• ३ पुस २०८१, बुधबार

एनपिएल

जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

blog

सुदूरपश्चिमका खेलाडी ।

काठमाडौँ, पुस ३ गते । विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । 

जितका लागि एक सय ४० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अविजित अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५५ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ५८ रन बनाउनुभएको हो । विनोद प्लेयर अफ दि म्याच हुनुभयो । 

यस्तै सईफ जैवले ३२ रन बनाउनुयो । ब्रान्डन म्याकमुलेनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाउनुभयो । 

बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिनुभयो । फाइनलमा सुदुरपश्चिमले शनिबार कर्णाली याक्स र जनकपुर बोल्ट्सको विजेतासँग खेल्नेछ ।

यसअघि बुधबारनै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो । 

यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२/१२ र कप्तान आशिफ शेख र अरनिको यादवले ११/११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिनुभयो । 

जारी प्रतियोगितामा लयमा देखिएको सुदूरपश्चिमले लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको थियो । यस्तै लिग चरणको सुरुवाती खेलमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसात् गरेको थियो ।