गोरखापत्र समाचारदाता
काठमाडौं, असार ३० गते । नेपालको भावी काुननी अध्ययनको भविष्यका बारेमा न्यायिक, कानुनी क्षेत्रका विज्ञहरू, शिक्षाविद् र विद्यार्थीबिच छलफल भएको छ ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेले व्यावहारिक जीवनमा कानुनी ज्ञानको अत्यधिक महत्व रहेको बताउँदै वकालत र न्यायिक सेवामा औपचारिक अध्ययन मात्र नभई व्यावहारिक अभ्यास र जीवनका यथार्थ परिस्थितिलाई पनि ध्यान दिनु आवश्यक हुने तर्क गर्र्नुभयो ।
उहाँले जिम्मेवार नागरिक र जिम्मेवार कानुन व्यवसायी बन्नु नै समाजमा न्याय कायम गर्नका अनिवार्य सर्त रहेको उल्लेख गर्नुभयो ।
माउन्ट भ्यु इन्टिच्युट अफ ल एन्ड टेक्नोलोजी (टेक ल कलेज) ले आयोजना गरेको छलफलमा राजर्षिजनक विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डिन प्रा. डा. नरेन्द्र कटवालले नेपालको कानुनी क्षेत्रलाई प्रविधिमैत्री, प्रभावकारी र समावेशी बनाउनु आवश्यक रहेको बताउनु भयो ।
अर्का वक्ता डा. तारानाथ घिमिरेले मानविकी र कानुनबिच गहिरो सम्बन्ध रहेको चर्चा गर्दै मानविकीले मानव जीवन, समाज र संस्कृतिको गहिरो बुझाइ दिने र कानुनी अध्ययनले तिनलाई व्यावहारिक रुपमा लागू गर्न मद्दत गर्ने जनाउनु भयो । यिनको संयोजनले हाम्रो समाजलाई न्याययुक्त, मानव केन्द्रित र समावेशी बनाउन सघाउ पु¥याने उहाँको धारणा छ ।
सहायक डिन समीप घिमिरेले नेपालको कानुन व्यवसायी परिषद्ले निर्धारण गरेको खाकालाई आधार मान्दै राजर्षिजनक विश्वविद्यालयले अभ्यासमुखी शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
माउन्ट भ्यु कलेजका प्रिन्सिपल गोपीकृष्ण न्यौपानेले उच्च गुणस्तरको शिक्षाप्रदायक वातावरण र आवश्यक सुविधा भएमा विद्यार्थीलाई अध्ययनमा सहजता र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्ने चर्चा गर्नुभयो ।