• ४ जेठ २०८१, शुक्रबार

आधुनिक फेसनमा हाकुपटासी

blog

भक्तपुर, माघ २६ गते । भक्तपुरको मुना सुवाललाई नेवारी परम्परागत पहिरन हाकुपटासीलाई आधुनिकीकरण गरी विभिन्न डिजाइनको लुगा लगाउन मनपर्छ। उहाँ साधारण हाकुपटासीभन्दा यसबाट बनेको वान पिस वा लेहेङ्गा लगाउन मन पराउनुहुन्छ। उहाँले हाकुपटासीलाई नयाँ डिजाइनका लुगा लगाउँदा आफू फेसेनेबल देखिनुका साथै आफ्नो मौलिक पहिरनको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो।  उहाँ धेरै जसो नेवारी चाडपर्वका बेला  हाकुपटासी लगाउने बताउनुहुन्छ तर हाकुपटासीको महत्वका बारे भने अनभिज्ञ हुनुहुन्छ। उहाँले यसको महत्वभन्दा पनि पहिरन र संस्कृतिको संरक्षणका लागि यो पहिरनलाई रोजेको बताउनुभयो। 

राजकेशरी भासीमाईलाई पनि सांस्कृतिक कार्यक्रममा जान होस् या भोजभतेरमा हाकुपटासी लगाउन मन पर्छ । उहाँ भन्नुहुन्छ, “नेवार समुदायको पहिचान भन्नु नै महिलाले लगाउने हाकुपटासी हो।” हाकुपटासी लगाउने बेला बेग्लै गर्व लाग्ने गरेको उहाँको भनाइ छ।  

हाकुपटासी मूलतः कृषिसँग सम्बन्धित महिला पहिरन भएको संस्कृतिविद् ओम धौभडेल बताउनुहुन्छ। खेती किसानी गर्दा निस्कने पसिना सोस्ने र जाडोयाममा न्यानो हुने भएकाले नेवारी महिलामाझ यो लोकप्रिय भएको हो। धौभडेलका अनुसार हाकुपटासी नेवारी महिलाको सुहागको चिह्न पनि हो। यसमा हुने कालो कपडासँगै रातो बोर्डरले ती महिलाको पति जिउँदै छन् भन्ने चिनिन्छ। त्यस्तै  हाकुपटासीमा कालो भाग मात्र छ, रातो छैन भने उसको लोग्ने बितिसकेको बुझिन्छ। लिच्छविकालदेखि नै हाकुपटासी लोकप्रिय भएको हुन सक्ने धौभडेलको आकलन छ।

पछिल्लो समय भने मेला, चाडपर्व तथा भोजका बेला नेवारी समुदायमा हाकुपटासी लगाउने चलन ह्वात्तै बढेपछि यसको माग पनि बढ्दै गएको छ। अहिले नेवारी समुदायका विभिन्न संस्थामा कार्यरत महिलाले हाकुपटासी लगाउनु अनिवार्य बनाइएको छ। संस्थाको भोज होस् वा कुनै सांस्कृतिक कार्यक्रम,  नेवारी महिला अनिवार्य रूपमा हाकुपटासी लगाएर जाने गरेका छन्। 

हाकुपटासी तीन थरीका छन् संस्कृतिविद् धौभडेलले भन्नुभयो, “ठाउँअनुसार यसको प्रकार फरक हुन्छ।  भक्तपुरेले लगाउने हाकुपटासी र अन्य नेवार समुदायले लगाउने हाकुपटासी फरक हुन्छ।” भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर ठिक्कको हुन्छ र सेतो कपडामा रातो बोर्डर भएको खास्टो लगाइन्छ। त्यस्तै भक्तपुरकै ठिमीका महिलाले लगाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर कुलीकुली अर्थात् कर्ली भएको हुन्छ। कालो खास्टोमा हरियो बोर्डर हुन्छ। यस्तो हाकुपटासी लगाउनेलाई ठिमीवासी नेवार रहेछ भनेर चिनिन्छ।

त्यस्तै ललितपुरमा भने कालो कपडामा ठूलो रातो बोर्डर हुन्छ। कालो खास्टोमा हरियो ऊनीको बोर्डर हुन्छ। हाकुपटासीका यी मिहिन डिजाइनले पनि कुन ठाउँको नेवार रहेछ भनेर चिन्न सजिलो उहाँको भनाइ छ।