• १२ पुस २०८१, शुक्रबार

मानव तस्करीविरुद्धका अभियन्ता

blog

छत्रबहादुर मैनाली सिन्धुलीमा जन्मनुभयो, उतै हुर्कनुभयो, लेखपढ गाउँकै स्कुलमा गर्नुभयो र केही नयाँ काम गर्ने हुटहुटी बोकेर राजधानी काठमाडौँ हानिनुभयो । सामान्य मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका कारण काठमाडौँको बसाइ उहाँलाई सहज भने थिएन । घरबाट आर्थिक सहायता हुने सम्भावना पनि थिएन । रोजगारीमा लागे पनि दुई छाक टार्नै धौधौ । 

सानै उमेरमा धेरै हण्डर खाएपछि अर्काको काम गर्नुभन्दा सानै भए पनि आफ्नै व्यवसाय सञ्चालन गर्ने योजना उहाँले बनाउनुभयो । योजनाअनुसार कस्मसोलोजी क्लिनिकको सुरुवात गर्नुभयो काठमाडौँमा । त्यतिखेर उहाँको चिनजान भयो– कोलम्बियन नागरिक मारिया एम्मा डियाजसँग । केही समय सामान्य चिनजानमै सीमित रहेको उहाँहरूको सम्बन्ध अन्ततः जीवनसाथीमा परिणत भयो । श्रीमान् श्रीमती नै भएपछि उहाँहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भयो । अर्थात् एउटा पखेटा भएको पन्छीलाई दुइटै पखेटा भएजस्तै । 

व्यवसाय राम्रै चलिरहेको थियो तर मुलुक लोडसेडिङको चरम अवस्थामा पुग्न थाल्यो । यसको असर उहाँहरूको व्यवसायमा पनि पर्न थाल्यो । कतिसम्म भने दैनिक २० घण्टासम्म लोडसेडिङ हुन थालिसकेको थियो । फेरि उहाँहरूको व्यवसायमा विद्युतीय उपकरणको प्रयोग अनिवार्य थियो । बिजुलीको विकल्पमा जेनेरेटर किन्नुपर्ने र त्यसको लागत पनि महँगो हुने अवस्था थियो । धेरै पटक सोच्दा पनि यतातिर सफल हुन नसक्ने निर्णयमा मैनाली परिवार पुग्नुभयो । यो निर्णय थियो १२ वर्षअघिको ।  यता व्यवसाय गर्न कठिन भएपछि मैनाली श्रीमतीसहित कोलम्बियातर्फ लाग्नुभयो । त्यहाँ पुगेर पनि फेरि व्यवसाय नै सञ्चालन गर्नुभयो । मैनाली भन्नुहुन्छ, “त्यहाँ पुगेर पनि मैले सुरुमा होटल व्यवसायमा हात हालेँ । सँगसँगै पेय पदार्थ तथा विद्युतीय चुरोटको व्यापारमा लगानी गरेँ ।” उहाँले कोलम्बियामा राम्रो व्यवसाय गर्ने नेपालीको परिचय बनाइसक्नुभएको छ ।

कोलम्बिया यस्तो मुलुक हो; जहाँ मुस्किलले २४ जनाजति नेपाली बस्छन् र उतैको नागरिक भएर समाजमा सम्मानपूर्वक बाँच्ने नेपाली भने नगण्य मात्रै छन् । मैनालीकै भनाइअनुसार त्यहाँ विभिन्न कूटनीतिक नियोग तथा अन्य क्षेत्रमा रोजगारीमा लाग्नुभएका १२/१५ जना नेपाली हुनुहुन्छ । आफूले जस्तै व्यवसाय सञ्चालन गरेर र त्यहाँकै नागरिकको परिचय बनाएर बसेकाहरू भने चार जना मात्रै रहेको मैनालीको भनाइ छ । 

पहिलो नेपाली अनुवादक

अहिले पनि विभिन्न मुलुकबाट अमेरिका पु-याइदिन्छु भन्दै मानव तस्करीको घटना दिन प्रतिदिन बढिरहेको छ । यसरी तस्करी गरेर अमेरिका लैजाने गिरोहले कोलम्बियालाई सजिलो बाटो ठान्छन् तर धेरै विदेशी कोलम्बिया पुगेपछि पक्राउ पर्छन् । उनीहरूको अमेरिका पुग्ने सपना त्यहीँ तुहिन्छ । पक्राउ परेकाहरूलाई भाषाको समस्याका कारण आफूहरू को हो र कहाँ जान लागेको भन्नेबारे बताउने मौकासमेत मिल्ने गरेको थिएन । त्यही समस्या देखेर मैनालीले स्वयंसेवकका रूपमा कोलम्बिया अध्यागमनमा दोभाषेका रूपमा काम गर्ने इच्छा प्रकट गर्नुभयो । उहाँको यो इच्छालाई अध्यागमनले सहजै स्वीकार ग-यो । अध्यागमनमा उहाँ दोभाषेका रूपमा काम गर्ने पहिलो नेपाली बन्नुभयो । 

मैनालीको अनुभवमा अमेरिका पु-याइदिन्छु भन्दै ठग्ने गिरोहका सदस्य नेपालका हरेक गाउँमा सक्रिय छन् । यसरी दूरदराजका युवालाई अमेरिका उडाइदिने सर्तमा मानव तस्करले २० देखि ५० लाख रुपियाँसम्म लिने गरेका छन् । विशेषगरी पश्चिम नेपालतिर यस्तो गिरोह बढी सक्रिय देखिन्छ । उनीहरूले गाउँका युवालाई ग्यारेन्टीका साथ अमेरिका पु-याइदिने सपना बाँड्छन्, अनेक प्रलोभन देखाउँछन् । पैसा तिरेपछि उनीहरूको नर्कको यात्रा सुरु हुन्छ । यो यात्रामा ती युवाले जीवनको आशा नै मार्नुपर्नेसम्म हुन्छ । मैनाली अनुभव सुनाउनुहुन्छ, “यस्ता प्रशस्तै घटनालाई मैले नजिकबाट साक्षात्कार गरेको छु तैपनि नेपाली हुन् या अन्य मुलुकका नागरिक नै किन नहुन्, अमेरिका भनेपछि हुरुक्कै हुन्छन् ।”

