• ५ वैशाख २०८१, बुधबार

सच्चा शहीदको समर्पण

blog

नेपालको निरङ्कुश शासनको विरोधमा धेरै पहिलेदेखि धेरै देशभक्तले ठूला–ठूला सङ्घर्ष, विरोध र विद्रोह गरे । कतिले देश र जनताको हितमा आफ्नो प्राणलाई आहुति दिए र सबैलाई अन्यायको विरोधमा लड्न तथा आफ्नो हक रक्षामा अघि सर्न साहस र प्रेरणा दिए । वि.सं. १९९३ मा प्रजापरिषद्को गठन भयो । १९९७ को प्रारम्भदेखि यसले एकतन्त्रीय राणा शासन विरोधी आन्दोलनलाई अरू सशक्त पा-यो । १९९७ को कात्तिक २ देखि राणाले व्यापक धरपकड सुरु गरे । पक्राउ गरिएका धेरैलाई अनेकाँै दिनसम्म शारीरिक यातना दिइयो । यसमा सजाय तोक्न राणाहरूले विशेष अदालत गठन गरे । त्यही तथाकथित विशेष अदालतले १९९७ को माघ ६ का दिन सबैलाई विभिन्न सजाय सुनायो । १९९५ को मङ्सिरदेखि जेलमा राखिएका नागरिक अधिकार समितिका अध्यक्ष–शुक्रराज शास्त्री जोशीलाई तथा प्रजा परिषद्सित सम्बद्ध–दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र पूर्णनारायण प्रधानलाई मृत्युदण्डको सजाय दियो । अरू धेरैलाई अंश सर्वस्वसहित आजीवन कैद, १८ वर्ष, १२ वर्ष र अरू कैदको सजाय दिइयो । मृत्युदण्डको कठोर एवं हदैसम्मको सजाय दिइएको थियो । तर कुन ऐनको कुन दफाअनुसार, कुन कसुर गरेबापत उनीहरूलाई यति ठूलो सजाय दिइयो ? त्यसको उत्तर पाउने ठाउँ कतै थिएन । मृत्युदण्डको सजाय सुनाएको चार दिनपछि–माघ १० को मध्यरातमा शुक्रराज शास्त्री जोशीलाई सेन्टर जेलबाट ल्याएर टेकु पचलीको सडक छेउको रुखमा झुन्ड्याइयो । (यो रुख अहिलेसम्म पनि जीवित छ ।) माघ १३ को राति धर्मभक्त माथेमालाई सिफलको सडकको उत्तर पट्टीको रुखमा झुन्ड्याइयो । दशरथ चन्द र गङ्गालाललाई एकसाथ माघ १५ गतेको राति विष्णुमतीको किनारमा पु-याइयो र गोली हानेर अति क्रुर तवरले मारियो । गोली हान्नुभन्दा पहिले नरशमशेरले गङ्गालाललाई भनेका थिए–माफी माग् तँ बाँच्छस् । तर गङ्गालाल माफी माग्न किमार्थ तयार थिएनन् । उनले भने तिमीहरूसित माफी मागेर म बाँच्न चाहन्नँ । पूर्णनारायण प्रधानले पनि माफी मागेका थिएनन् । केहीपछि उनको मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गरियो । 

यिनै वीर शहीदको प्रेरणा, आदर्श र बलिदानबाट देशमा २००७ को जन–क्रान्ति भएको थियो । त्यही ऐतिहासिक जन–क्रान्तिले नेपालमा एकतन्त्रीय शासनको अन्त्य गरेर प्रजातन्त्रको स्थापना ग¥यो । तर प्रजातन्त्रलाई अघि जान नदिन अनेक षड्यन्त्र भइरहे । अन्ततः वि.सं. २०१७ को पुस १ गते सैन्य शक्तिको आडमा राजा महेन्द्रले जनताका सबै अधिकार खोसे । जननिर्वाचित प्रधानमन्त्रीलाई, मन्त्रीहरू, सभामुख एवं राजनीतिक नेताहरू र कार्यकर्ताहरू सबैलाई बन्दी बनाए । संसद् विघटन गरेर राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाए । देशलाई कठोर निरङ्कुशताको अवस्थामा पु-याए । नेपाली जनताले यी सबैलाई हेरेर मात्र बस्न सकेनन् । यसको प्रतिकारमा होमिए । देश र जनताको हितमा आफूलाई बलिदान गर्न तत्पर भएर अघि सरे । यसरी अघि सर्नेहरूमा दुर्गानन्द झालगायत अनेकौँ तरुण अग्रपङ्क्तिमा थिए । 

