• ५ वैशाख २०८१, बुधबार

'नीफ'मा ३५ देशका ९५ चलचित्र प्रतिस्पर्धामा

blog

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) काे घाेषणा कार्यक्रम । तस्विर : सागर बस्नेत ।

काठमाडौं, माघ ११ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा यो वर्ष ३५ देशका ९५ वटा चलचित्रहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रूपमा महोत्सवको आयोजना गर्दै आएको हो । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका लागि विश्वका विभिन्न ५५ देशबाट पाँच सयभन्दा बढी चलचित्र प्राप्त भएको जानकारी दिनुभएको हो । 

यसपटक 'नीफ'का प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिने अध्यक्ष पाठकले बताउनुभयो । क्युएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर र सिभिलमल, ललितपुरको लबिम मल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने भएको छ । 

महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिने र चलचित्र क्षेत्रका ख्यातिप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरूको सहभागितामा विभिन्न कार्यक्रम, अन्तरक्रिया र छलफल कार्यक्रमसमेत हुने बताइएको छ । 

कार्य्रक्रमका प्रमुख अतिथि भुवन केसीले महोत्सवमा छानिएका फिल्महरू क्युएफएक्सले हलमा देखाउने निर्णय गरेको प्रशंसनीय रहेको बताउनुभयो । यसै गरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र विकास र्बोडको निरन्तर सहयोग रहनेसमेत प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले 'नीफ'ले नेपाली फिल्मलाई विदेशमा चिनाउन र विदेशी फिल्मलाई नेपालमा चिनाउन मद्दत गरेकोमा खुसी व्यक्त गर्नुभयो । ‘यस वर्षदेखि 'निफ'ले क्यूएफएक्ससँगको सम्झौता र दोस्रो माया एनिमेसन एकेडेमीसँगको मित्रता जोड्न सफल भएको छ,” उहाँले भन्नुभयो, “चलचित्र महोत्सव र कार्यक्रम वर्षभरि नै चल्ने गर्छ तर हामीले उच्च स्तरबाट मूल्याङ्कन गर्नुपर्ने इभेन्ट हो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ।” 

चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले निफजस्ता फेस्टिभल गर्न मेहनत लाग्ने र नेपाली फिल्मको विकासमा निफको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

यस्तै, निर्देशक सरिता गिरीले 'नीफ'लाई पुराना फिल्म निर्देशकसँगै नयाँ पुस्ताका लागि पनि यो ठूलो उत्सव भएको बताउनुभयो । सुरुवातका दिनमाभन्दा आज यो महोत्सव अझै वृहत् भएको उहाँको अनुभव छ । 

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहसँगै गौरी मल्ल, दीपा श्री निरौला, रेजिना उप्रेती, कलाकार निर्मल शर्मा, निर्देशक सरिता गिरी लगायतको उपस्थिति थियो । 

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको यो फेस्टिभलको छैटौँ संस्करण २०२३ चैत दुई गतेदेखि ६ गतेसम्म हुनेछ ।