बजारसम्म सखर लैजान भने निक्कै अप्ठ्यारो थियो । घण्टौँ लगाएर पाँचखालसम्म सखर लैजाने र त्यसबाट आएको पैसाले नुन, चिनी, तमाखु, बिँडी किनेर लगिन्थ्यो । अरनिको राजमार्ग खुलेपछि आम्दानीको गतिलो स्रोत सखर बन्यो । सखरसँगै बोडी, पिँडालु, तरुल त्यतै लगेर बेच्न थालियो । पहिलाको मुख्य बजार पाँचखाल नै थियो । मण्डनको सखर उच्च गुणस्तरको हुने र बजारमा सजिलै बिक्री हुने गरेको संस्मरण छ ८३ वर्षकी रामप्रसाद पौडेलसँग ।
त्यहाँबाट व्यापारी सरेर लामिडाँडामा आएपछि नयाँ बजार लामिडाँडा भयो । अन्न लगेर बेच्ने र आफ्ना मालसामान ल्याउने गर्दथे मण्डनवासी । त्यहाँका स्थानीयको सबैभन्दा धेरै आम्दानी दिने चिज थियो सखर । मण्डनका मान्छेको लुगा नै गुलियो हुन्छ भनेर त्यतिबेला चर्चा हुने गथ्र्यो । मण्डनका केदार नेपालले त्यसलाई यसरी प्रस्ट्याए, मण्डनका बासिन्दाले बिहानदेखि बेलुकासम्म सखर उत्पादनमा आफ्नो दिनचर्या व्यतित गर्ने भएकाले उनीहरूको लुगाबाट हरहर्ती गुलियो बास्ना आउँथ्यो ।
नजिकैको गाउँमा गुणस्तरीय सखर उत्पादन हुने भएपछि लामिडाँडा बजारमा हरेक वर्षको माघेसङ्क्रान्तिका लागि भनेर चाकु बनाउन थालियो । सखरभन्दा मीठो चाकु घिउ, मसला र नरिवल हालेर बनाउने भएपछि यहाँको चाकु धेरैको रोजाइमा प-यो पनि ।
२०२८ पछि प्रधानमन्त्री सूर्यबहादुर थापाको भ्रमण मण्डन क्षेत्रमा हुने भएपछि जिरोकिलोदेखि मेलम्चीसम्मको बाटो विस्तार सुरु भएको थियो । श्रमदान गरेर गाडी चल्न मिल्ने सडक बनाइयो । त्यसले बजार गाउँ–गाउँमा पु¥यायो । उखुलाई विस्थापन गरेर अन्न धेरै भिœयाउन थालियो । बाटोले सुविधा थप्यो तर परम्परा भने नासियो ।
२०४२ सालपछि नियमित रूपमा हेलम्बुसम्म गाडी चल्न थाल्यो । कुन्ताबेँसी, रानीटार, हिगुवापाटी, देउपुर, चण्डेनी, धाइटारमा पसल खुल्न थाले । विस्तारै उखु खेतीलाई विस्थापन गरेर मकै र धान फलाउन थालियो । उखुबाट बन्ने सखर बजारबाट किनेर ल्याउने बाध्यता भयो । मण्डनका मान्छेको लुगा गुलिया हुने दिन हराए । उखु खान पनि मधेशबाट मगाउने अवस्था आयो । नयाँ पुस्ताका लागि सखर नौलो बन्यो । खुदो र सखरको कुरा कथाजस्तो मीठो मानेर सुनाउने दिन पो आए ।
हरेक वर्ष पुस लागेपछि लामिडाँडामा हरेक दिन चाकु बन्छ । जसले अझै पनि लामिडाँडालाई चिनाउन सहयोग गरिरहेको छ ।
स्थानीय बासिन्दा पदम श्रेष्ठको विचारमा लामिडाँडाको पहिचान नै चाकु हो । जहाँको सखरले चाकु बनाइन्थ्यो त्यो नभए पनि परम्परा जोगाउन लामिडाँडाले हरेक वर्षको माघेसङ्क्रान्तिका लागि चाकु उपहार दिने गरेकाले उनी खुसी चाहिँ छन् ।
काभ्रेपलाञ्चोकमा धुलिखेलमुनि लामिडाँडा चाकु बनाइने नामले पनि प्रसिद्ध छ । लामिडाँडामा चाकु बनाउन लागेको ५० वर्ष पुगिसक्यो । पछिल्लो समय युवा पुस्ताले यसमा चासो नदिँदा त्यसले ज्येष्ठ नागरिकलाई भने चिन्ताले छोपेको छ ।
उद्योग वाणिज्य सङ्घ पाँचखालका अध्यक्ष राजन कार्कीले लामिडाँडा हरेक वर्ष चाकु बनाएर खुवाएको अनुभव सुनाउँछन् । स्थानीय सरकारले पनि केही सहयोग गरे सुनमा सुगन्ध हुने र उद्योग वाणिज्य सङ्घ यो कार्यमा सहयोग गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
जाडोमा चाकु खाँदा शरीरमा गर्मी पैदा हुने र स्वास्थ्यलाई फाइदा पुग्ने बताइन्छ । सखरलाई करिब एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ । चिसो पारेपछि कालो रङको पाकेको झोललाई फिटेर पहेँलो रङको बनाइन्छ । फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ । लामिडाँडाको चाकु काभ्रेपलाञ्चोक जिल्लामा मात्रै हैन काठमाडौँसम्म पनि उपहारस्वरूप पठाइने गरिएको छ ।