अमरराज नहर्की
तनहुँ, कात्तिक १८ गते । धार्मिक पर्यटन प्रवर्धन र सनातन हिन्दु धर्म तथा संस्कृतिको संरक्षणको उद्देश्यले देवघाटधाममा मङ्लबार गण्डकी परिक्रमा महोत्सव–२०८२ गरिएको छ । नेपाल सन्त समाज, देवघाटधामको आयोजनामा र देवघाट क्षेत्र विकास समिति तथा देवघाट गाउँपालिकाको समन्वयमा आयोजना गरिएको एकदिने यस महोत्सवमा तनहुँ, चितवन र नवलपुरका धार्मिक तथा ऐतिहासिक महत्वका दर्जनौँ तीर्थस्थलहरूको परिक्रमा गरिएको हो ।
महोत्सव बिहान ७ बजे देवघाट वेणीमण्डपमा गणेश पूजनपछि विधिवत् रूपमा शुभारम्भ भएको थियो । त्यसपछि सिद्धेश्वर मन्दिर प्राङ्णबाट भक्तजनहरू गण्डकी परिक्रमा यात्रामा निस्किएका थिए। परिक्रमा क्रममा जलपान, प्रसाद ग्रहण र समापन क्रमशः हरिहर मन्दिर, दिव्यधाम गजकोट र मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा सम्पन्न हुने कार्यक्रम तालिकामा समावेश छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरराज लौडारीले महोत्सवलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहलको रूपमा लिँदै भन्नुभयो, “देवघाटधाम नेपालको वैदिक परम्पराको जीवित प्रतीक हो । यसले धार्मिक सहअस्तित्वको सन्देश फैलाउने र सनातन संस्कृति तथा परम्पराको संरक्षणमा योगदान पुर्याइने छ ।”
गलेश्वर आश्रम देवघाटधामका पीठाधीश स्वामी आत्मानन्द गिरीले देवघाटलाई धर्म, संस्कृति र साधनाको पवित्र केन्द्रका रूपमा स्थापित गर्न गण्डकी परिक्रमा महोत्सवको ऐतिहासिक महत्त्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाट केवल भूगोलको सङ्गम होइन, आस्था र श्रद्धाको केन्द्र हो । यहाँ आयोजित यस्तो कार्यक्रमले जनमानसमा धार्मिक चेतना, आस्था र सद्भाव फैलाउँछ ।”
त्यस्तै, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले गण्डकी परिक्रमा महोत्सवले नेपाली समाजमा आध्यात्मिक एकताको भावना पुनः जागृत गर्ने बताउनुभयो । उहाँका शब्दमा, “धार्मिक पर्यटन र संस्कृतिको संवर्धनमा यो परिक्रमा हाम्रो सामूहिक यात्राको प्रतीक हो । देवघाट सनातन धर्मको मेरुदण्ड हो, यसको संरक्षण हाम्रो जिम्मेवारी हो ।” देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित यो महोत्सवले नयाँ सम्भावना र पहिचान सिर्जना गर्ने बताउनुभयो ।
उहाँले जोड दिनुभयो, “गण्डकी परिक्रमा महोत्सव देवघाटको गौरव हो । यसले धार्मिक पर्यटनमार्फत आर्थिक समृद्धिको बाटो खोल्ने छ । गाउँपालिकाले यस्तो कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिने छ ।”
देवघाटधामको बेणी सङ्गमबाट सुरु भएको परिक्रमामा तनहुँ, चितवन र नवलपुरका प्रमुख धार्मिक स्थलहरू-पशुपतिनाथ मन्दिर, सिद्धेश्वर मन्दिर, हरिहर मन्दिर, मौलाकाली भगवती मन्दिर, बागेश्वरी मन्दिरलगायत दर्जनौँ मन्दिरहरू समावेश छन् । कार्यक्रमको मुख्य उद्देश्य वैदिक सनातन धर्म, संस्कृतिको प्रवर्धन र देवघाटलाई विश्वव्यापी तीर्थस्थलका रूपमा परिचित गराउनु रहेको आयोजक समितिले जनाएको छ ।