• १० मंसिर २०८१, सोमबार

जिम्मेवारपूर्ण पत्रकारिता

blog

माघ ५ मा प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस पार्टी प्रमुख विपक्षी दल रहन नसक्ने जिकिर गर्नुभयो । सांसद सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दलमध्ये नेमकिपा सबैभन्दा ठूलो दलले भएकोले सङ्घीय कानुनबमोजिम विपक्षी दलको नेता तोकेर मात्र अरू प्रक्रिया अघि बढाउन संसद् सचिवालयको ध्यानाकर्षण गराएका थिए । नेमकिपाले विपक्षी दलको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएको छ । अर्कातिर संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग दाबीसहित संसद् सचिवालयमा निवेदन दिएको छ । विपक्षी दलको नेताको दाबी गर्दै सांसद सुवालले संसद्मा यस्तो भनाइ राखेको दुई दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारी ७ माघको अपराह्न ४ बजे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको निवास भक्तपुर पुगेर करिब ४५ मिनेट कुराकानी गर्नुभयो । राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेबीच भएको कुराकानीबारे राष्ट्रपति कार्यालयले औपचारिक रूपमा केही पनि जानकारी केही गराएको छैन । यस्तो भेटका विषयमा सञ्चारमाध्यमले चासो राख्ने गर्छन् । कहिलेकाहीँ सत्यतथ्य सूचना नपाउँदा मिडियाले अनुमान पत्रकारिता गरेका छन् । सत्य, तथ्यजस्ता पत्रकारिताको मूल मर्म र भावनालाई बिर्सेर गरिने अनुमानकारिताले सिङ्गो पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न पैदा गर्छ । सत्य, तथ्यलाई बिर्सेर वा सत्य, तथ्यको खोजी नगरी हल्ला, अनुमान र अफवाहका आधारमा प्रकाशित, प्रसारित समाचार सामग्रीले अन्ततः ‘कन्स्पिरेसी’ जन्माउने मात्र काम गर्छ । 

पत्रकारिताको इतिहास त्यति धेरै लामो नभएको नेपालको सन्दर्भमा राजनीति, हत्या, हिंसा, चोरी, बलात्कार, यौन, अपराध नै रिपोटिङका प्रमुख विषयवस्तु हुने गर्दथ्यो । राजनीतिक र सामाजिक क्षेत्रमा जस्तै पत्रकारितामा पनि बाहिरी दुनियाँको देखासिकी हुन थालेको सन्दर्भमा लुकेका, लुकाइएका वा लुकाउन खोजिएका विषयको गहिराइमा पुगेर खोजपूर्ण समाचार लेख्ने दक्ष पत्रकार उत्पादन गर्न द राइजिङ नेपालका पूर्वसम्पादक भारतदत्त कोइरालाको अग्रसरतामा २५ वर्षअघि खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल नामक संस्था स्थापना गरिएको थियो । फिलिपिन्स सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (पीसीआइजे) पछि एसिया भरमै खोज पत्रकारिताको संस्थागत अभ्यास गर्ने दोस्रो संस्था बन्न पुग्यो खोपके । केन्द्रको मूल उद्देश्य सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिका विरुद्ध खबरदारी गर्दै नीति निर्माण तहको ध्यानाकर्षण गराउनु नै हो । त्यसका लागि केन्द्रले पत्रकारलाई तालिमसँगै मेन्टरिङ र खोजमूलक स्टोरी उत्पादनमा आफूलाई केन्द्रित गर्दै आएको छ । केन्द्रबाट सञ्चालित तालिममा अहिलेसम्म पाँच सयभन्दा बढी पत्रकार सहभागी भइसकेका छन् । सन् २०१५ यता मात्र करिब आठ सय खोज रिपोर्ट प्रकाशित भएका छन् । यति मात्र होइन, केन्द्रबाट सञ्चालन हुने तालिमबाट पत्रकारको क्षमता, दक्षता र दैनन्दिनको पत्रकारिता अभ्यासमा समेत गुणात्मक सुधार भएको छ । 

स्थापनाको २५ वर्षमा केन्द्रले निरन्तर गरिरहेको प्रयास र सञ्चारमाध्यममा समेत बढ्न थालेको खोज रिपोर्टिङको अभ्यासले नेपालमा खोज पत्रकारिता, पत्रकारिताको सर्वाधिक चासो र महìवको विधाका रूपमा स्थापित भइसकेको छ । जसले गर्दा पत्रकारमा यसप्रतिको लगाव अनि पाठकको चासो दिनहुँ बढ्दो छ । घटनासँग सम्बन्धित विषयवस्तुका सबै प्रमाण जुटाउन पर्याप्त समय खर्चेर तयार पारिएका खोजपूर्ण समाचारको विश्वसनीयताका कारण मूलधारका सञ्चार माध्यमले त्यस्ता सामग्रीलाई प्राथमिकता दिँदै आएका छन् । केन्द्रले तयार पारेका सामग्रीप्रति सम्पादकको स्वीकार्यता यसबाटै प्रस्ट हुन्छ । 

