प्राचीन कालदेखि नै शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रको भूभाग कब्जा गरी उपनिवेश कायम गरेर त्यहाँको स्रोतसाधनको अधिकतम दोहन गर्दै आएका छन् । फिनिसन र ग्रिकहरूले भूमध्यसागरीय क्षेत्रमा आफ्नो नियन्त्रण बनाए भने रोमनहरूले युरोप, अफ्रिका र मध्यपूर्वका नगर राज्यलाई आफ्नो मातहतमा राखे, व्यापार बढाए । मध्यकालमा इस्लाम धर्मलाई विस्तार गराउने उद्देश्यले अरबीहरू स्पेन र भारतसम्म पुग्न भ्याए ।
पन्ध्रौँदेखि सत्रौँ शताब्दीमा युरोपियन उपनिवेशवादले व्यापकता पायो । विशेष गरी समुद्री बाटोको खोजद्वारा समुद्र पारिका सहर र बस्तीमा युरोपियनको साम्राज्य स्थापना हुन गयो । यो कार्यमा पोर्चुगल र स्पेन अग्रणी रहे । आरम्भिक उपनिवेश स्थापनामा यी दुई देशले अमेरिका, अफ्रिका र एसियामा आफ्नो जालो विस्तार गरे । १४९२ मा कोलम्बसले अमेरिकाको जमिन टेके । अब उपनिवेश कायम गर्ने सवालमा स्पेन र पोर्चुगलबिच द्वन्द्व सिर्जना हुन गयो र १४९४ मा ‘टोर्डेसियस’ सन्धिद्वारा दुवै देशले फरक–फरक उपनिवेश क्षेत्र बाँडफाँट गरे ।
१७ औँ र १८ औँ शताब्दीमा उपनिवेश बनाउने होडमा ब्रिटेन, फ्रान्स, निदरल्यान्डस्, डेनमार्क र स्विडेनले पनि उत्तरी अमेरिका, क्यारेबियन क्षेत्र, पश्चिम अफ्रिका, दक्षिण एसिया र दक्षिण पूर्व एसियामा आआफ्नो उपनिवेश स्थापना गरे । उनीहरूले आफ्नो राजनीतिक शासन स्थापना त गरे गरे, त्यहाँको सामाजिक, सांस्कृतिक र शैक्षिक सम्पदा र सभ्यतालाई समेत भत्काए । आफ्नै शिक्षा प्रणाली लागु गरे । आफ्नै देशको भाषा पढ्न बाध्य पारे, आफ्नै इतिहास पढाए, संस्कृति सिकाए र आफू मात्र सर्वश्रेष्ठ हौँ भन्ने भाष्य सिर्जना गर्दै औपनिवेशिक दासताभित्र रहेकाहरूलाई असभ्य, पटमूर्ख र जङ्गलीको रूपमा चित्रित गरे । यो सर्वश्रेष्ठताको युरोसेन्ट्रिक सोच आजपर्यन्त युरोपमा महसुस गर्न पाइन्छ ।
विऔपनिवेशकीरण
२० औँ शताब्दीको मध्यकालदेखि विऔपनिवेशीकरण (डिकोलोनाइजेसन) को समय सुरु भयो । यसभित्रको प्रमुख चेत थियो उपनिवेशवादको राजनीतिक चङ्गुलबाट जसरी पनि मुक्त हुने र स्वतन्त्र राष्ट्रको हैसियतले विकासनिर्माण गर्दै मुलुकलाई साधन सम्पन्न गराउने । भयो पनि त्यस्तै । उपनिवेशका विरुद्ध लामो सङ्घर्ष भयो । देशहरू स्वतन्त्र भए । हिजोका उपनिवेश कायम गर्ने देशहरू तत् देशबाट फर्के ।
सङ्घर्षरत देशलाई राजनीतिक स्वतन्त्रता प्राप्त भयो । राजनीतिक स्वतन्त्रताले धेरै देशमा प्रजातान्त्रिक शासन प्रणालीलाई स्थापित गर्यो । जनताको आवाज बलियो भयो । निर्वाचित जनप्रतिनिधिले विधि र विधानको चौहद्दीभित्र रहेर शासकीय कार्य सुरु गरे । अब प्रश्न उठ्छ– के साँच्चै औपनिवेशिक दासताबाट औपनिवेशिक राष्ट्रहरूले मुक्ति पाएका हुन् ? सोझो आँखाले हेर्दा र तत्तत् देशको संविधानलाई पढ्दा ती देश औपनिवेशिक दासताबाट मुक्त भएकै हुन् । परन्तु, उपनिवेशवादी राष्ट्र«को प्रत्यक्ष शासनसत्तालाई फ्याँक्दैमा औपनिवेशिक दासताबाट मुक्त भएको ठान्नु हुँदैन । यसका लागि विद्यमान अवस्था र इतिहासको गहन र विश्लेषणात्मक अध्ययन चाहिन्छ ।
