) । नकुलको शवलाई बाँधेको डोरीको टुप्पोले आफ्नो कम्मरमा बाँधेकी सविता नकुललाई अँगालेर लाससहित कालीमा हामफाल्छे ।
प्रेमपिण्ड नाटकमा प्रेमको आदर्श प्रस्तुत गर्नका लागि पात्रहरूको बीच त्रिकोणात्मक सम्बन्धको विधान गरिएको छ । नाटकको प्रधान कथावस्तु सविता, नकुल र ऐडविलबीचको सम्बन्धमा आधारित छ । नकुल र ऐडविलको आकर्षणको केन्द्र सविता हो । त्रिकोणात्मक सम्बन्धका आधारमा सवितालाई शीर्ष मान्दा नकुल र ऐडविल त्यसका आधार बन्दछन् । त्यसो त ती तीनै जना आफैँमा एक एक शीर्ष हुन् । त्यसो हुँदा नकुल र सविताका आधारमा ऐडविल शीर्ष र ऐडविल र सविताका आधारमा नकुल शीर्ष बन्दछ । यसप्रकार तीन जना पात्र नै शीर्ष हुन सक्ने भएकाले तिनीहरूबीचको सम्बन्ध द्वन्द्वात्मक प्रकारको हुन्छ । नाटकमा सविता शीर्षमा रहँदा नकुल र ऐडविलबीच, ऐडविल शीर्ष हुँदा नकुल र सविताबीच अनि नकुल शीर्षमा हुँदा ऐडविल र सविताका बीच द्वन्द्व भएको देखिन्छ । ऐडविल र नकुलबीचको द्वन्द्व अव्यक्त तर डरलाग्दो किसिमको छ । नकुलले मालिकको सुसारे हो भन्ने जान्दाजान्दै पनि, सान्चाले नाटकीय कार्यव्यापारको आरम्भमा नै मङ्गले र रामवदनको घटना सुनाएर सचेत गराए पनि, गोविन्दले “नहुने गालपर्ने कुरामा मन डुलाएर हिँड्दा आफैलाई दुःख हुन्छ, बाबै !– तिमीलाई राम्रो लागे जस्तै अरूलाई पनि लाग्ला नि– अनि भोलि खासी तालिमे भएर अङ्कमाल गराएर माथि बारदलीमा हिँड्दा आफूले तल चोकमा उभिएर थुक घुटुघुटु निल्दै मास्तिर हेर्नुपर्दा के जाती भो ? अक्काशको फल आँखा तरी मर् !” (पृ. ३८–३९) भनेर सम्झाए पनि नकुलले आफूलाई समाल्न सक्तैन । बरु सवितालाई बगैँचामा बोलाएर रात बिताउँछ । बिहे गराइदिएर वा रिडीतर्फ धपाएर पन्छाउन खोज्दा पनि नकुल सवितालाई प्रेम गर्नबाट विचलित हुँदैन । उसलाई ऐडविलले मुरमुरिएर चट्कन दिनुबाट पनि उनीहरूबीचको द्वन्द्व बुझ्न सकिन्छ । ऐडविल र सविताबीचको द्वन्द्व बाह्य र स्पष्ट छ । सविताप्रति ऐडविलको आकर्षण र ऐडविलप्रति सविताको विकर्षण नै द्वन्द्वको कारण हो । नकुलको प्रेमले सविताको ऋणात्मक पक्ष धनात्मक भएकाले ऐडविलप्रति विकर्षण हुनु पनि स्वाभाविक नै हो । ऐडविलले आफ्नो केश फुल्न थालेकाले बूढो ठानी सविताले हेला गरेको ठान्नु पनि मनोवैज्ञानिक दृष्टिले सही ठहर्छ । ऐडविलले थर्काएर, फकाएर, गहनाको प्रलोभन देखाएर, पछि त प्रेमको याचनासमेत गरेर सविताको मन आफूतर्फ फर्काउने प्रयत्न गर्छ तर सविता डग्दिन । झ्यालको डन्डी