• १३ मंसिर २०८२, शनिबार

पुस्तक

बखानमा चितवनको कथा

blog

वसन्त पराजुलीद्वारा लिखित ‘बखान’ लेखकको चौथो कृति हो । उपन्यास भने यो नै पहिलो हो । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष पराजुली अखबारी लेखनमा सक्रिय हुनुहुन्छ । त्यसका साथसाथै साहित्य लेखनमा समेत पराजुलीको सक्रियता प्रशंसायोग्य छ ।

नेपालको पहिलो सहकारीका प्रणेता बखानसिंह गुरुङको डायरीबाट प्रथम वचनमा जसरी उपन्यासलाई प्रस्तुत गरिएको छ, त्यो प्रस्तुतिले पाठकलाई एक हदसम्म बखानसिंह गुरुङको नजिक पु¥याएको महसुस हुन्छ । राणा शासन अन्त्यदेखि बहुदल प्राप्तिसम्मको समय परिवेश र समग्र नेपाली समाजलाई पनि केही खोतलेर लेखकले आफ्नो अध्ययन र लगावको गहिराइ देखाउनुभएको छ ।

पात्र परिचय

बखानसिंह गुरुङ प्रमुख पात्र रहेको यस उपन्यासमा विशेष गरेर अन्य पात्र उहाँकै परिवारका सदस्य हुनुहुन्छ । सँगसँगै उहाँले विभिन्न समयमा भेट्नुभएका पात्रलाई सहायक पात्रका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा मूल कथा मात्र रहेकाले अन्य पात्रको उपकथालाई समेटिएको छैन । यसले गर्दा अन्य पात्रको परिचय मात्र उल्लेख छ यद्यपि उपकथाले मूल कथालाई सहयोग नै गर्ने हुन् । यसले गर्दा उपन्यास व्यक्तिवादी अथवा उपन्यासमा मूल पात्र मात्र हाबी भएको महसुस हुन सक्छ । बखानसिंह गुरुङको यात्रामा चितवनको बस्ती विकास गर्नेदेखि सहकारी स्थापना गर्नेसम्म र समग्र देशको राजनीतिक यात्रामा भेट्नुभएका अन्य पात्र यस उपन्यासका सहायक  पात्र हुन् । लेखकले अन्य पात्रको पनि कथालाई समेट्न सकेको भए मूल पात्रको सोच र सान्दर्भिकतामा थप बल पुग्ने थियो ।

कथा र परिवेश

विशेष गरेर यो उपन्यास बखानसिंह गुरुङको कथा हो तर यस उपन्यासमा बखानसिंह गुरुङद्वारा आफ्नो व्यक्तिगत जीवनभन्दा पनि चितवनको बस्ती विकास (यद्यपि बसाइँसराइ उहाँको नितान्त रहरभन्दा केही हदसम्म बाध्यता जस्तो बुझिन्छ) लाई राखेको बुझिन्छ । चितवनको बस्ती विकाससँगसँगै देशको राजनीतिक घटनाव्रmम र त्यसमा संलग्न भएकाले बखानसिंहमाथि परेको प्रभाव पनि यसमा देख्न सकिन्छ यद्यपि ती असरको भाव र गहिराइलाई अझ जीवन्त रूपमा प्रस्तुत गर्न सकिने पर्याप्त स्थान थिए । समग्र राजनीतिक उथलपुथलले चितवनमा कस्तो असर परेको थियो भन्ने कुराको विस्तृत विषय अलि अपूरो जस्तो महसुस हुन्छ । हुन त यो डायरी बखानसिंह गुरुङको थियो र त्यो समय उहाँ बाहिरबाट राजनीतिक क्रियाकलापमा संलग्न हुनुभएको बुझिन्छ । तथापि चितवन आएको बखत सहायक पात्रमार्फत थप विषय उजागर गर्न मिल्ने सम्भावना थियो तर लेखकले सो कुरालाई केही हदसम्म सम्बोधन गर्नुभएको छ । उपन्यासमा राप्तीवारिपारिका किस्सा प्रसङ्ग, महेन्द्र राजासँगका प्रसङ्गले कथानकमा रोचकता थपेको छ यद्यपि छोराहरूको भूमिका र योगदानलाई थप विस्तृत रूपमा प्रस्तुत गर्न सकिने ठाउँहरू भएको महसुस हुन्छ । परिवेश र समाजको कुरा गर्दा लेखकले राणा शासन अन्त्यदेखि प्रजातन्त्र प्राप्ति र राजा महेन्द्रले सत्ता हातमा लिएर देशमा परेको राजनीतिक परिवेशलाई जोड्नुभएको छ । 

समाज र संस्कृति

लेखकले त्यो बेलाको समाजलाई देखाउन बहुविवाहको कुरा, विभिन्न जातजातिका चाडपर्वको प्रसङ्ग र एकअर्कालाई सहयोग गर्ने भावना पनि देखाउनुभएको छ । यो उपन्यासको बलियो पक्ष नै मध्यपहाडी क्षेत्रबाट बसाइँसराइसँगै चितवन भित्रिएका संस्कृतिलाई जस्ताको तस्तै प्रस्तुत गरिनु हो । यो उपन्यासमा गुरुङ जातिको मृत्यु संस्कार (अर्घु) र नेवार जातिको मृत्यु संस्कार रामायणको प्रस्तुतिले उपन्यासलाई बलियो बनाएको छ । अझै चितवनका आदिवासी थारूहरूको धर्मसंस्कृति र रीतरिवाज उपन्यासमा थपिँदा बहुजाति बहुभाषी चितवनमा संस्कृतिको पनि आआफ्नै महत्व छ भन्ने कुरा उपन्यासमा देखाइएको छ । 

