• ११ पुस २०८२, शुक्रबार

चिसोका कारण अस्पतालमा बिरामीको चाप

blog

बर्दिवास असपतालमा उपचारका लागि आएका चिसोका बिरामी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, पुस ११ गते ।
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।

जाडोबाट सबैभन्दा बढी वृद्धवृद्धा र नाबालक प्रभावित छन् । बर्दिवास अस्पतालमा अहिले चिसोबाट पीडित दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

जाडो बढेदेखि रुघाखोकी र निमोनियाका दैनिक ४० बढी बिरामी आउने गरेको अस्पतालका डा. रितेस घिमिरेले बताउनुभयो । त्यसपछि दम, श्वासप्रश्वास र हाडजोर्नीका ३० भन्दा बढी बिरामी आउने गरेका छन् । मुटुको समस्या लिएर आउनेको सङ्ख्या पनि बढ्दै गएको उहाँले बताउनुभयो ।

डा घिमिरेका अनुसार शीतलहरको मौसम मुटुरोगीका लागि प्रतिकूल हुने हुँदा अहिले दैनिक पाँच–सात जना मुटुका बिरामी असपताल आउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै जलेश्वरस्थित प्रादेशिक अस्पतालमा पनि चिसोबाट हुने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका डा. विकास शाहका अनुसार अहिले ज्येष्ठ नागरिकमा रक्तचाप, कठ्याङ्ग्रिने र श्वासप्रश्वासको समस्या बढेको छ । बालबालिकामा रुघाखोकी, निमोनियालगायत भाइरल सङ्क्रमणको समस्या देखिएको छ ।

डा. शाहले भन्नुभयो, ‘‘जाडो बढेसँगै जलेश्वरस्थित प्रादेशिक अस्पतालको बहिरंग सेवा (ओपिडी) मा ८० देखि ९० जना र आकस्मिक कक्षमा २० देखि २५ जना गरी दैनिक सयभन्दा बढी बिरामी आउने गरेका छन् ।’’

यसबेला निःशुल्क औषधीको अभावले बिरामीलाई थप समस्या पारेको छ । प्रादेशिक अस्पतालमा निःशुल्कमध्येका करिब ५० प्रतिशत मात्र औषधी उपलब्ध रहेको डा. शाहले जनाउनुभयो । बर्दिवास अस्पतालमा भने भर्खरै औषधी आएकाले जाडोका बिरामीलाई खासै समस्या नभएको डा. घिमिरेले बताउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. राजीव झाका अनुसार शीतलहरको समयमा शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ । यस समयमा श्वासप्रश्वासको सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने, भाइरल सङ्क्रमणको जोखिम जस्ता समस्या देखिन सक्छन् । हाइपोथरमियाबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न र झोलिलो तथा पोसिलो खानपानमा ध्यान दिनुपर्ने डा. झाको सुझाव छ ।