• ४ पुस २०८१, बिहिबार

क्रिकेटले जन्माएको अवसर

blog

एक वर्षअघि भारतका विदेशमन्त्री एस जयशङ्कर नेपाल आउँदा नेपालका क्रिकेट खेलाडी र क्यानका प्रतिनिधिहरूलाई भेट्दै भारतले नेपालको क्रिकेटमा सघाउने वचन दिनुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै वर्षअघि सन्दिप लामिछानेको नाम लिँदै नेपाल आइपिएलमा प्रवेश गरेको र यसले दुई देशबिचको सम्बन्ध बलियो पार्ने विश्वास व्यक्त गर्नुभएको थियो । यो प्रतिनिधि उदाहरण भारतको क्रिकेट कूटनीति हो । पछिल्लो समय क्रिकेटले ल्याएको उछाल र सफलताले क्रिकेटमा लगानी गर्न मार्गप्रशस्त गरेको छ । 

नेपाल प्रिमियर लिग हेर्नकै लागि क्रिकेटको महान् हस्ती वेष्ट इन्डिजका दिग्गज खेलाडी ब्रायन लारा नेपाल आउनुभयो । ब्रायन लारा नेपाल आउनु राष्ट्रका लागि गर्वको कुरा हो । उहाँले आफू पछि फेरी नेपाल आउने भन्दै वेष्ट इन्डिजको खेलाडीको नेपाल टुर गराउन आफूले प्रयास गर्ने भन्नुभएको छ । फेस्टिबल अफ हिमालय अर्थात् हिमालको चाडपर्व नाम दिइएको नेपाल प्रिमियर लिगमा देखिएको समर्थकको साथले अन्तर्राष्ट्रियस्तरमा नेपालको क्रिकेटको चर्चा परिचर्चा सुरु भइसकेको छ । क्रिकेट नेपालमा सर्वाधिक रुचाइएको खेल हो भन्दा फरक नहोला । नेपाल प्रिमियर लिगको उद्घाटन भएको दिनदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा देखिएको थामिनसक्नु दर्शकले क्रिकेटको लोकप्रियता जीवन्त राख्न सघाउ गरिरहेको छ । 

एनपिएल भएकै समय पुरुष एसिसी यु–१९ क्रिकेटमा अफगानिस्तानलाई र हालै एसिसी यु–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएर सेमीफाइनलमा पुगेको खबरले सनसनी मच्चाएको छ भने नेपाल सुपर चारमा समेत प्रवेश गरेको छ । यसरी नेपालले खेलको माध्यमबाट देश चिनाउन र देशको सौम्य शक्ति बढाउन सोच्नुपर्ने बेला भएको छ । एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस जस्तो भारतीय च्यानलबाट भएको हुँदा यसले देशविदेशमा नेपालको नाम गुन्जिने हुन्छ । क्रिकेटलाई अर्थतन्त्र साथसाथै कूटनीति र देशको सौम्य शक्तिको रूपमा कसरी सम्भावना र अवसरको रूपमा हेर्न सकिन्छ भन्नेमा यस आलेखमा चर्चा गरिन्छ । 

बेलायतबाट सुरुवात भएको मानिने क्रिकेट फुटबलपछि विश्वमा सर्वाधिक हेरिने खेल हो । बेलायतको उपनिवेशको प्रभावले अमेरिका, अस्ट्रेलियालगायत दक्षिण एसियासम्म क्रिकेटको माहोल बन्दै गयो । सन् १९०९ मा इम्पेरियल क्रिकेट कन्फरेन्सको (आइसिसी) स्थापना भएको थियो । यसको संस्थापक राष्ट्र बेलायत, अस्ट्रेलिया र दक्षिण अफ्रिकालाई बनाइएको थियो । सन् १९२६ मा न्युजिल्यान्ड, भारत र वेष्ट इन्डिजलाई सहभागी गराइयो, १९५२ मा पाकिस्तान, सन् १९८१ मा श्रीलङ्का जोडिए भने सन् १९९१ सम्म १२ स्थायी राष्ट्र जोडिएका छन् ।

