शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फर्केर हेर्दा एकपल्ट
आफ्नै यात्रालाई
कति भेटिए
कति छुटिए
भेट्नु छुट्नुको यो अन्तरालमा
साटिएका समयहरू
बाँडिएका खुसियालीहरू
सुन्दर अनि प्यारो
सम्झना भएर रहेको छ
भनभरि ।
एक्लोपनको आभासमा
तिनै सम्झनाका पोकाहरू
एकपछि अर्को
फुकाल्दै नियाल्दै
समय भर्ने गर्छु ।
तिमीलाई के थाहा
बिदाइका पलहरूले दिएको
त्यो कष्ट अनि घाउ
अझै पुरिएको छैन
मलम नलगाएको पनि हैन
नसुमसुम्याएको पनि छैन
तैपनि खालिपन
अझै भर्न सकेको छैन ।
मनभित्र कसैले कसैको ठाउँ
लिनै सक्दैन
एउटा एउटा खण्डमा
मलमलले बेरेर
समालेर राखेका परिचयहरू
त्यो मनले मात्र बुझ्छ
मनले मात्र छाम्छ
शब्द जरुरी छैन
वाचा बन्धनबाट पर
सिङ्गै आकाशमा उड्ने
मुक्त पन्छी जस्तै
छ त्यहीँ छ
देखिँदैन
पुसको शितमा
न्यानोपना दिइरहन्छ
बलेको मनलाई
पानीले धोइरहन्छ
र पटक पटकको मृत्युमा
बाँच्ने ऊर्जा दिइरहन्छ ।