हाल्न लगाएर, ढोकामा सवाल फेर्न लगाएर, किला र काँचका टुक्रासहितको अग्लो पर्खाल बनाउन लगाएर सवितालाई लुकेर नकुलसँग भेट गर्न बाहिर जान नसक्ने बनाउँछ । साँझमा एक्लै सुतेकी सवितामाथि हातपात गर्ने प्रयत्न गरेपछि सविताले नारीमा टोकेर, चिच्याएर गुहार मागी ऐडविलबाट आफूलाई बचाउँछे । कुनै यत्नले सवितालाई आफ्नो बनाउन नसकेपछि र सवितालाई बिदा गर्ने समयमा ऐडविलले भन्छ– “यहाँ बसुन्जेल तैँले तेरो छातीलाई इस्पात बनाइस्, अब यताबाट जाँदाजाँदै त्यसलाई करौँती पार्न लागिस् । तँ भ¥याङ ओह्र्लंदै जान्छेस्, करौँतीका दाँती धसिँदै जान्छन्, मेरो नौनी जस्तो छाती चिरिँदै पग्लिँदै जान्छ” (पृ. २४१) । सविताप्रति अनुराग र आसक्ति भए पनि त्यो भोगेच्छासँग सम्बन्धित भएकाले ऐडविलको हार भएको छ र ऊ टिठलाग्दो अवस्थामा पुगेको छ । सविता र नकुलबीचको द्वन्द्व प्रेमको द्वन्द्व हो । नकुललाई गोविन्दले भने जस्तो सविता तालिमे हुन्छे कि भन्ने डर लाग्छ, सवितालाई नकुलले छोड्ने हो कि भनेर डर मान्छे । सवितालाई नकुलले रिडी जाने बेला हाँसोले र रिडीमा मर्ने बेलामा आँसुले बिदा दिन भन्छ तर सवितालाई ती दुवै कुरा गर्न कठिन हुन्छ । रिडी जाने बेलामा छुट्टिनुपरेकाले ऊ हाँस्न सक्तिन, नकुल मर्ने बेला सँगै मर्ने निश्चय गरेकाले रुन सक्तिन । ऐडविलले घर बनाइदिएर बिहे गरिदिने भने पनि नकुलले त्यसको लोभ गर्दैन र सवितालाई गहना मात्र होइन, गहना राख्ने दराजको साँचो नै सुम्पे पनि प्रलोभनमा फस्दिन । प्रेमका लागि उनीहरूले सम्पत्तिको मोह त्याग गरेका छन् । अझ रिडीमा औलो लाग्छ भन्ने थाहा भएर पनि नकुल ऐडविलको दरबारबाट निस्कन तयार भएको छ र कोही, केही नभएको नकुलका लागि सविताले ऐडविलको दरबार त्यागेकी छ र अन्ततः उसैका लागि प्राण पनि त्यागेकी छ ।
प्रस्तुत नाटकमा नकुल, कमला र सविताबीच पनि त्रिकोणात्मक सम्बन्ध देखापर्दछ । त्यस सम्बन्धमा शीर्षमा नकुल रहेको छ र त्यसको आधारमा कमला र सविता रहेका छन् । कमला र सविता दुवैले नकुललाई चाहने भएकाले कमला र सविताबीच द्वन्द्वात्मक सम्बन्ध रहेको छ । नाटकको आरम्भदेखि अन्त्यसम्म नै कमलाले नकुललाई चाहेको, उसको मनलाई आफूतिर आकर्षित गर्न प्रयत्न गरिरहेको र सविता ऐडविलसँग बिदा भएर जाने दिन आउँदा ऊ नकुल भएको ठाउँमा नै जान लागेकी हो भन्ने ठानेर रातभरि सुत्न नसकेको, अमलाले नकुललाई हीनतर शब्दले सम्बोधन गर्दा रिसाएको देखिनु र भँडारेले “नकराऊ कमला, तिमी पनि कमलालाई जित्न सक्छ्यौ आज ?