• १७ असार २०८१, सोमबार

दुई मिनेटको रोल अझै चुनौतीपूर्ण छ : अभिनेत्री स्वस्तिमा खड्का

blog

काठमाडौं, माघ १६ गते । अभिनेत्री स्वस्तिमा खड्काले कुनै पनि फिल्ममा आफूलाई समयभन्दा क्यारेक्टरले अर्थ राख्ने बताउनुभएको छ । चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को घोषणा कार्यक्रममा बोल्नुहुँदै उहाँले क्यारेक्टर बलियो भए आफू जति सानो वा छोटो भूमिकामा पनि अभिनय गर्ने बताउनुभएको हो ।

“पाँच मिनेट, दुई मिनेट वा एक मिनेटको भूमिका भए पनि मलाई त्यसले फरक पार्दैन, कलाकारलाई आफ्नो क्यारेक्टर कत्तिको बलियो छ भन्ने कुराले अर्थ राख्छ,” उहाँले भन्नभयो, “म आजको दिनसम्म आइपुग्दा फिल्ममा मेरो एक मिनेटको मात्रै रोल हो कि वा पूरै फिल्ममा म देखिन्छु कि देखिन्न भन्ने विषयले मलाई खासै फरक पर्दैन ।” 

सुरुवाती फिल्मदेखि तेस्रो फिल्मसम्म पुग्दा पनि स्वस्तिमालाई सायद हिरोइनमा मात्रै देखिनुहुन्छ भने पनि त्यसले आफूलाई केही फरक नपारेको उहाँको अनुभव छ ।

‘‘सहायक वा प्रमुख कलाकार भनेर म फिल्ममा देखिन चाहन्नँ, मलाई दुई मिनेटको रोल गर्न मन छ, पूरै फिल्ममा देखिनु मेरो इच्छा हैन, मेरो लागि दुई मिनेटको रोल अझै चुनौतीपूर्ण छ जस्तो लाग्छ”, अभिनेत्री खड्काले भन्नुभयो ।

कार्यक्रममा उहाँले आजसम्मको चलचित्र करिअरमा आफूले गरेको रोल कति मिनेटको हो भन्दापनि कति सशक्त अभिनय गर्नसक्छु भन्ने विषय आफ्नो लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पछिल्लो समय आफू चलचित्रमा केन्द्रीय भूमिकामा काम गर्न थालेपछि धेरै निर्माताले सानो भूमिकामा अफर गर्न छाडेको समेत गुनासो गर्नुभयो। 

“मैले सानो रोलमा काम गर्दिनँ होला भन्ने लाग्छ उहाँहरुलाई तर यो गलत हो, म छोटो समयमा सशक्त भूमिकाको प्रतीक्षामा छु”, उहाँले भन्नुभयो । 

खगेन्द्र लामिछानेको लेखन एवं निर्माण, दीपेन्द्र के। खनालको निर्देशनमा बन्न लागेको ‘पशुपति प्रसाद २ स् भष्मे डन’मा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियालगायतको अभिनय रहनेछ । 

फागुनदेखि छायांकनमा जाने ‘पशुपति प्रसाद २ : भष्मे डन’ आउँदो वर्षको दशैँको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।