अविनाश चौधरी
धनगढी, पुस ४ गते । प्रहरीले सालको गोलियासहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –४ वेलकुण्डीका दुःखीराम रानालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, सबडिभिजन वन कार्यालय वाणी र हरियाली सामुदायिक वनको संयुक्त टोलीले रानालाई सालको दुई गोलिया (२१.१५ क्युफिट) काठसति पक्राउ गरेको हो ।
रानाले घरभित्र लुकाइछिपाइ राखेको अवस्थाबाट काठ बरामद भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका रानालाई आवश्यक कारबाहीका लागि हरियाली सामुदायिक वनमा बुझाइएको छ ।
यसैगरी, ज्यान मार्ने उद्योग मुद्दाका फरारप्रति कैलालीको घोडाघोडी नगरपालिका –१० का २२ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा कैलाली जिल्ला अदालतले गत असार २८ गते चौधरीलाई एक वर्ष १० महिना नौ दिन कैद सजाय सुनाएको थियो ।