– तिम्रो मनमा जौतिल पाकिरहेको छ, ऊचाहिँ फुरुङ्ग परेकी छ” (पृ. २३३) भन्नुबाट उसको अवस्था बुझ्न सकिन्छ । नकुललाई आफ्नो बनाउन नसकेकोमा उसमा निराशा पनि उत्पन्न भएको देखिन्छ । एकदिन ऐडविलको घरको छानामा गिद्ध बसेको दिन उसले भनेकी छ– “सत्तेसत्ते, मलाई त बरु अगिको गिद्धले टप्प टिपेर हररर उडाउँदै लगिदिएको भए पनि हुन्थ्यो” (पृ. १०६) । कमलाले विभिन्न व्यक्तिसँग सविताप्रति ईष्र्याभाव व्यक्त गरे पनि सविताले भने कसैप्रति कुनै वैरभाव नराखेको देखिन्छ । कमलाले नकुललाई अनेक ढङ्गले प्रेमभाव प्रकट गरे पनि नकुल त्यतातिर लाग्दैन । बरु त्यस्तो गालपर्ने काम नगर्न भन्छ । उनीहरूका बीच आकर्षण र विकर्षणको द्वन्द्व चलेको देखिन्छ । त्यसबाट सविताप्रति नकुलको प्रेमको निष्ठा उज्यालिन्छ ।
प्रेमपिण्ड नाटकमा वियोगान्तलाई नै प्रेमको वास्तविक स्वरूप मानिएको छ । यसमा आउने सबै कथाहरू वियोगान्त नै छन् । मूलतः यो नकुल र सविताको वियोगान्त कथा हो । त्यसमा पात्रहरूको चारित्रिक दोष पनि छ र नियतिको खेल पनि छ । अरिस्टोटल (सन् १९०२) दुःखान्तको कारण पात्रका केही गल्ती वा चारित्रिक दोषलाई मान्दछन् (पृ. ४५) । नकुल र सविताले गरेको प्रेमलाई गल्ती जस्तो नलागे पनि परिस्थितिको ख्याल नगरी एकोहोरिनु र आफूलाई संयममा राख्न नसक्नु उनीहरूको कमजोरी हो । सानो गल्तीले भयानक परिणाम भोग्नुपर्ने परिस्थिति सिर्जना हुनु नै दुःखान्तको विशेषता हो ।
गर्भनाटक ‘प्रेमपिण्ड’ संयोगान्त बनाउन खोजे पनि नकुलको पीरले चम्पा बनेकी सविताको रुवाइ नथामिएपछि परिस्थिति कारुणिक बनेको छ । सान्चाले सुनाएको मङ्गले र रामवदनको घटना कारुणिक र त्रासदीपूर्ण छ । ती दुईको उठबस भएको जाहेर भएपछि दुवैलाई कोर्राले मरणासन्न हुने गरी चुट्न लगाएर धेरै समयसम्म बन्दी बनाई पछि नाङ्गेझार पारेर निकाली एउटालाई पूर्वतिर र अर्कोलाई पश्चिमतिर पठाइएको थियो । प्रद्युम्नले नकुललाई सुनाएका हिर–राँझा, फरहाद–सिरीं, लैला–मजनू, रोमियो–जुलियट, ऐदा–रदामस, सीता–रामका कथा जगत्प्रसिद्ध दुःखान्त हुन् । वियोगलाई नै प्रेमको असली रूप किन मान्ने भन्ने कुरालाई प्रद्युम्नले स्पष्ट पार्दै भनेको छ– “यी सब प्रेमका संयोगान्त घटना हुन्, चाहे लोक वियोग देखोस्, किनभने प्रेमफल अरूले देख्ताको वियोगमा नै संयोगले पाक्छ” (सम, २०४२, पृ. ११३) । प्रेमी–प्रेमिकाको संयोग भए पनि त्यो क्षणिक हुने र मृत्युले तिनीहरूलाई अलग पारिछाड्ने तर्क प्रद्युम्नले प्रस्तुत गरेको छ ।
