लक्ष्मण दर्नाल
काठमाडौँ, फागुन १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ (आजदेखि) गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षण थाल्नुहुने भएको छ । प्रधानमन्त्रीले यसअघि नै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरूको निरीक्षण गर्ने बताउनुभएको थियो ।
कैलालीको धनगढीस्थित गेटामा निर्माण भएको गेटा मेडिकल कलेज सञ्चालनका सम्बन्धमा सरोकारवालासँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा आफूले धनगढीबाट निरीक्षण सुरु गर्ने जानकारी प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दिनुभयो ।
यसैबीच कलेजको मोडालिटीबारे सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, सचिव, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरूसँग छलफल भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउन प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा मेरा लागि गौरवको विषय हो ।”
गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणलगायतको काम प्रधानमन्त्री प्रचण्डको पहिलो र दोस्रो कार्यकालमा भएको थियो । कलेज निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिनुभयो ।
कलेज निर्माणका लागि हालसम्म पाँच अर्ब ४० करोड रुपियाँ लगानी भइसकेको छ । आठ अर्ब १४ करोड रुपियाँ अनुमानित लागत हो । निर्देशक पुजाराका अनुसार १३ वटा प्याकेजमा निर्मामा सुरु गरिएकोमा हालसम्म सातवटा प्याकेज सकिएका छन् । छवटा प्याकेजको काम २०८० चैतसम्ममा सकिने निर्माण सम्झौता छ । उहाँले भन्नुभयो, “२०८० को चैतसम्म निर्माण सकिन्छ, अहिले काम भइरहेको छ ।”
तत्कालीन सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको थियो । २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन पनि भएको थियो । २०७१ मा शिलान्यास भएको थियो । २०७४ सालबाट पूर्वाधार निर्माणको काम सुरु भएको हो ।
छ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माणको काम भइरहेको छ । निर्माण कार्यसँगै आन्तरिक सडक कालोपत्रे, ढल व्यवस्थापन, पानी र विद्युत् जडानको काम पनि बाँकी छ ।