• ४ पुस २०८१, बिहिबार

सुस्तायो राँगाभैँसी व्यापार

blog

रवीन्द्र उप्रेती

बर्दीबास, पुस ४ गते । कुनै बेला फस्टाउँदै गएको राँगाभैँसीको व्यापार अहिले सुस्त बन्दै गएको छ । राँगाभैँसी कारोबारको प्रमुख केन्द्रका रूपमा रहेको महोत्तरी जिल्लाकै एक मात्र चौपाया बजार गौशालामा अहिले व्यापार सुस्त छ । काठमाडौँदेखि भारतीय सीमासम्मका चौपाया व्यापारीको चाप रहने गौशालामा बेच्न ल्याइएका राँगाभैँसीको सङ्ख्या बढ्दै गए पनि कारोबार भने ओरालो लाग्दै गएको छ । चौपाया व्यापारीका अनुसार कारोबार सुस्त हुँदा किसानदेखि व्यवसायीसम्म मर्कामा छन् । 

शिवम् राँगाभैँसी खरिद बिक्री केन्द्रका प्रोप्राइटर तथा गौशाला बजारका पुराना व्यापारी सन्तोष झाका अनुसार चौपाया व्यापारको शीर्ष स्थानमा रहेको राँगाभैँसीको कारोबार सुरुमा बाढीपहिरोको चपेटामा परेको हो । बाढीपहिरोले बिपी राजमार्ग अवरुद्ध भएपछि केही समय यसको व्यापार शून्यमा झ¥यो ।  बाटो सुचारु भएपछि यसले पुनः पनि गति लिने सङ्केत देखिएको तर त्यसविपरीत चौपाया बजारमा फेरि मन्दी छाएको छ । कारोबार प्रायः ठप्प छ । 

बजारमा देखा परेको मन्दीका अनेक कारण हुन सक्छन् । स्थानीय चौपाया व्यापारीले भने यसको दोष ‘कुखुराको मासु’ लाई दिएका छन् । चौपाया व्यापारीका अनुसार यसबिच काठमाडौँमा कुखुराको मासुमा अप्रत्याशित गिरावट आएपछि यसको असर राँगाभैँसी व्यापारमा देखा परको हो । 

स्थानीय चौपाया व्यापारी झाको भनाइमा काठमाडौँ राँगाभैँसी खपत हुने सबैभन्दा ठुलो बजार हो । त्यहाँ अहिले राँगाको मासु प्रतिकिलो ४५० रुपियाँ छ । त्यहीँ कुखुराको मासु साढे तीन सयबाट झरेर किलोको २५० रुपियाँ पुगेको छ । 

उहाँले भन्नुभयो, “किलोमा दुई सय रुपियाँ सस्तिएपछि अहिले कुखुराको मासुले बजार पिटेको छ । राँगाको मासुको माग घटेको छ । यसको सिधा असर चौपाया व्यापारमा परेको हो ।” मन्दी छाउनुअघि साताको एक करोड मूल्य बराबरको ५० गाडी (२५० देखि तीन सय थान) राँगाभैँसीको कारोबार हुँदै आएको गौशाला बजारमा अहिले साताको २० लाख रुपियाँ बराबरको १० गाडा (५० देखि ६० थान) मा खुम्चेको व्यापारीको दुःखेसो छ । सुस्ताएको व्यापारबाट चौपाया कृषकसमेत प्रभावित बनेका छन् । यसअघि २० हजारमा बिक्ने ५० केजी तौलको राँगा सस्तिएर १५ देखि १६ हजारमा झरेको छ । त्यो पनि बिक्री नभएको गौशालाको सोमबारे हाटमा भेटिनुभएकी रघुनाथपुरकी जरिना देवीले दुःखेसो गर्नुभयो । उहाँले आफ्नो एक जोर राँगा देखाउँदै भन्नुभयो, “मेरा ६० हजार रुपियाँका दुवै राँगा बेच्न बजार धाउँदै छु । व्यापारीहरू मोलमोलाई गर्न पनि आउँदैनन् । पचास/पचपन्न हजार माग्दा पनि बिक्दैन ।” 

गौशाला बजारका ठेकेदार जैसी ठाकुरका अनुसार राँगाभैँसीको व्यापार सुस्त बनेपछि यसको असर बजार ठेक्कामा समेत परेको छ । आव २०८०/८१ का लागि ठाकुरले डाक बढाबढमा एक करोड ८१ लाखमा बजार ठेक्का लिनुभएको छ । गौशालामा सोमबार र बिहीबार गरी साताको दुई दिन हाट लाग्छ । यस हिसाबले प्रतिबजार दुई लाख रुपियाँ कर सङ्कलन हुनुपर्ने हो ।  चौपाया बजार कर सङ्कलनको प्रमुख स्रोत पनि हो । मन्दीले गर्दा कर सङ्कलन घटेर प्रतिहाट पुग नपुग डेढ लाखमा झरेको उहाँले हिसाब देखाउनुभयो । उहाँका अनुसार कारोबार खस्कँदै गएपछि स्थानीय किनबेचबाहेक चौपाया बजारमा बाहिरका व्यापारी पातलिँदै गएका छन् । साताको अढाई/तीन सय वटा राँगाभैँसीको कारोबार हुने गौशाला बजारमा गत सोमबार जम्माजम्मी १० वटा मात्र खरिदबिक्री भएको उहाँले रेकर्ड देखाउनुभयो ।  ठाकुरले भन्नुभयो, “कारोबार राम्रो हुँदा चौपाया बजारबाट साताको तीन लाखसम्म कर सङ्कलन हुन्थ्यो । अहिले त्यसको आधा पनि पुग्दैन । बजार चलायमान भएन भने हामीले ठेक्काको रकम कसरी पूर्ति कसरी गर्ने ?”