नेपाली कथामा रत्न प्रजापति नयाँ नाम रहेन । उनका यसअघिका कथासंग्रहहरू ‘बिसन्चो’, ‘सेता बादल’, ‘बदाम बेच्ने केटी’ र ‘स्वच्छन्द साँझ’ले उनलाई नेपाली साहित्यमा स्थापित गरिसकेको छ । उनी नेवार संस्कृति र त्यसका विम्बहरू टिपेर नारीमनका आवाजलाई कथामा मुखरित गर्छन् ।
नारी संवेदनालाई आफ्नो कथामा उच्च स्थान दिने रत्नले कथा भनिरहँदा या कथा लेखिरहँदा हाम्रो समाज र यो समाजमा नारीले भोगिरहेको अवस्थालाई पहिलो प्राथमिकतामा राख्छन् । समाज यसै पनि ढोङहरूमा चल्छ । हरेक मानिस मुखले एकथोक र व्यवहारले अर्कोथोक गरिरहेको हुन्छ । यहाँ नारी अधिकार र नारी संवेदनालाई सबैले उच्च स्थानमा राख्नुपर्छ भनिरहेका छन् । दोहो¥याइरहेका छन् । तर सधैँ किन नारी नै पीडित र विक्षिप्त भइरहेका छन् ? किन भने नारी मनलाई बुझ्नु पर्छ भन्नु र साँच्चिकै बुझ्नु फरक कुरा हो । रत्नका कथाहरूले नारीमनलाई बुझ्न सहज बनाउँछ । जानेर नजानेर हामीले गरिरहेका गल्ती सच्याउन मद्दत पु¥याउँछ ।
नेवारी समुदायमा रथ तान्ने प्रचलन विशिष्ट सांस्कृतिक महत्व छ । काठमाडौँ उपत्यकामा हुर्किएको कारण नेवार संस्कृति र यसभित्रको रथ तान्ने प्रथाबारे म लगभग जानकार छु । हरेक नेवार टोलमा रथ तान्ने विशेष प्रपञ्च हुन्छ । अझ भक्तपुरको रथ तान्ने परम्परा त भिन्नै रोमाञ्चकताले भरिएको छ । भीड, घच्चाघच्ची, साथीसङ्गीसँगको भेटघाट, जितहारको आवेग, जात्राको बहानामा हुने स्वच्छन्द क्रियाकलाप, माया प्रेममा पनि रथलाई साक्षी राखेर खाने कसम सबै विशेष लाग्छन् ।
काठमाडौँ उपत्यका सांस्कृतिक र तान्त्रिक हिसाबमा महत्वपूर्ण मानिन्छ । यहाँका संस्कृतिमाथि धेरै साहित्यिक कृति निस्किएका छन् । तर यहाँको संस्कृतिलाई नारी संवेदना र मनसँग जोडेर लेखिएका कृति निकै कम छन् । त्यही कममध्येको एक हो– रत्न प्रजापतिको रित्तो रथ ।
कथाकार रत्नको कथासङ्ग्रह ‘रित्तो रथ’मा सामाजिक–सांस्कृतिक, यौनमनोवैज्ञिानिक र राजनीतिक विषयलाई केन्द्रमा राखेर लेखिएका ३२ वटा कथाहरू छन् । अधिकांश कथामा यौनचेतना र यही चेतनाले विकास गरेको मनोविज्ञानलाई सामाजिक–सांस्कृतिक कलेबरमा प्रस्तुत गरिएको छ । काठमाडौँ उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई रत्नले सरल तरिकाले उतारेका छन् । कथाकारले उपत्यकाको नेवारी संस्कृतिलाई साहित्यिक सिर्जनामा सबैले बुझ्ने र सम्झने गरी प्रस्तुत गरेका छन् ।
रत्नका कथाले अहिलेको समय, संवेदना र समाजलाई उतारेका छन् । उनी नारी मन र यौनलाई सूक्ष्म तरिकाले अनुभूत गराउँछन् आफ्ना शब्दहरूमा । सङ्ग्रहको शीर्षक कथा रित्तो रथमा नेवारी संस्कृतिको माध्यममा रत्नले नारी यौनमनोविज्ञानलाई पक्रिएका छन् । ज्ञानीमायाका यौन मनोवैज्ञानिक चेतनालाई कथाले प्रष्टसँग व्यक्त गरेको छ । कथामा आफ्नो चाहनाअनुरूप समय हिँडेसम्म भरिलो देखिएको रथलाई युवक नपाउने निश्चित भएपछि ज्ञानीमायाका आँखाले रित्तो देख्न थाल्छन् । कस्तो परिकल्पना ? नारी मनको यो परिकल्पनालाई कथाकारले टपक्क टिपेर कथामा उनेका छन् ।
रत्न पाठकप्रेमी कथाकार हुन् । पाठकमा रोमाञ्चकता भर्न र अति यथार्य महसुस गराउने कला उनमा धेरै छ । उनी कथामा आफूलाई उतार्छन् र पाठकलाई कौतुहल पार्छन् । ‘रित्तो रथ’, ‘रङ्गीन बाफ’, किताबका उत्कृष्ट कथा हुन् । त्यसो त ‘तेबाचाको फेसबुक स्टाटस’, ‘खर्पन’ कथाले धेरैको मन जित्छ । अझ ‘मुलाँ’, ‘तलमाथि’, ‘अर्कै घरबाट’ जस्तले रत्नको कथाको उनकै शैलीको निरन्तरतालाई पक्रिएको छ । यी सबै कथा पढिसकेपछि पाठकको मनमा उब्जिने प्रश्न भनेको यो सङ्ग्रहले रित्तो रथको कथा भनिरहेको छ कि रित्तो मनको कथा सुनाइरहेको छ ? á
कृति : रित्तो रथ
विधा : कथा सङ्ग्रह
कथाकार : रत्न प्रजापती
प्रकाशक : शिखा बुक्स
प्रकाशन : २०७९
पृष्ठ : २८२
मूल्य : ४७५ ।