एनपिएलले अहिले मन्दीको अवस्थामा रहेको अर्थतन्त्रमा सघाउ पु¥याउने अपेक्षा गरिएको छ । एउटा फ्रेनचाइस टिमले नै खेलाडीमा करोडौँ लगानी गरेको पाइन्छ भने एनपिएलमा समग्र आर्थिक कारोबार एक अर्बको हुने आँकलन गरिएको छ । देशमा लगानीको विविध क्षेत्र भएको भए तापनि नाफा निकाल्न सकिने आधार लगानीकर्तामा क्रिकेटले देखाएको छ । अन्तर्राष्ट्रिय लगानी आउने वातावरण बनाउन क्यानले भूमिका खेल्दै नेपाल लगानीका लागि आकर्षक गन्तव्य भनेर चिनाउन सकिन्छ । अन्तर्राष्ट्रिय खेलाडीको आगमनले पर्यटन प्रवर्धनमा समेत सघाउ पुग्ने हुन्छ । 

अहिले विश्वभर सयभन्दा बढी राष्ट्रले क्रिकेट खेल्छन । नेपाल आइसिसी टी–ट्वान्टी विश्व बरियतामा १७ औँ स्थानमा छ । नेपालले सन् २०१४ पछि हाल २०२४ मा अमेरिकामा भएको आईसिसी टी–ट्वान्टी विश्वकपमा सहभागी भएको थियो । त्यहाँ नेपाली डायस्पोराको साथ र समर्थनले नेपालको शक्ति देखिएको थियो । दक्षिण अफ्रिकासँग एक रनले हारेको नेपालका खेलाडीहरूको खेल र समर्थकको क्रिकेट क्रेज देखेर संसारका दिग्गज खेलाडी र प्रशंसकहरूले नेपालको तारिफ गरेका थिए । 

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला घोषणा कार्यक्रममा २०७५ सालतिर भरतपुर महानगरपालिकाको मेयरले सो रङ्गशालामा पहिलो खेल भारत र पाकिस्तानको हेर्न चाहेको भन्नुभएको थियो । एनपिएलमा देखिएको समर्थनले अब नेपाल पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्न सक्छ भन्ने सन्देश गएको छ तर क्रिकेटमा भएको लगानी र पूर्वाधारको विकास भने अझै पनि खड्किरहेको छ । नेपालले सन् २०२७ मा आइसिसी यु–१९ महिला विश्वकपको सहआयोजना गर्नेवाला छ । सन् १९९६ मा नेपाल आइसिसीको सदस्य भएयता निकै आरोहअवरोह पार गर्दै क्रिकेटको विकास भएको छ । आइसिसीका पूर्वअध्यक्ष ग्रेग बार्क मार्चमा नेपाल आएको बेला नेपालको रङ्गशाला हेरेर कीर्तिपुर र मूलपानी रङ्गशालाको अवलोकन गर्नुभएको थियो । नेपाललाई सक्दो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने अवसर प्रदान गर्न भूमिका खेल्ने उहाँले भन्नुभएको थियो । 

अहिले भारतको जय साह आईसिसीको अध्यक्ष हुनु भएको छ । अब भारतको क्रिकेट बोर्डको समेत अध्यक्ष भइसक्नुभएका आइसिसीको अध्यक्षसँग राम्रो सम्बन्ध राख्न पहल गर्नु पर्छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय र क्यानले यसमा कूटनीतिक पहल गरेर नेपाली क्रिकेटको विकास क्रममा ध्यान दिनु पर्छ । आइसिसीले सन् २०२७ मा थप दुई टेस्ट राष्ट्रको मान्यता प्रदान गर्ने भनिएको छ । नेपालले टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्न धेरै मेहनत र चुनौती पार त गर्नु पर्छ साथसाथै पूर्वाधारको विकाससमेत छिटो गर्नुपर्ने हुन्छ । 

यसरी क्रिकेटलाई खेलकै रूपमा हेरियो भने सानो देखिन्छ तर नेपाल जस्तो मुलुकले एनपिएलमा पाएको सफलताले हाम्रो क्षमतासमेत देखिएको छ । खेलको माध्यमबाट अर्थतन्त्रमा योगदान, पर्यटन प्रवर्धन तथा विकास र राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठासमेत बढ्ने हुन्छ । खेलको माध्यमबाट अन्य राष्ट्रसँग सुमधुर सम्बन्ध कायम राखिराख्न र सहयोग प्राप्त गर्न सकिन्छ । क्रिकेटलगायत खेल पूर्वाधार विकास गर्न अन्य राष्ट्रलाई आग्रह गर्न सकिन्छ । 

  

Author

रितेश पन्थी