काठमाडौं, पुस ४ गते । पछिल्लो समय बैंकहरुमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठुलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरुबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ ।
बैंकहरुले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरुको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरुको एनपीए पछिल्लो समय अधिकांश बैंकहरुको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरुमा एनपीए वृद्धि हुँदै जानु बैंकहरुको लागि ठुलो चुनौति हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने, ऋण असुलीमा समस्या हुनसक्छ ।
अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरुले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्यून हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैंकहरुको निक्षेप बढ्दा कर्जाको माग न्युन छ । बैंकहरुमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
बैंकहरुको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको बैंकर्सहरुको भनाइ छ । अर्थतन्त्रमा छाएको सङ्कुचनको असर बैंकहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ ।
आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैंकहरूको औसत खराब कर्जा १.६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।
सात खर्बभन्दा बढी लगानी योग्य रकम तर बजारमा छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्याङ्कअनुसार कर्जाको औसत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ । ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ ।
ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन । चालु आर्थिक वर्षको पाँच महिनामा दुई खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरुमा सात खर्बभन्दा बढीको लगानी योग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरुलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ ।
बैंकहरुमा थुप्रिएर बसेको सात खर्ब व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने बैंकर्सहरुले बताएका छन् । उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरुमा थुप्रिएको सात खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरुलाई अप्ठ्यारो पर्ने बताएका छन् ।
सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनका लागि बेवास्था गरेको उनीहरुको भनाइ छ । पछिल्लो बैंकहरु चुनौतिपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरुले बताए । बैंकहरुमा देखिएको चुनौति समाधानका लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे ।
बैंकर्सहरुले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाएका छन् । बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरु समस्यामा परेको बैंकर्सहरुको भनाइ थियो ।
नेपाल बैंकर्स संघका निर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको भनाइ छ । उहाँले बैंकहरुमा तरलतामा देखिएको असमानताले पनि बैंकहरुमा समस्या पारेको दाबी गर्नुभयो । उहाँले अहिले बैंकहरुमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाली बैंकिङ क्षेत्रको चार दशकको यात्रामा सम्भवतः बैंकिङ क्षेत्र आजको दिनमा चुनौतिपूर्ण अवस्थामा उभिएको छ । विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिका कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन, आर्थिक वृद्धि न्यून हुने र कर्जाको माग घट्दै जाँदा चुनौतिपूर्ण समय छौं । बैंकहरुमा मुख्य रुपमा तीन समस्या देखेका छौं ।’’
सीईओ केसीले उहाँले बैंकहरुमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरुमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताउनुभयो । उहाँले अस्थिर राजनीति, अर्थतन्त्रमा आएको सिथिलता, बाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठुलो चुनौति देखापरेको बताउनुभयो । उहाँले यस्ता समस्याका कारणले बैंकहरुको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘समय–समयमा देखिने तरलताको अवस्था छ । जुन धेरै हुने र कहिले थोरै हुने अवस्था हुँदा बैंकहरुलाई चुनौति रहेको बुझेका छौं । बैंकहरुले अहिले सात सय अर्बको तरलता लिएर बसेका छौं । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौं ।’’
उहाँले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरुको ४ प्रतिशतमाथि खराब कर्जा पुगेको बताउनुभयो । उहाँले दक्षिण एशियाका मुलुकहरु हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले बेला–बेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत बाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरु अप्ठ्यारो अवस्थामा पुगेको औंल्याउनुभयो ।
यसैगरी, संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले पनि नेपालका बैंकहरु चुनौतिपूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरु रहेको जानकारी दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताउनुभयो । उहाँले तथ्याङकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भए पनि आधारभूत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँ नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरु छन् । जसमा बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरु रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एशियामा बलियो बनेको छ ।’’
उहाँले राष्ट्र बैंकको भूमिकाले नेपाली बैंकहरुलाई दक्षिण एशियामै मजबुत बैंकिङ बनाउन सफल भएको बताउनुभयो । नेपाली बैंकहरुले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दैै आएको दाबी गर्नुभयो । उहाँले बैंकहरुको प्रतिफलमा राम्रो नदेखिए पनि भित्रिरुपमा सबल रहेको जिकिर गर्नुभयो । अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिवद्धता जनाउनुभयो ।
पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाउनुभयो । उहाँले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत, अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्न भन्ने गरेको बताउनुभयो । उहाँले बैंकहरुले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैंकर्सहरुले बैंकलाई सबल र सक्षम बनाउनका लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरुले बैंकहरु पछिल्लो समय देखिएका समस्या समाधानका लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातारण बनाउनुपर्नेमा जोड दिए ।