शिक्षा भनेको कुनै पनि राष्ट्रको भविष्य निर्माण गर्ने आधारशिला हो किनकि, उचित शिक्षाको व्यवस्थाले गर्दा मुलुक सभ्य र समृद्ध बन्छ । आधुनिक शिक्षाको लक्ष्य विद्यार्थीलाई ज्ञान, सिप र आलोचनात्मक सोच प्रदान गर्नु हो । हाम्रो शिक्षा प्रणालीमा सिकाइ र परीक्षा प्रणालीबिच सन्तुलन कायम गर्न नसक्दा विद्यार्थीको समग्र शैक्षिक विकासमा चुनौती देखिएको छ । सिकाइमा सुधार र परीक्षा प्रणालीमा सुधार दुवै महत्वपूर्ण छन् । अझ योभन्दा महत्वपूर्ण सिकाइमा सुधार गर्दै परीक्षाको नतिजामा सुधार गर्नु नै मुख्य कुरा हुन आउँछ । सिकाइ भनेको विद्यार्थीको बौद्धिक, भावनात्मक र व्यावहारिक विकासको आधार हो । शिक्षाको मुख्य आधारभूत तह भनेको विद्यालय नै हो ।
विद्यालय तहमा विद्यार्थीले के कति सिक्यो, उसको क्षमता अर्थात् ल्याकत जाँच्ने भनेको पहिलेको एसएलसी र अहिलेको एसइईले गर्छ भन्ने आममान्यता छ । यस वर्षको एसइईको नतिजाले गत वर्षको तुलनामा करिब १४ प्रतिशत वृद्धि भएको देखाएको छ । एकै वर्षमा चौध/चौध प्रतिशतले नतिजा बढ्नु राम्रो त पक्कै पनि हो तर अब प्रश्न उठ्छ वास्तवमै विद्यार्थीको सिकाइको स्तरमै सुधार भएर नतिजा बढ्यो या परीक्षा प्रणालीका प्राविधिक पक्षमा सुधार गरेर बढ्यो या परीक्षा प्रणाली कमजोर भयो ? हाम्रो शिक्षा प्रणाली एवं शिक्षणमा सिकाइभन्दा पनि घोकाइ र रटाइमुखी पद्धति हाबी छ । अधिकांश विद्यालय अझ विशेष गरी संस्थागत विद्यालयले विद्यार्थीको सिकाइको स्तर सुधार गरेर नतिजा राम्रो ल्याउनेभन्दा पनि विद्यार्थीलाई नमुना प्रश्नपत्र रटाउने र विद्यालयको ग्रेड अब्बल देखाउने कार्यमा अभ्यासरत देखिन्छन् भने सरकारी/सामुदायिक विद्यालयमा सिकाइको स्तर तुलनात्मक रूमा कमजोर रहेको विभिन्न अध्ययन एवं अनुसन्धानले देखाएको छ । खासमा हुनुपर्ने के हो त ? नतिजामा अब्बल देखिने या वास्तवमै सिकाइको स्तर सुधार गरी नतिजा अब्बल ल्याउने ?
सिकाइलाई नै सुधार गर्दै नतिजा राम्रो ल्याउन विद्यालयमा कक्षाकोठा नै प्रभावकारी हुनु पर्छ । कक्षामा एउटा उत्प्रेरित शिक्षकले नै विद्यार्थीलाई उत्प्रेरित गर्न सक्छ । किनकि कक्षा कोठामा सबैभन्दा शक्तिशाली भनेको शिक्षक हो र सबैभन्दा महìवपूर्ण पक्ष भनेको विद्यार्थी हो । विद्यार्थीमा सिक्ने तत्परता भएन र शिक्षक स्वयम् उत्प्रेरित भएन भने कक्षा कोठाको शिक्षण प्रभावकारी हुन सक्दैन फलस्वरूप सिकाइ उपलब्धि पनि कमजोर रहन्छ । यसका अलावा कक्षा कोठाको वातावरण, अभिभावकको सहयोग, पाठ्यक्रम र अन्य तत्वहरूले पनि सिकाइमा प्रभाव पारेको हुन्छ । सिकाइ क्षमता सबैको बराबर नभए पनि हरेक विद्यार्थीले केही न केही सिकेकै हुन्छन् ।
विद्यालयको लक्ष्य यो हुनु पर्छ कि, हरेक विद्यार्थीले उच्चतम सिकाइ उपलब्धि हासिल गर्न सकोस् । हिजो विद्यालयको युनिफर्म लगाउँदा रुने चार/पाँच वर्षको विद्यार्थीदेखि पन्ध्र/सोह्र वर्ष उमेर समूहका सबै विद्यार्थीको मनमा आज यस्तो किसिमको भावना जागोस् कि युनिफर्म लगाएर विद्यालय कुनबेला जान पाइएला र विद्यालयमा गइसकेपछि विद्यालयको परिसर, शिक्षक र साथीहरू छाडेर घर जानै मन नलाग्ने होस् ।
