भावना जोशी
अत्तरिया, पुस ३ गते । कैलालीमा भएको सवारी दुर्घटनामा एक जना युवकको ज्यान गएको छ । कैलालीको चुरे गाउँपालिका –१ का ३० वर्षीय बालकृष्ण कंडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोहनापुल–अत्तरिया ६ लेन सडकको त्रिभुवन चोकनजिक बुधबार कंडेलले चलाएको मोटरसाइकल विङ्गरमा ठोकिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रबक्ता दर्शन खडकाले त्रिभुवन चोकमा बा ०६–००४ प १६७७ नम्बरको मोटरसाइकल भे १ ज १३२६ नम्बरको विङ्गरसँग ठोक्किएर दुर्घटना भएको बताउनुभयो ।
उहाँले गोदावरी नगरपालिका –३ का २८ वर्षीय धर्मराज भटराईको से ६ प ८७७७ नम्बरको स्कुटरसँग ठोकिएको मोटरसाइकल अनियन्त्रित भएर विङ्गरमा ठोकिएको समेत उल्लेख गर्नुभयो । मोटरसाइकलमा सवार कडेलको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।