ज्यानले बोक्न सकुन्जेल घाँसको भारी पुगेपछि जुनुमाया पुनले भारीलाई बलियोसँग बाबियोको डोरीले दुई ठाउँमा कसिन् । मध्य साउन भएकाले कतिबेला पानी पर्छ भन्ने कुनै ठेगान थिएन । दुई दिनको झरी थामिएको मौका छोपेर जुनु गाईबस्तुका लागि घाँस र स्याउला काट्न चोरमारा वन आएकी थिइन् । चोरमारा वन नामजस्तै लुटपाटका लागि उहिलेदेखि नै कुख्यात थियो । यही चोरमारा वनमा कतिको धन लुटियो, कतिले इज्जत लुटाए भन्ने हिसाबकिताब नै थियो गाउँलेसँग । वन्यजन्तुको डर एकातिर छँदै थियो, अर्कोतिर वन उपभोक्ता समूहका मान्छेले देख्लान् कि भन्ने डर पनि थियो जुनुलाई । किनभने वन उपभोक्ता समूहले घाँस स्याउला मात्रै काटेको फेला पारे पनि ठूलै दण्ड जरिवाना तिर्नुपथ्र्यो । त्यसमाथि ६ वर्षको छोरो सँगै थियो । एक्लो ज्यान भए त जनावर होस् कि मान्छे, लाप्पा खेल्नसक्छु भन्ने आँट त जुनुमायासँग नभएको कहाँ हो र ? तर आफूलाई पछ्याउँदै जङ्गलसम्म आएको सानो छोरा उनको कमजोरी थियो । आफू जहाँ जान परे पनि छोरालाई उनी आफूसँगै लैजान्थिन् । त्यो उनको बाध्यता थियो । किनभने छोरालाई हेरिदिने घरमा कोही थिएनन् । वरिपरि छिमेकी नभएका त होइनन् तर अर्काको नाबालक छोराको हेरविचार गरिदिने छिमेकी कहाँ पाउनु ?
उनले छोराको नाम प्रेम राखिदिएकी थिइन् । हो, प्रेम जुनुमाया र नवराज आलेको प्रेमको निशानी थियो । रोधीघरमा अचानक आँखा जुधेपछि लाजले लगाइदिएको काउकुती कालान्तरमा प्रेममा रूपान्तरण भएको थियो । त्यही प्रेमकै खातिर जुनुले नवराजको अँगालोमा आफूलाई समर्पित गर्नुको परिणाम जुनुमायाको कोखमा प्रेम अङ्कुराएको थियो । यो कुरा खुसी र लाजले भुतुक्कै भएकी जुनुले सुनाउँदा नवराज झन दोब्बर खुसी भएको थियो । जुनुले सुनेकी थिइन् प्रेमका लागि धेरैले धेरै दुःख र सङ्घर्ष गर्नुपरेको कुरा । अझ कतिले त छुटिनुपरेका वियोगान्त कथाहरू पनि सुनाउँथे । उनले दाङ र नेपालगञ्जमा हेरेका केही फिल्मका हिरो हिरोनीले पनि प्रेमका कारण पाउनुसम्मको दुःख पाएको देखेकी थिइन् । ती हिरो हिरोनीको विछोड र वियोगलाई वास्तविक ठानेर जुनु पनि उनीहरूसँगै कति पटक रोइदिएकी थिइन् ।
तर जुनुमाया र नवराज प्रेममा भाग्यमानी ठहरिए । उनको पेटमा प्रेमको निशानी आएको मेसो पाएपछि जुनु र नवराजले जुनीभरलाई सँगै बस्ने निधो गरे । छरछिमेक र आफन्तहरूलाई साक्षी राखेर नवराजले जुनुलाई सिन्दुर हालेर घरमा भिœयाए । त्यसको ठीक आठ महिनामै जुनुमायाले छोरा जन्माइन् । नवराज र जुनुमायाले छोरालाई नाम दिए–प्रेम ।
सानैमा बुबा गुमाएका नवराजलाई दुई वर्षअघि मात्र आमाले पनि एक्लो बनाएर छोडेर गएकी थिइन् । त्यसयता एक्लै बस्दै आएका नवराजलाई यो संसार नै रित्तो लाग्थ्यो । तर जुनुमाया आएपछि उसको मन र जीवनमा फेरि पूर्णिमाको जुन उदाएको थियो । त्यसमाथि पहिलो सन्तान सुखको झन् के कुरा गर्नु ?
