काठमाडौं, माघ १० गते । लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका युवाको कथामा आधारित वेब सिरिज ‘बिकमिङ’ सार्वजनिक भएको छ । 'नीलहीरा समाज' र 'सेभ द चिल्ड्रेन'को संयुक्त निर्माणमा बनेको यो सिरिजलाई अभिनेत्री लुनिभा तुलाधरले निर्देशन गर्नुभएको हो ।
अभिनेत्री तुलाधरले समलिङ्गी समुदायको युवाको कथामार्फत उनीहरूले पहिचानका लागि गर्ने सङ्घर्ष र सामना गर्नुपरेको चुनौतीलाई वेब सिरिज प्रस्तुत गरिएको बताउनुभयो ।
अभिनेत्री तुलाधर भन्नुहुन्छ, “पहिले पनि चलचित्र र नाटकमा क्वयेर समुदायको प्रतिनिधित्व हुन्थ्यो । तर, जिस्काउने र उडाउने पात्रको रूपमा मात्रै उहाँहरूको अभिनय रहन्थ्यो । केहीले भने समावेशीको लागिसमेत राख्थे। जबदेखि मैले क्वयेर नाटकहरू पढ्न थालेँ, मलाई सिनेमा वा टेलिभिजनमा पनि क्वयेर कथाहरू आउनुपर्छ भन्ने लाग्थ्यो त्यसैले यस सिरिजमा हामीले ६० प्रतिशत एलजीबीटीक्यूआई समुदायलाई नै राखेका छौँ ।”
सिरिजको पहिलो भागमा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका युवाको दुबिधालाई आफ्नै घर परिवारबाट नबुझेको अवस्थालाई प्रस्तुत गरिएको छ । आफ्नो इच्छा र आकाङ्क्षालाई भुलेर यी समुदायका युवाहरू घरपरिवारको खुसीमा जीवन बाँच्न बाध्य छन् । यस एपिसोडमा आफूलाई बुझ्नकै लागि सङ्घर्ष गरिरहेकी प्रकृति पात्रलाई देख्न सकिन्छ ।
यस शृङ्खलामा निर्देशक तुलाधरसहित अमृत दाहाल, अदिति शेर्पा, निर्भीक भट्टराई, युनिश गुरुङलगायतको अभिनय छ ।