चितवनको बस्ती विकास गर्न बखानसिंह गुरुङको अनुरोधलाई स्विकारेर बसाइँसराइ गर्ने छिमेकी हुन् वा एकअर्काप्रति सहयोग गर्ने नियतसाथ स्थापित सहकारी, सबै प्रसङ्गले त्यो समयको समाजको चित्रण गरेको छ । यस पुस्तकको सबल पक्ष यसले सम्बोधन र सम्मान गरेको सांस्कृतिक पक्ष पनि हो । विशेष गरेर गुरुङ समुदायको सांस्कृतिक पक्षलाई लेखकले यस पुस्तकमा मेहनतसाथ प्रस्तुत गर्नुभएको छ । गुरुङ समुदायमा मृत्युपछि गरिने धार्मिक, सांस्कृतिक रीतिरिवाजसँगै विभिन्न समय चरणमा अन्य जनजाति र समुदायका धार्मिक, सांस्कृतिक गतिविधिलाई पनि यस पुस्तकमा समावेश गरिएको छ ।

विशेष रूपमा चितवनको बस्ती विकासका क्रममा बसाइँ सरेर बखानसिंह गुरुङ, आफू र आफ्ना नातेदार, छिमेकी मात्र नभई आफूहरूसँगै संस्कार, संस्कृति, रीतिथिति पनि चितवनमा ल्याएको विषय स्पष्ट देखिएको छ ।

यसले यस पुस्तकको सार्थकता र सान्दर्भिकतामा अभिवृद्धि गरेको छ । चितवनको बस्तीसँगसँगै संस्कार र संस्कृति पनि विकास भएको देखिन्छ ।  

भाषाशैली र प्रस्तुतीकरण

यस उपन्यासलाई बखानसिंह गुरुङको डायरीबाट उहाँको प्रथम वचनमा प्रस्तुत गर्नु नै लेखकको सबैभन्दा उत्कृष्ट निर्णय हो भन्ने मलाई लाग्छ । यसले गर्दा पाठक बखानसिंह गुरुङको थप निकट पुगेको आभास हुन्छ । पत्रकारका रूपमा लामो समय अनुभव लिइसक्नुभएका र यसअघि तीन वटा कृति (कुमाता, मोम्चो र ड्रिमी आइज) पनि प्रकाशित भइसकेको अवस्थामा पुस्तकमा लेखकको लेखकीय गुणस्तर देखिन्छ । वाक्य गठन छोटो र छरितो छ तर उपन्यासको भाषाशैली र लेखनीमा पत्रकारिताको रङ र गन्ध कता कता महसुस हुन्छ । यसलाई म दुवै रूपमा हेर्न सक्छु । पहिलो त उपन्यासको लेखनशैलीमाथि अपभ्रंश वा उपन्यासको शैलीमाथिको प्रयोग तर जे भए पनि उपन्यासको लेखनी राम्रो छ । यसले गर्दा पाठकलाई पढ्न अल्छी लाग्दैन र सकेसम्म एकै बसाइमा सक्न खोज्नुहुन्छ । भाषामा स्थानीय शैलीले पाठकलाई तान्छ । उपन्यासमा प्रयुक्त लवज र जातजातिका मौलिक भाषाको प्रयोगले पनि पुस्तक पठनीय लाग्छ । 

उपसंहार

पुस्तक प्रकाशनको भिडमा शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तक चितवनको विकास प्रसङ्ग बुझ्नका लागि र एक सच्चा नेपालीले गरेको सङ्घर्ष त्याग, बलिदान र योगदान बुझ्नका लागि अत्यन्त उपयोगी छ । हुन त लेखक स्वयम्ले नै यो पूर्ण रूपमा बखानसिंह गुरुङको जीवनी मात्र होइन भनेर भनिसक्नुभएको अवस्थामा यस उपन्यासमा धेरै व्यक्तिगत पाटा नपर्नु स्वाभाविक हुन् । उपन्यासमा केही काल्पनिकताका लेप हुनु पनि पठनीय रूपमा रोमाञ्चित छ । सँगसँगै इतिहासको एउटा कालखण्ड नै छोएको यस पुस्तकले अत्यन्त गहिराइका साथ त्यो कालखण्ड बोक्न र सोको जिम्मेवारी लिन सक्दैन तर चितवनको बस्ती विकाससँगसँगै विकासपूर्वको चितवनको महत्व बुझाउन सक्छ ।  यस उपन्यासले एक व्यक्तिको, एक समाजको र केही हदसम्म एउटा देशको यात्रा देखाउँछ । यो उपन्यास बखानसिंह गुरुङको सङ्घर्षको कथा हो । चितवन जिल्ला आफैँको सङ्घर्षको कथा हो । केही हदसम्म राजनीतिले असर पारेको देशको सङ्घर्षको कथा हो । समग्रमा भन्नुपर्दा यो सङ्घर्षको कथा हो । एक इतिहासको कथा हो । यो एक पठनीय र सङ्ग्रहणीय पुस्तक हो भन्ने मलाई लाग्छ ।