• ४ पुस २०८१, बिहिबार

लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन

blog

दमौलीस्थित आन्तरिक राजस्व कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ४ गते । आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत डा.लालबहादुर क्षेत्रीले विभागले ४ अर्ब ५०  करोड ५३ लाख ७५ हजार लक्ष्य दिएकोमा पाँच अर्ब छ करोड ६९ लाख ४२ हजार राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो । 

सङ्कलित राजस्व ११२ प्रतिशत हो । गत वर्षभन्दा यस वर्ष राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । सूचना अधिकारी तथा कर अधिकृत ठाकुरप्रसाद सुवेदीले गत आर्थिक वर्षको भन्दा ६८ करोड ६४ लाख ७४ हजार अर्थात १५।६७ प्रतिशत बढी राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०८०-०८१ मा मङ्सिर सम्ममा पाँच अर्ब ६८ करोड ५२ लाख लक्ष्य राखिएकोमा चार अर्ब ३८ करोड चार लाख ८० हजार सङ्कलन भएको थियो । सुवेदीले भन्नुभयो, "यसवर्ष अर्थतन्त्रमा सुधार भई आर्थिक चहलपहलमा वृद्धि हुँदा गत वर्षभन्दा १५ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको छ ।’ सुवेदीका अनुसार विभागले चालु आवका लागि यस कार्यालयलाई १४ अर्ब तीन करोड ३४ लाख ४७ हजारको लक्ष्य दिएको छ । जिल्लामा हाल ८२ हजार चार सय ७३ करदाता छन् । तीमध्ये २४ हजार सात सय १३ व्यवसायी, ५२ हजार सात सय १३ व्यक्तिगत र दुई हजार पाँच सय ९४ अन्तःशुल्क छन् । त्यस्तै भ्याटमा दर्ता भएका दुई हजार तीन सय १४ छन् ।"

  राजस्व वृद्धिमा टेवा पुर्‍याउन उत्कृष्ट करदाता र तथा कर्मचारीलाई पुरस्कृत गर्ने र करदाता शिक्षालाई व्यापकता दिइएको कार्यालयले जनाएको छ । धेरै कर तिर्ने तनहुँको गणपति लघुवित्त, लमजुङको पराजुली कन्ट्रक्सन, गोरखाको मिष्ट बि प्रालि, मनाङको ग्यालसुङ्दो कन्ट्रक्सन प्रालि र उत्कृष्ट कर्मचारीमा आन्तरिक राजस्व कार्यालय तनहुँका नायब सुब्बा कमल तामाङलाई एक महिना अघि सम्मान गरिएको प्रमुख कर अधिकृत क्षेत्रीले जानकारी दिनुभयो । कर सप्ताहको अवसरमा सम्मान गरिएको थियो । यस कार्यालयको सेवा क्षेत्र तनहुँका अतिरिक्त गोरखा, लमजुङ र मनाङ छ ।