• ४ पुस २०८१, बिहिबार

सरकारी निकायहरुबिच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल

blog

सरकारका मुख्यसचिव एकनारायण अर्याल बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौं, पुस ४ गते । सरकारका मुख्यसचिव एकनारायण अर्यालले सङ्घीयता आइसकेपछि सरकारी निकायहरुबिच समन्वयको अभाव देखिएको बताउनुभएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गर्नुभयो । उहाँले पालिकाहरुले बनाएका कानुनहरुमा पनि विवादित विषयहरु रहेको बताउनुभयो । उहाँले सङ्घीय काननभन्दा विपरित कानुन बनाउन नपाइने भए पनि त्योअनुसारको कानुन नबनेको बताउनुभयो ।

मुख्यसचिव अर्यालले सरकारले युवाहरुलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको जानकारी दिनुभयो । उहाँले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताउनुभयो । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आयोगले दिएको सुझावहरुलाई समेटेर कार्यक्रम बनाउने बताउनुभयो ।

‘‘सङ्घीय कानुनभन्दा विपरित कानुन बनाउन पाइँदैन भन्ने छ । तर त्यो खालको अवस्था सिर्जना भएको छैन । त्यसैले उहाँहरुले निर्माण गरेका कानुनहरु कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ । हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ । युवाहरुलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेका छौँ ।,’’ मुख्यसचिव अर्यालले भन्नुभयो, ‘‘आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेका छौँ । के–के छन् ल्याकिङहरु ? तीन तहको सरकारबिचको समस्या धेरै आइरहेका छन् । साझा र एकल अधिकारले क्रिएट गरेका अधिकारलाई क्लियरीफिकेशन गर्नका लागि त्यो आयोगले हामीलाई सुझाव दिन्छ र नेपाल सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यही बमोजिम अघि बढ्छ ।’’

मुख्यसचिव अर्यालले सरकारले सबै सेवाहरु प्रविधिमैत्री बनाउने भनेर काम अघि बढाइरहेको बताउनुभयो ।