• १६ कात्तिक २०८१, शुक्रबार

ठाडो भाकाको इतिहासमा लालबहादुर

blog

‘ठाडो’ शब्दले नेपाली जनमानसमा त्यति राम्रो अर्थ बोक्दैन । जब ठाडो भाकाको कुरा आउँछ यसले ‘ठाडो’का सबै दुर्गण बिर्साउँछ । अर्थात् नाउँ ‘ठाडो’बाट सुरु भए पनि यसले एउटा सुललित लोकलयको स्मरण गराउँछ । गण्डक क्षेत्र नेपाली लोकगीत र साहित्यको क्षेत्रमा गण्डकीको जल जत्तिक्कै पवित्र छ । यहाँको लोकलयमा कठोर हृदयलाई पनि पगाल्न सक्ने सामथ्र्य छ । सालैजो, कौरा, चुड्का, रोइला, घाटु, बालुन आदिको पङ्क्तिमा ठाडो भाका पनि दर्बिलो उपस्थिति लिएर उभिएको छ । यसै सन्दर्भमा ‘ठाडो भाकाको लोक–सांस्कृतिक इतिहास’ नामक पुस्तक लिएर अनुसन्धाता÷ साहित्यकार लालबहादुर भुजेल उपस्थित भएका छन् । 

ठाडो भाकाको आफैँमा लम्बेतान इतिहास छैन । लगभग डेढ सय वर्षको कालखण्डमा यसले आफ्नो बेग्लै अस्तित्व निर्माण गरिसकेको छ । धौलागिरि क्षेत्रमा बसोबास गर्ने बौद्धसिंह गुरुङ वि.सं. १९१४ तिर कास्की जिल्लाको हंसपुर भन्ने ठाउँमा बसाइँ सरे । आउँदा उनी एक्लै आएनन् नेपाली लोकसाहित्यका लागि ठाडो भाकाको उपहार पनि लिएर आए । उनै बुद्धसिंह गुरुङ ठाडो भाकाका प्रणेता मानिन्छन् । बौद्धसिंहले सुरु गरेको ठाडो भाकाको विरासतलाई मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर गुरुङ, मनिराम दुरा र आफली घर्तिनीसम्मको पुस्ताले फैलाउने, हुर्काउने र जनमानसमा पु¥याउने सत्कार्य गरेको पाइन्छ । 

ठाडो भाकाको यस गोरेटोको उभिएर भेडीखर्के साइँलाले दिएको योगदान नेपाली लोकसाहित्यले कहिल्यै भुल्ने छैन । मन्दिर, देवालय, पूजाआजा, जात्रापर्वमा गाइने अनि गाउँघरमा रामरमाइलो गर्न बसिबियाँलो गरिने ठाडोभाका अब सहरबजार र होटेल रेस्टँुराहरूमा फैलने क्रममा छ । यसको लयले नेपाली गीतसङ्गीतका श्रोता र पारखीको हृदयमा अमिट छाप छोड्न सफल भएको छ । यसै मेसोमो ठाडो भाकाको इतिहाससम्बन्धी पुस्तकको प्रकाशन सुखद् संयोग हो । 

कुनै पनि विषयमा अनुसन्धान गरेर एउटा निचोड निकाल्ने काम आफैँमा चुनौतीपूर्ण हुन्छ । अनुसन्धानका लागि आँट, साहस र धैर्य चाहिन्छ । समय र श्रमको लगानी गर्न सक्नुपर्छ । लालबहादुर भुजेलको यो कर्म त्यसैले प्रशंसनीय छ । पुस्तकमा गण्डकी क्षेत्रको ऐतिहासिक पृष्ठभूमिका साथमा ठाडो भाकाको उत्पत्ति र विकासक्रममा योगदान गर्ने पुस्ता, व्यक्ति र संस्थाहरूका बारेमा चर्चा गरिएको छ । पुस्तकमा ६ वटा अध्याय छन् । पहिलो अध्यायमा ठाडो भाकाको इतिहास र विकासक्रमको चर्चा गरिएको छ । दोस्रो अध्यायमा साहित्य समीक्षा एवं ठाडो भाकाको पृष्ठभूमि र परिचयका साथमा शब्दकोशीय अर्थलाई सोदाहरण प्रस्तुत गरिएको छ । चौथो अध्यायमा ठाडो भाकाका विविध विषयवस्तु, परिवेश, शैलीका गीतहरू उल्लेख गरिएको छ । यो गीतको विषय मायाप्रेम र रतिरागमा मात्र सीमित नरही सामाजिक कुरीति, असङ्गतपूर्ण वर्तमान, कृषि र वैदेशिक रोजगारीसम्म फैलिएको उदाहरण  अभिव्यक्त गरिएको छ । कुनै पनि विषयमा योगदान गर्नेलाई भुल्नु भनेको गैरजिम्मेवारीपनको पराकाष्टा हो । लालबहादुरले भने ठाडो भाकामा योगदान गर्नेहरूको पारिवारिक पृष्ठभूमिलाई समेत मिहीन ढङ्गले प्रस्तुत गर्ने प्रयत्न छन् ।

पाचौँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विश्लेषण गरिएको छ भने छैठौँ अध्यायमा निष्कर्ष र सुझाव समावेश गरिएको छ । परिशिष्ट खण्डमा भेडीखर्के साइँलासितको अन्तरवार्ता, सत्यमोहन जोशीले ठाडो भाकाका गायक पञ्चे सुब्बाका बारेमा लेखेको लेख, नेपाली भाषा साहित्यको उन्नयनमा दुराडाँडाको योगदान अनि केही सुन्दर तस्बिरहरूको समेत समावेश गरिएको छ । लमजुङको दुराडाँडामा जन्मिएका लेखकले ठाडो भाकाको इतिहासका विविध पाटालाई एउटै पुस्तकमा उन्ने प्रयास गरी जन्मस्थानको गुन मात्र तिर्न खोजको छैनन् बरु उनले नेपाली लोकसाहित्यको उत्थानमा एउटा इँटा थप्ने काम पनि गरेका छन् । 

कृति : ठाडो भाकाको लोक सांस्कृतिक इतिहास

विधा : संस्कृति

लेखक/अनुसन्धाता : लालबहादुर भुजेल

प्रकाशक : चाँगुनारायण साहित्य समाज, भक्तपुर

पृष्ठ : २४४

मूल्य : रु. ५००।–