प्रेमपिण्ड नाटकमा नायकत्वसम्बन्धी विमर्श पनि वाञ्छनीय ठहर्छ । धेरै विद्वान्हरूले यसबारे माथापच्ची गरेको पनि पाइन्छ । नाटकमा घटना, पात्र, दृश्य आदि सबै अवयवको विधान उद्देश्यलाई ध्यानमा राखेर गरिएको हुन्छ । प्रस्तुत नाटकको मूल ध्येय प्रेमको आदर्श सिकाउनु र प्रेमको महिमागान गाउनु हो । यसमा स्वार्थभन्दा परार्थमा, आत्मप्रेमभन्दा आत्मत्यागमा, वासना र कामनाभन्दा सहजतामा सच्चा प्रेम हुने विचार प्रस्तुत गरिएको छ । त्यसका लागि अनेक दृष्टान्त प्रस्तुत गर्दै नकुल र सविताको प्रेमको निष्ठालाई श्रेष्ठ पङ्क्तिमा उभ्याइएको छ । उनीहरूको आत्मोत्सर्गप्रति श्रद्धाभाव प्रकट गर्दै प्रद्युम्नले भनेको छ– “यिनीहरू सच्चा प्रेमी बने– यो प्रेमशिक्षाको प्रवेशिका हो” (पृ. २८४) । प्रेम व्यक्तिका लागि मात्र नभएर विश्वकल्याणका लागि पनि उत्तिकै आवश्यक छ ।
जगत् प्रेममा नै अडेको छ; राम, कृष्ण बुद्ध, जिजस मानवकल्याण चाहने प्रेमी नै हुन् । घृणाले घृणाको आगो नै बाल्दछ, त्यसलाई निभाउन प्रेमजलको आवश्यकता पर्दछ भन्दै प्रद्युम्नले नाटकको अन्त्यमा भनेको छ– “हामीलाई बाहिरबाट अरूको घृणाले समेत मार्न आए आऊन् तर हामी घृणा पचाएर प्रेम ओकली मरौँ ! अरूको घृणालाई हाम्रो प्रेमले ठुँगेर मारोस् !
हाम्रो जीर्ण पिँजडा भत्केर खस्ता घृणा–चरा पनि खसेर मरोस्” (पृ. २८८) । नाटकको विचार वा उद्देश्य सविता र नकुलका माध्यमबाट प्रस्तुत भएको छ । नाटकको शीर्षकले पनि उनीहरूका प्रेमलाई नै इङ्गित गरेको छ । प्रेमविषयक नाटकको प्रेमीपात्र नकुल नै यस नाटकको नायक ठहर्छ । ऐडविलको व्यवहार, चिन्तन र अनुभूति प्रेमको आदर्शअनुकूल देखापर्दैन ।
प्रेमपिण्ड नेपाली नाट्यसाहित्यमा महत्त्वपूर्ण प्राप्ति हो । यसलाई महाकाव्यात्मक स्तरको महानाटकका रूपमा लिन सकिन्छ । गद्यशैलीको भाषामा पनि काव्यात्मकता भर्न सकिन्छ भन्ने यो एउटा दृष्टान्त पनि हो । नाटकीय विडम्बना यसको एउटा सशक्त पक्ष हो । यसमा पछि हुने कुरालाई पहिल्यै विभिन्न ढङ्गमा सङ्केत गरिएको पाइन्छ । मानवजातिका लागि प्रेम आवश्यक छ तर त्यो वासनारहित, कामनारहित, स्वार्थरहित हुनुपर्छ, त्यसो नहुँदा मान्छे दुःखको भुमरीमा परेका छन् भन्ने कुरा नै यस नाटकको सारवस्तु हो । यस नाटकले राग, द्वेष, ईष्र्या, वैरभावरहित प्रेममय समाजको चाहना गरेको छ, त्यसप्रकारको प्रेमको आह्वान गरेको छ । पाश्चात्य नाट्यशैलीमा आधारित यो एउटा सफल दुःखान्त नाटक हो ।