क्वालालम्पुर, पुस ४ गते । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएको छ ।
७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बिचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएको थियो ।
उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ ।
महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर उहाँले उक्त सजायविरुद्ध अपिल गरी जमानतमा छुट्नुभएको थियो ।
उहाँविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेसियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएको थियो ।
रोस्माहको महँगा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । सन् २०१८ को चुनावमा पतिको पराजयपछि उहाँको घरमा प्रहरीले छापा मारेपछि उहाँका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो ।
उहाँलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिएको थियो र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाइएको थियो ।
नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहनुभएको छ । उहाँले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपिल दायर गर्नुभएको छ र जनवरी ६ का लागि सुनुवाइ तय गरिएको छ ।
बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उहाँविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरु गरेको छ । रासस/एएफपी