• ४ पुस २०८१, बिहिबार

अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा ५२ जनाको मृत्यु

blog

अफगानिस्तान, पुस ४ गते । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।

राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बिचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समा बताउनुभयो ।

“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भन्नुभयो ।

मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्याङ्करसँग ठक्कर खाँदा  दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताउनुभयो ।

उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्‍याएको र केहीको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीव्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।

गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्याङ्कर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।

सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए । रासस/एएफपी