त्यसबेला दुर्गानन्द झा जनकपुर नजिकको सीमावर्ती स्थान उमगाउँको हाइ स्कुलमा पढ्थे । नेपाली कांग्रेसका कतिपय निर्वासित नेता पनि उमगाउँको नजिकै जयनगरमा रहन्थ्ये । झा ती नेताहरूको निकट सम्पर्कमा थिए । झाले राजा महेन्द्र जनकपुरको भ्रमणमा आउने कुरा थाहा पाए । उनले राजा महेन्द्रलाई बम हान्ने योजना तयार पारे । २०१८ को माघ ९ गते राजा महेन्द्र जनकपुरमा ओर्लनुभन्दा केही पहिले विमानस्थलमै बमसहित झाका सहयोगी अरवीन्द ठाकुर पक्राउ परिसकेका थिए । त्यसैले सम्पूर्ण जनकपुरभरिको सुरक्षा व्यवस्थामा कडा सतर्कता अपनाइएको थियो । तैपनि माघ ९ गते अपराह्न ४ बजेतिर राजा महेन्द्र जानकी मन्दिरको दर्शनमा जाँदा दुर्गानन्द झाले जानकी मन्दिर चोकमा राजा महेन्द्रले चढेको मोटरमा बम प्रहार गरे । मोटरको केही भाग क्षतिग्रस्त भयो । तर राजा महेन्द्रलाई चोट पटक लागेन । 

दुर्गानन्द झा जनकपुरबाट सुरक्षित रूपमा जयनगर फर्कन सफल भए । उनलाई पक्राउ गर्न सबैतिर सक्रियता बढाइयो । बम प्रहारमा कुनै संलग्नता नै नभएका झाको परिवारका सदस्यहरू, उनका नातेदारहरू तथा उनका साथीहरूलाई सरकारले अमानवीय ढङ्गबाट दबाब र यातना दिन थाल्यो । धेरैलाई पक्राउ ग-यो । यसबाट झा चिन्तित थिए । आफूले जस्तोसुकै कठोर सजाय भोग्न परे पनि आफू जनकपुर आउने र गिरफ्तारी दिने मनस्थितिमा झा पुगे । तर जयनगरमा रहेका धेरैले उनलाई जनकपुर आउन रोके । उनी म्याट्रिक परीक्षाको तयारीमा लागे । द्वितीय श्रेणीमा म्याट्रिक उत्तीर्ण भए । जनकपुरमा दुर्गानन्द झाका निकटस्थमाथि सरकारले अझ बर्बर रूपमा दमन बढायो । यसलाई झाले अरू सहन सकेनन् । मृत्युदण्ड दिइन्छ भने पनि त्यसलाई सगर्व वरण गर्न तत्पर भएर २०१९ को वैशाखको दोस्रो हप्तामा झा जनकपुर आए । त्यसै दिन पक्राउ गरेर उनलाई पुर्कौली ब्यारेकमा राखियो । भोलिपल्ट उनलाई काठमाडौँ ल्याइयो र सेन्टर जेलमा राखियो । 

दुर्गानन्द झालगायत त्यसबेला प्रारम्भ भएको सशस्त्र सङ्घर्षमा सम्बद्धहरू समेतको मुद्दा हेर्न, २०१९ को वैशाखमा राजा महेन्द्रले–पशुपतिप्रसाद कोइराला, झपटसिंह रावल र गुणनाथ उपाध्यायसमेत रहेको विशेष अदालत गठन गरे । त्यसपछि ‘राजकाज अपराध र सजाय ऐन’ को निर्माण गरियो र त्यसमा मृत्युदण्ड दिन सकिने व्यवस्था पनि थपियो । त्यही विशेष अदालतले २०१९ को भदौ १९ गते दुर्गानन्द झालाई मृत्युदण्डको सजाय दियो । त्यसको केही महिनापछि यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो । न्यायाधीश रत्नबहादुर विष्टले यसमा सजाय दिइएकाहरू समेतलाई उपस्थित गराउने आदेश दिए । तर यो आदेश दरबारलाई स्वीकार्य थिएन । २०१९ को फागुन २४ गते सर्वोच्च अदालतका न्यायाधीशहरू–दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायको डिभिजन बेञ्चले मृत्युदण्डको सजायलाई सदर ग-यो । त्यसलाई २०२० को पुस ११ गते राजा महेन्द्रले लालमोहर लगाए । त्यसबेला दुर्गानन्द झालाई नेल हत्कडी लगाएर सेण्टर जेलको गोलघरमा कडा निगरानीकासाथ राखिएको थियो । यसरी तथाकथित सबै प्रक्रिया पूरा गरेपछि २०२० को माघ १५ गतेको मध्यरातमा झालाई गोलघरबाट बाहिर ल्याइयोे र सेन्टर र जनना जेलको बीच भागमा गोली हानेर मारियो । 