मैनालीले नेपाली भाषा अनुवादकका रूपमा दुई वर्षजति काम गर्नुभयो । त्यतिबेला अमेरिका जाने क्रममा पक्राउ परेका थुप्रै नेपालीसँग उहाँले अन्तर्वार्ता लिनुभएको थियो । “अवैध आप्रवासीलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिकोसम्म पु-याउने गरिन्छ । मैले थाहा पाएसम्म ९८ प्रतिशतभन्दा बढी आप्रवासीलाई ट्रक र कन्टेनरमा लगिएको हुन्छ । हरेक ल्याटिन अमेरिकी देशमा रहेका दलालले अत्यन्त जोखिमसाथ उनीहरूलाई स्थल वा जलमार्ग पार गराउँदै मेक्सिको पु-याउँछन् । मेक्सिको अमेरिका छिर्ने एक मात्र मार्ग हो,” मैनाली अनुभव सुनाउनुहुन्छ ।

जङ्गलको बाटोमा हिँडेर जाँदा भने निकै नै दुःख र कष्ट भोग्नुपर्छ । कतिपयको त हिँड्दा हिँड्दै बाटोमा नै ज्यान जान्छ । स्थलमार्गबाट जाँदा कैयौँ दिनसम्म हिँड्नुपर्ने भएकाले कतिपयले मेक्सिकोसम्म पुग्न हवाईजहाज पनि प्रयोग गर्छन् । यतिसम्म कि त्यो देशमा पुगेपछि एजेन्टलाई पैसा खुवाएर स्थानीय नाममा नै पासपोर्ट बनाइदिएका हुन्छन् । त्यहीँको स्थानीय नाम, स्थानीय ठेगाना राखेर नक्कली पासपोर्ट बनाइदिन्छन् । यस्तो नक्कली पासपोर्ट बोकेर ल्याटिन अमेरिकी मुलुकमा यात्रा गर्ने क्रम बढ्दो क्रममा छ । धेरै दुःख पनि त्यस्तै व्यक्तिले पाउने गरेका छन् ।

दलालले बाटोमा रुट पर्ने हरेक देशका स्थानीय दलाललाई पैसा दिएका हुन्छन् । उनीहरूले आफ्नो देशको सीमा कटाएर अर्को देशको सीमासम्म छोड्ने काम गर्छन् । त्यसपछि अर्को देशको दलालको जिम्मामा यो काम पर्छ । अर्को मुलुकमा फेरि अर्को दलाल तयार भएर बसेको हुन्छ । बीचमा कुनै बाधा–व्यवधान भएन भने नेपालबाट हिँडेको कम्तीमा दुई साताभित्र ल्याटिन अमेरिका पुग्छन् । ट्रान्जिट, भिसा र अन्य प्रक्रियाले गर्दा अलि बढी समय पनि लाग्न सक्छ । 

यी सबै प्रक्रिया दलालले नै सेटिङमा मिलाउँछन् । धेरै नेपालीसहित भारतीय र बङ्गलादेशी सुरुमा ब्राजिल पुग्छन् । त्यहाँसम्म उनीहरू हवाई यात्राबाट पनि जाने गरेका छन् । यहाँसम्म वैध भएर गए पनि यसपछि उनीहरूको अवैध यात्रा सुरु हुन्छ । उनीहरूको ब्राजिलमा पाइला टेकेपछि स्थलमार्गबाट यात्रा अगाडि बढ्छ । अनि पेरु, इक्वेडोर, कोलम्बिया, पानामा र कोस्टारिका हुँदै दलालले मेक्सिकोसम्म पु-याउँछन् ।

मैनालीको जन्म नेपालको सिन्धुलीमा भए पनि बसाइ सर्लाही थियो । हाल उहाँ कोलिम्बयाको स्थायी बासिन्दा हुनुहुन्छ । पछिल्लो समय भने उहाँ मानव तस्करीविरुद्ध विभिन्न जनचेतनामूलक गतिविधिमा सक्रिय हुनुहुन्छ । कोलम्बियामा राम्रै चलेका सम्पूर्ण व्यवसाय त्यागेर उहाँ यस्तै चेतनामूलक काममा अहिले सक्रिय हुनुहुन्छ । पचासौँ लाख रुपियाँ बुझाएर अनिश्चित भविष्य बोक्दै विदेश जानुभन्दा त्यो रकम यतै लगानी गरेर व्यवसाय सुरु गर्न सके लाखौँ गुना फाइदा हुने मैनालीको विश्वास छ । नेपाली युवालाई उहाँको अनुरोध छ, “गिरोहको चङ्गुलमा फसेपछि अमेरिका त पुगिँदैन नै, जीवन पनि बीच बाटोमै सकिन सक्छ । तसर्थ यस्ता काममा लाग्नुभन्दा अघि सयौँ पटक सोच्नुपर्छ ।”

मानव तस्करीविरुद्ध लागेकै कारण उहाँ कोलम्बिया अध्यागमनमा परिचित हुनुहुन्छ । मैनाली भन्नुहुन्छ, “अध्यागमनमा मैले स्वयंसेवीका रूपमा पु¥याएको योगदानको अहिले पनि प्रशंसा हुन्छ ।” 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।