• १२ वैशाख २०८१, बुधबार

सन् २०३०सम्म कुष्ठरोग निवारणकाे लक्ष्य

दुई हजारभन्दा बढी कुष्ठरोगी फेला, धेरै मधेश प्रदेशमा

blog

काठमाडौं, माघ १६ गते । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार भन्दा बढी कुष्ठरोगका बिरामी भेटिएका छन् । राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८–८२) सार्वजनिक कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रसन्न नापितले यस्तो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी थपिएका थिए । जसमध्ये रोगका कारण अपाङ्गता भएका बिरामीको सङ्ख्या दुई हजार ३७३ रहेको छ । रोगीमध्ये ७३ जना बालबालिका रहेको उहाँले जानकारी दिनुभयो ।

बालबालिकामा सङ्क्रमण देखिनु भनेको समाजमा कुष्ठरोगका कीटाणु रहेको पुष्टि हुने उहाँ बताउनुहुन्छ ।

नयाँ भेटिएका बिरामीमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ४० प्रतिशत अर्थात् ९१० जना कुष्ठरोगका बिरामी भेटिएका छन् । लुम्बिनी प्रदेशमा २५ प्रतिशत अर्थात् पाँच सय ८३ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोगी भेटिएका थिए ।

त्यसैगरी, गण्डकी प्रदेशमा ९३ र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कुष्ठरोगीको सङ्ख्या कम छ। शाखाकाअनुसार नेपालमा २०६६ सालमा कुष्ठरोग निवारण घोषणा भएको थियो । सोही समयमा राष्टियस्तरमा प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी भएको घोषणा भएको थियो । सोही, समयमा कुष्ठरोगको प्रकोप दर ०.७७ रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९को अन्त्यसम्म ०.८१ रहेको थियो । १६ जिल्लाहरूमा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा धेरै बिरामी रहेको शाखाले जनाएको छ । १६ जिल्लामा प्रकोप दर एक भन्दा बढी छ ।

झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम छन्।जिल्ला अन्तर्गत सबैभन्दा बढी कुष्ठरोगका बिरामी बारा जिल्लामा छ ।

डा. नापितका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरिया लेप्रे’ नामको कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग हप्तामा २० घण्टा भन्दा बढी समय सम्पर्कमा आउने व्यक्तिलाई मुख्यता श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने उहाँ बताउनुहुन्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउने रातो, फुस्रो दागहरू देखिने यो रोगका मुख्य लक्षण हुन् ।

चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, सनसनी गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशीको पक्षाघात गराउन सक्छ ।

कुष्ठरोग एक प्रकारको कम सर्ने रोग हो । बहुऔषधि उपचार विधि सुरु गर्ने बित्तिकै ९९ प्रतिशत भन्दा बढी कीटाणुहरू निष्क्रिय हुन्छन् । विश्वका सयभन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ।

नेपालले सन् २०३० सम्म स्थानीय तहमा लगातार पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका सङ्क्रमणलाई अवरुद्ध पारेर कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।