यसै सन्दर्भमा खोपके नेपालले ७ माघमा सम्पादकलाई धुलिखेलमा निम्ता गरेर समाचार र समाज विषयमा चिन्तन शिविर आयोजना ग-यो । चिन्तन शिविर नाम दिइएको भेलामा राजनीतिक विश्लेषक हरि शर्माको टिप्पणी यस्तो थियो, ‘शक्ति केन्द्रमा बस्नेले समयमा सही सूचना नदिँदा पत्रकारले हल्लाका भरमा समाचार लेख्ने गरेका छन् । जब पत्रकारले आफ्नो दायित्व भुलेर हल्लाका भरमा समाचार लेख्छन् त्यसबाट मिस कम्युनिकेसन हुन्छ ।’ अनि मिस कम्युनिकेसनले समाजलाई मिस गाइड गर्छ । त्यसबापत समाजले कतिपय अवस्थामा ठूलै मूल्य चुकाउनुपर्ने पनि हुन सक्छ । त्यसैले सम्पादकलाई साक्षी राखेर राजनीतिक विश्लेषक शर्माले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिएका हुन् । 

अफवाह र हल्लाको सूचनामा भर पर्ने समाज र समाजका सदस्य कमजोर हुन्छन् । जुन समाजमा राजनीतिक नेतृत्वले कुनै विषयवस्तुमाथि टिप्पणी गर्दा सत्य, तथ्य सूचनाका आधारमा गरेको पाइँदैन । राजनीतिक नेतृत्वले तथ्य र प्रमाणका आधारमा नभई समाजमा चलेको हावाअनुसार जनमत आकर्षित गर्न ‘इमोसन’ मा आएर भनाइ राख्ने गरेको पाइन्छ । प्रजातान्त्रिक संस्थाहरू धराशायी हुँदै गएको सन्दर्भमा पछिल्लो समय खासगरी नेपालको बौद्धिक जगत्ले मिडियाको भूमिका थप सशक्त हुनुपर्ने महसुस गर्न थालेको छ । किनभने जनमत निर्माण गर्ने सन्दर्भमा सबैभन्दा महìवपूर्ण भूमिका मिडियाको नै रहेको हुन्छ । अर्कातिर, नेपालमा प्रजातन्त्र स्थापना वा पुनस्र्थापनाका लागि भएका हरेक आन्दोलनमा पत्रकारिता क्षेत्रको अहम् भूमिका रहेको इतिहास साक्षी छ । 

प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र प्रेसस्वतन्त्रता सुनिश्चित हुने भएकोले आफ्ना पेसागत र व्यावसायिक मुद्दाहरू थाती राखेर पछिल्लो समय २०६२÷६३ को आन्दोलनका बेला पत्रकारहरू सडकमा उत्रिएका थिए । एक किसिमले भन्ने हो भने त्यो उनीहरूको बाध्यता पनि थियो । किनकि समाजमा प्रेस र प्रजातन्त्रको सम्बन्ध ज्यादै घनिष्ठ रहेको हुन्छ । एउटाको अनुपस्थितिमा अर्काको अस्तित्व रहँदैन । अर्थात् उनीहरू एकअर्काका पर्यायका रूपमा रहेका हुन्छन् । मिडियामार्फत समयमै प्रवाह गरिने सही सूचनाले अन्ततः प्रजातान्त्रिक शासन व्यवस्थालाई नै बलियो बनाउँछ । तर सूचनाप्रतिको विश्वास नभएमा न पत्रकारिता अघि बढ्न सक्छ, न त त्यस्तो पत्रकारिताले प्रजातान्त्रिक पद्धतिलाई बलियो नै बनाउँछ । राजनीतिक विश्लेषक हरि शर्मा सार्वजनिक महìवका विषयमा छलफल गर्ने ठाउँ खुम्चिँदै गएको सन्दर्भमा पत्रकारिताले खासगरी राजनीतिक नेतृत्व र तिनका क्रियाकलापबारे प्रश्न गर्ने ‘स्पेस’ सिर्जना गर्नुपर्नेमा जोड दिन्छन् । हुन पनि समाजमा हुने बहस र छलफलले अन्ततः लोकतान्त्रिक पद्धतिलाई नै बलियो बनाउँछ । कुनै पनि विषयमा नागरिकले आफ्ना असहमति राख्न पाउनु प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष हो ।