काठमाडौँ, पुस ३ गते । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई दुई सय २६ रनले हरायो ।
जितसँगै नेपालले तीन खेलको सिरिज २–० ले अग्रता लिएको छ । नेपाल पहिलो खेलमा तीन विकेटले विजयी भएको थियो । जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सवै विकेटको क्षतिमा ७१ रनमा समेटिएको हो ।
हङकङका कप्तान शिव माथुरले १६ तथा अरेज दार र प्रित मोन्गुकियाले१४/१४ रन बनाउनुभयो । हङकङलाई सस्तैमा समेट्न नेपालका दयानन्द मण्डलले चार विकेट लिनुभयो । सिब्रिन श्रेष्ठ र अपराजित पराजुलिले दुई दुई तथा सन्तोष यादव र नरेन भट्टले एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ८१ रन बनाउनुभयो । यस्तै सन्तोष यादवले अविजित ६६, दिलसद अलीले ४१, कप्तान अभिषेक तिवारीले २६, सिब्रिन श्रेष्ठले १४ र अपराजित पराजुलीले ११ रन बनाउनुभयो ।
बलिङमा हङकङका ड्यानिलय एम्पले तीन, अब्दुल समादले दुई तथा थोमस एलेक्सजेन्डर फुजेस, प्रित मोन्गुकिया र ह्यारी हजसनले एक एक विकेट लिनुभयो । सिरिजको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।