पूर्वाञ्चलको भ्रमणमा रहेका राजा वीरेन्द्रले २०३० को चैत ३ गते विराटनगरको भेलालाई सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसमा बम विस्फोट भयो र केही घाइते पनि भए । त्यसमा घाइते भीमनारायण श्रेष्ठलाई पक्राउ गरियो र उनलाई केही दिनपछि विराटनगरबाट हेलिकप्टरमा काठमाडौँ ल्याइयो । यसबारेमा फैसला गर्ने 

जिम्मा बागमती विशेष अदालतलाई दिइयो । त्यही अदालतले २०३१ को मङ्सिर ३१ गते भीमनारायण श्रेष्ठलाई मृत्युदण्डका सजाय दियो । यसमा गिरिजाप्रसाद कोइरालालाई पनि प्रमुख अभियुक्त 

ठहर गरेको थियो र पक्राउ भई आएपछि कारबाही अघि बढाउने भनिएको थियो । 

२०३१ को ओखलढुङ्गा–सोलुको सशस्त्र सङ्घर्षमा धेरै सङ्घर्षशील तरुणले आफूलाई बलिदान दिए । कप्तान यज्ञबहादुर थापा, लोकबहादुर गुरुङ र जशधन राई मात्र उम्के । कप्तान थापा ओखलढुङ्गाको चिसंकु कुइ भीरमा पुगे । तर उनका आफ्नै पुरोहित चक्रप्रसाद पराजुलीले सेनालाई खबर गरिदिए । पुस ३ गते सेनाले कप्तान थापालाई पक्राउ ग-यो । पुस ४ गते हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्यायो । यसमा धेरैलाई पक्राउ गरियो । कति निर्वासित भएर रहे । कतिलाई जेल सार्ने बहानामा सुनकोसीको टोक्सेल घाटमा पु-याएर अति जघन्य रूपले गोली हानेर मारियो । यसबारेको मुद्दा फैसला गर्न ऋद्धिमान्नद बज्रचार्यको विशेष अदालत गठन गरियो । यही अदालतले २०३२ को कात्तिक ३० गते कप्तान यज्ञबहादुर थापालाई मृत्युदण्ड दिने फैसला ग-यो । त्यसमा बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला समेतलाई मुख्य दोषी ठहर गरिएको थियो । यसैमा ओखलढुङ्गा ब्यारेकका जमदार कर्णबहादुर बस्नेतलाई र नायक भवेन्द्रबहादुर बस्नेतलाई सैनिक कोर्टमार्शलबाट, २०३१ को माघमा नै मृत्युदण्ड दिइएको थियो । 

भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई दुई विशेष अदालतले दिएको मृत्युदण्डको सजायलाई सर्वोच्च अदालतका न्यायाधीश–बासुदेव शर्मा र झपटसिंह रावलको डिभिजन बेञ्चले २०३३ को फागुन ६ गते सदर ग¥यो । देश सङ्कटतिर धकेलिँदै थियो । तिनै सङ्कटहरूको निवारणमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला, गणेशमान सिंह र लामो समयदेखि निर्वासनमा रहेका अरू धेरै स्वदेश फर्किसकेका थिए । देशमा एकता र मेलमिलापको वातावरण देखापर्न थालेको थियो । बीपी कोइराला दोस्रो पटक अमेरिकामा उपचार गराएर नेपाल फर्कने क्रममा लण्डनमा आइपुग्नु भएको थियो । त्यहीबेला २०३५ को माघ २४ गते राति भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई सेन्टर जेलको गोलघरबाट निकालियो र सेनाको जङ्गी अड्डामा राखियो । माघ २६ गते राति भीनारायण श्रेष्ठलाई कोसीको किनारकोे टप्पुमा पु-याइयो । माघ २६ कै राति कप्तान यज्ञबहादुर थापालाई कमलानदीको किनारमा पु-याइयो र दुवैलाई गोली हानेर मारियो । 

२०१७ को पुस १ देखि प्रारम्भ भएको निर्दलीय निरङ्कुशताको विरोधमा नेपाली जनताले लामो समयसम्म अनवरत सङ्घर्ष गरिरहे । अनेकौँले आफूलाई बलिदान दिए । कति घाइते भए । कतिले जेलको कष्टकर यातना बेहोरे । सरकारले आफूलाई सधैँ कठोर रूपमा प्रस्तुत गरिरह्यो र राज्य आतङ्क फैलाइरह्यो ।