विगतको तुलनामा अहिलेका विद्यार्थीको सोच्ने, समय बिताउने, साथीसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने, पढ्नेलगायत तरिका फेरिँदै गएको अवस्था छ । यस्तो बदलिँदो परिस्थितिमा उपयुक्त किसिमको शैक्षिक वातावरण तयार गरी प्रभावकारी रणनीति विद्यालयले अपनाउनु जरुरी देखिन्छ तर यो भन्न जति सजिलो छ कार्यान्वयन चुनौतीपूर्ण छ किनकि विद्यालयको एउटै कक्षाकोठामा भिन्न सामाजिक, आर्थिक परिवेश, सम्प्रदाय, जातजाति, धर्म, वेशभुषा, रहनसहन, संस्कृति, रीतिरिवाज र परम्पराबाट आएका विद्यार्थी हुन्छन् । उनीहरूको पारिवारिक पृष्ठभूमि र बौद्धिक क्षमता पनि फरक फरक हुन्छ । यस्तो विविधताका बिच उनीहरूलाई एउटै कक्षा कोठामा राखेर पढाउनुपर्ने हुन्छ । कसैले त्यही कक्षामा त्यही शिक्षकले पढाएको कुरा छिट्टै बुझ्छन् भने कसैले ढिलो । यस्तो अवस्थामा विद्यालय र शिक्षकले साझा दृष्टिकोण प्रस्तुत गर्न सक्नु पर्छ, जसले गर्दा तीक्ष्ण क्षमताको विद्यार्थीले पनि त्यही अनुसार सिकोस् र ढिलो सिक्नेले पनि उसकै रफ्तारमा सिकोस् ।
शिक्षण र सिकाइकै सन्दर्भमा ली शुलम्यानको पिसिके (पेडागोजिकल कन्टेन्ट नलेज) सिद्धान्त यहाँनेर उल्लेख गर्नु सान्दर्भिक हुन्छ लाग्यो । यसका मुख्यतः दुई वटा पक्ष छन् : विषयगत ज्ञान र शिक्षण विधि शास्त्र । पहिलो पक्षले शिक्षकमा पढाउने विषयसम्बन्धी विषयगत गहिरो ज्ञान हुनुपर्ने कुरालाई महìवपूर्ण ठाछ भने दोस्रो पक्षले शिक्षकमा विद्यार्थीलाई विषयवस्तु बुझाउने कौशलता अर्थात् आफूले जानेको कुरा विद्यार्थीमा सार्न सक्ने शिक्षण विधि प्रभावकारी हुनु पर्छ भनिएको छ । जुन शिक्षकले शिक्षणलाई कलात्मक र रोचक ढङ्गले प्रस्तुत गर्छ, त्यस्तो शिक्षक विद्यार्थीको मानसपटलमा स्मृतिको शिक्षक बन्न पुग्छ । यी दुवै पक्ष राम्रो भएको शिक्षकले विद्यार्थीमा अन्तरनिहित ज्ञानलाई साँघुरो परिधिबाट झिकेर खुला क्षितिजतर्फ लैजान सक्छ ।
परीक्षा प्रणाली भन्नाले विद्यार्थीको विषय वस्तुसँग सम्वन्धित ज्ञान, सिप र समझको मूल्याङ्कन गर्ने विधि हो । एउटा निश्चित समयमा विद्यार्थीले सिकेको कुरा व्यक्त गर्न सक्ने खुबीलाई जाँच्ने मात्र हो । हालको रटाइ र स्मरणशक्तिमा आधारित परीक्षा प्रणालीले विद्यार्थीको सिर्जनात्मक र विश्लेषणात्मक क्षमतालाई मूल्याङ्कन गर्नेभन्दा पनि वस्तुगत पक्षलाई बढी जोड दिएको पाइन्छ । अझै पनि हाम्रा विद्यार्थी घोक्नु र रट्नुपर्ने पाठ्यक्रम पढ्न बाध्य छन् ।
हामीकहाँ पाठ्यक्रमभन्दा पाठ्यपुस्तक र वास्तविक सिकाइभन्दा परीक्षामुखी प्रवृत्ति हाबी छ । यस्तो प्रवृत्तिले कसैलाई पनि फाइदा हुँदैन न राज्य न त समाज । स्वयम् त्यही विद्यार्थीका लागि पनि बोझ बन्न पुग्छ । एसइईको नतिजा सुधार हुनुमा विद्यार्थीको सिकाइस्तरमा पूर्ण सुधार भएको भन्दा पनि परीक्षा प्रणाली र मूल्याङ्कन प्रक्रियामा रहेका कमीकमजोरीले भूमिका खेलेको हो । दीर्घकालीन र विश्वासनीय सुधारका लागि परीक्षा प्रणालीमा पारदर्शिता, शिक्षक दक्षता अभिवृद्धि र पाठ्यक्रम र मूल्याङ्कन प्रणालीमा तादम्यता एवं समन्वय आवश्यक छ ।
विद्यार्थीले दिनमा २५ प्रतिशत समय मात्र विद्यालयमा बिताउँछ बाँकी ७५ प्रतिशत समय विद्यालय बाहिर अर्थात् अभिभावकसँग । विद्यार्थीको शैक्षिक उपलब्धिमा अभिभावकको अहम् भूमिका हुन्छ । अभिभावकले आफ्ना छोराछोरीको पढाइमा चासो लिनु पर्छ । स्वयम् उनीहरू बेला बेलामा विद्यालय गई बुझ्नु आवश्यक हुन्छ । उनीहरूले आफ्ना छोराछोरीका लागि उपयुक्त वातावरण तयार गर्न सकेमा सिकाइ प्रभावकारी हुँदै परीक्षाको नतिजा पनि राम्रो हुन्छ । विद्यार्थीले सिकेको छ, जानेको छ भने परीक्षा प्रणाली जस्तोसुकै भए पनि परिणाम राम्रो हुन्छ । पेशाप्रति प्रतिबद्ध एवं उत्प्रेरित शिक्षक, जिज्ञासु विद्यार्थी, सचेत अभिभावक चुस्त व्यवस्थापन र जिम्मेवार सरकार भयो भने विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्दै परीक्षाको नतिजा सुधार्न सकिन्छ ।