त्यसो हो भने वास्तविकता के हो त ? वास्तविकता हो– उपनिवेश कायम गर्ने ‘सर्वश्रेष्ठ’ राष्ट्रहरू आफू प्रत्यक्ष राजनीतिक शासनबाट फिर्ता भए पनि त्यहाँको समाज र व्यवस्थालाई नजानिँदो रूपमा टुक्र्याएर फर्केका थिए । यो कार्यमा उनीहरूले आफ्नो संस्कार, संस्कृति र सभ्यतालाई ‘सर्वश्रेष्ठ’ को रूपमा समाजमा अन्तर्घुलन गराएका थिए । यसो गराउनुमा पश्चिमा शैलीको शिक्षा प्रणालीले अग्रणी भूमिका खेलेको थियो । थामस बेविङ्गटन मकाउलेले १८३५ मा दिएको प्रतिवेदन अनुसार भारतीय शिक्षालाई अङ्ग्रेजी प्रणालीद्वारा चलाएर ‘अङ्गे्रजी बाबु’ को छुट्टै वर्ग स्थापना भयो । त्यसका आधारमा संस्कृत र हिन्दीमा पढाउने परिपाटी बन्द प्रायः भयो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने, कुनै पनि साम्राज्यवादी देशको प्रत्यक्ष उपनिवेशमा यसलाई बस्नु परेन । यो गर्वको विषय हो । हाम्रा पुर्खाहरूको कूटनीतिक दूरदर्शिता, ‘दुई ढुङ्गाबिचको तरुल’ को व्यवस्थापन र ‘जाइकटक नगर्नू, झिकीकटक गर्नू’ जस्ता नीतिगत मार्गदर्शनले नेपाललाई बेलायती उपनिवेशको दुर्गन्धबाट टाढै राख्यो । यसमा हाम्रा बहादुर पुर्खाको अदम्य साहस र देशभक्तिको सोचले विशेष स्थान लिएको छ । परन्तु औपनिवेशिक दासतालाई जीवन्त बनाइराख्ने पश्चिमेली संस्कार, प्रचलन र तथाकथित सभ्यताले नब्बेको दशकपश्चात् नेपाली समाजको पहिचान, सांस्कृतिक चलन, सामुदायिक संस्कार, अनेकतामा एकता र देश प्रेम जस्ता सदियौँदेखि चलिआएको भावनात्मक र व्यवहारजन्य नागरिक मनोविज्ञानलाई ज्यादै कमजोर बनाएको छ, बनाउँदै लगेको छ । यसप्रकारको मनोविज्ञानलाई समय छँदै सुधार्न सकिएन भने, भोलिको समाज कस्तो होला ? विचारणीय छ ।
नेपालको विशिष्टीकृत अवस्थालाई गौण राखेर नवउदारवादी धारणाउपर शासकीय हिसाबबाट ‘पूर्ण उदार’ हुँदा आफ्नोपन र विशिष्टता हराएर जान्छ । बाह्य शिक्षा प्रणाली नै सबैभन्दा उत्तम देख्ने आँखाले नेपालको सभ्यता, सामाजिक संस्कार, मूल्यमान्यता र सदाचारको श्रेष्ठता देख्न सकेनन् । परिणामतः सामाजिक क्षेत्रमा मात्र नभएर आर्थिक र राजनीतिक क्षेत्रमा पनि विसङ्गति बढ्दै गएको देखिन्छ, भेटिन्छ । परिवारभित्र मूल्यमान्यतामा विचलन, करुणा र मानवताको ह्रास, सामाजिक असहिष्णुता, सदाचारयुक्त भावनाको क्षयीकरण ‘हामी’ होइन ‘म’ को क्रियाभावले हाम्रो वर्तमान र भावी पुस्तालाई कता डोर्याउँछ ?
