• १२ पुस २०८२, शनिबार

गृह अन्तर्गतको दरबन्दी स्वीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते । सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्दै ताप्लेजुङको शिरिजङ्गा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हिदाङ्नागढीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको हो । 

त्यसै गरी बैठकले सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । यस्तै नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने र नेपाल सरकार तथा मित्रराष्ट्र जापान सरकारबिच जापान इन्टरनेसनल टे«निङ कोअपरेसन सङ्गठन अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०६६ खारेज गर्ने निर्णय पनि गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा (भ्यालिड रेसिडेन्सी कार्ड) प्राप्त गरेका नेपाली नागरिकहरूले नेपाल आएका बखत उक्त आधिकारिक भिसाको सक्कल र तस्बिरसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृति दिन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिइएको छ ।