उपनिवेश खडा गर्ने राष्ट्रहरूको औपनिवेशिक कदमले, सिङ्गो संसारको व्यवस्था प्रणालीलाई परिवर्तन गरेको हिजोको शताब्दीले आजको संसारलाई पछ्याइरहेको छ । हाम्रो मुलुकले पनि त्यस्ता कदमको राम्रा–नराम्रा पक्षलाई गहन अध्ययन नगरी ‘रामवाण औषधी’ सरी प्रयोग गर्दा विसङ्गति बढेको हो । औपनिवेशीकरणको अन्य स्वरूप– आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक वर्चस्वले अधिकांशको दिमाग र मनलाई ‘युरोसेन्ट्रिक’ नापनक्सा अनुसार हिँडाइरहेको हुन्छ भन्ने यथार्थलाई नीति निर्माताले ध्यान दिन सकेनन् । ।
विद्यालय
विश्वविद्यालयमा पढाइने पाठ्यक्रम पश्चिमी साहित्य, दर्शन, इतिहास र मान्यतामा आधारित छन् । हामीले लेख्ने किताब र लेख पश्चिमेली विद्वान्को उक्तिबाट सुरु हुन्छ । एसियाली दार्शनिक, चिन्तक र विद्वान्हरूका भनाइलाई कहीँ कतै उद्धृत गरिँदैन । मनुस्मृति, याज्ञबल्क्यस्मृति, नारदस्मृति, पराशरस्मृति, वशिष्ठस्मृति, कात्यायनस्मृति र वृहस्पति स्मृतिमा उल्लिखित कानुन, समाज, कर्तव्य, शासन, नीति, चिकित्सा, द्विपक्षीय सम्बन्ध आदिका बारेमा उल्लेख गरेको विषयलाई नेपालको बौद्धिक र प्राज्ञिक समुदायले उठान गरेको पाइँदैन । यी स्मृतिग्रन्थको लेखन नेपालमा रहेका प्राचीन विद्वान्ले गरेका थिए । नारद, मनु, याज्ञबल्क्य, पराशर, वशिष्ठ, वृहस्पति, कात्यायन, व्यास, पाणिनी जस्ता विद्वान् (ऋषि) हरू नेपालमा बसे, तपस्या गरे, बृहत् ग्रन्थ लेखे । तिनीहरूको चर्चासम्म गरिँदैन । गार्गी जस्ती विदुषीको बारेमा कुरै हुँदैन । किन हुँदैन ? किनकि पश्चिमा विद्वान् नै श्रेष्ठ विद्वान् हुन् भन्ने लाग्छ धेरैलाई । कारण ? सानैदेखि त्यही सिकाइयो, त्यही पढाइयो ।
बोर्डिङमा पढ्नेले अङ्ग्रेजी बोल्छ, नेपाली बिर्सिन्छ । नानीहरू अङ्ग्रेजी बोल्न सकेकोमा माता पिता दङ्ग पर्छन् । नेपाली लेख्न र पढ्न गाह्रो मानेको विषयलाई बेवास्ता गर्छन् । गाउँका सामुदायिक विद्यालयमा पढ्नेको अङ्ग्रेजी सामान्यतया कमजोर देखिन्छ । यसले विद्यार्थीको मनोविज्ञानमा असर पारेको छ । हिजोआज ‘हजुर’, ‘तपाईं’ जस्ता आदरार्थी शब्दको प्रयोग विलुप्त अवस्थामा पुग्दै छन् । बाबुआमाको गोडामा ढोग्नु पर्छ भन्ने मान्यता विस्थापित हुँदै छ । ढोग, प्रणामद्वारा सम्मान र श्रद्धा प्रकट गर्ने सनातनी कर्मको ठाउँ ‘हाय’ र ‘गुडमर्निङ’ ले लिन थालेको छ । गुरुकुल पद्धतिमा अनुशासित भएर पढ्ने विषयलाई बालबालिकाको अधिकार हननको विषयसँग जोड्न थालिएको छ । सदाचार र मूल्यमान्यता हराउँदै गएको अवस्था छ ।
यहाँनेर, पश्चिमी शिक्षा प्रणाली खराब हो भन्न खोजिएको होइन । पश्चिमी प्रणालीको गहन अध्ययन गर्नै पर्छ । त्यसका उन्नत र राम्रा पक्षलाई आफ्नो देश र समाजको समृद्धिमा लगाउनै पर्छ । उनीहरूको उन्नत प्रविधि सिक्नै पर्छ । पश्चिमी संस्कार र संस्कृति सिकाउने शिक्षाले हाम्रो समाज र समुदायलाई के कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा संवेदनशील त बन्नै पर्छ । पश्चिमी शिक्षा, त्यहाँको संस्कृति, संस्कार, मान्यता र प्रचलन नै उत्तम हुन् भन्ने सोच आधुनिक उपनिवेशको उपज हो । यस्तो सोचबाट मुक्त भएर देशलाई हेर्नु पर्छ । त्यही विषय नै विऔपनिवेशीकरण हो ।
अहिलेको आवश्यकता हो, विद्यमान समाजलाई उन्नत र मुलुकलाई समृद्ध बनाउन ज्ञान र प्रविधिले भरिएको मानव संसाधनको विकास गर्नु । मानवीय दिमाग र हातहरूले नै मुलुकलाई उन्नत बनाउँने हुँदा, शिक्षामा उच्च प्रविधिको ज्ञान र व्यावसायिक सिकाइलाई जीवन्त राख्ने शिक्षा प्रणालीलाई हरेक व्यक्तिका जीवन शैलीसँग जोड्नु पर्छ । चौतारी र चिया पसलमा गफ्फिएर कसैका बारेमा नकारात्मक टिप्पणी गरी नथाक्ने बानीलाई उद्यमशीलताको सिपबाट परिवर्तन गर्ने र आफ्नो गाउँ सहरमा कसले कस्तो प्रविधिबाट कृषि वा औद्योगिक उत्पादन गर्यो वा गर्नु पर्छ भन्नेमा बहस र छलफल चलाउने वातावरण बनाउनु पर्छ । यसबाट विऔपनिवेशीकरणको सोच बढ्न गई विसङ्गति हट्ने छ ।