एक साँझ जुनुमाया ढिँढो ओराल्दै थिइन् । सानो छोरो काखमा एकोहोरो रोइरहेको थियो । दूध चुसाउँदै छोरालाई सुताउने प्रयास गरे पनि छोराले मानिरहेको थिएन । शायद चुल्होमा बालेको चिसो दाउराबाट निस्किरहेको पीरो धुँवाले ती नाबालकको कलिला आँखा पोलेर होला जति कोसिस गरे पनि निदाउन मानिरहेको थिएन । छोरा जन्मेदेखिको जुनुमायाको दैनिकी सधैँ त्यस्तै थियो । त्यसैले उनलाई कुनै दिक्दारी लागेको थिएन ।
नवराजले पल्लो गाउँमा काम पाएको एक हप्ता मात्र भएको थियो । गाउँठाउँमै तामाखानी पत्ता लागेपछि नवराजसहित केही युवाहरूले गाउँमै रोजगारी पाएका थिए । बिहानै तामाखानीमा जाने र दिनभरि सुरुङ खनेर साँझ भने टुप्लुक्क घर आइपुग्थ्यो नवराज । आज पनि नवराज आइपुग्ने बेला भइसकेको थियो ।
तर नातामा देवर पर्ने दुई जना जुनुमायाको घरमा हँस्याङफस्याङ गर्दै आइपुगे । झमक्क साँझ परिसकेको समयमा उनीहरूलाई देख्दा जुनुमायाको मनमा त्यसै पनि चिसो पस्यो । त्यसमाथि दुई जना असिनपसिन भएर आएका थिए ।
“यी को होलान् भनेका ट यी बुड्डे र जगटे पो रहेछन् । यटि साँझ हुँडो कटाबाट आयौ ?”
“जुनू भाउजू...”
बुद्धेले पूरा वाक्य बोल्न सकेन ।
“हन के कुरा हो ? किन बोली लरबराएको । कि च्वाँचेको सुकुतीसँग बेस्कन जाँड ठेलेर आयौ ?”
जुनु आफैँले स्थितिलाई सहजीकरण गर्दै ठट्यौलो पारामा भनिन् ।
“होइन भाउजू । नवराज दाजै...”
अब भने जुनुको मनमा राम्रैसँग चिसो पस्यो ।
“के भयो ? नवराजलाई ? जाँड खाएर बातोमा लडे कि क्या हो ? कि कसैसँग झगडा गरे ?”
“होइन । नवराज दाजै पसेको सुरुङ भत्केर...”
“हँ ? सुरुङ भत्कियो रे ? लौ न नि कसरी ? अनि नवराजलाई कस्टो छ ? कहाँ छ अहिले ?”
“पाँच घण्टापछि सुरुङ खनेर बाहिर त निकाले तर उहाँलाई बचाउन सकिएन । तीन जनाको एकै ठाउँमा सास गयो ।”
बुद्धेको कुरा योभन्दा बढी सुन्न सकिनन् जुनुमायाले । यसै पनि साँझ छिप्पिदै थियो त्यसमाथि बुद्धे र जगतले खबरसँगै उनको जीवनमा कहिल्यै नहट्ने अन्धकार लिएर आएका थिए । त्यो अन्धकारमा उनी यसरी हराइन् होश, आउँदा उनी काली खोलाको बगरमा थिइन् । अगाडि तीनवटा लस्करै चितामा आगो दन्किरहेको थियो । सँगै केही गाउँले मलामीहरू थिए ।
अचानक गड्यङगुडुङ मेघ गर्जेको सुनेर छोरो आत्तिँदै आमासँग टाँसिन आइपुगिन् । औँलामा च्यापिएको फिल्टरबिनाको चुरोटका आगो कतिखेर निभिसकेको रहेछ । जङ्गलको छेउमा उनी त विगतमा पो हराउन पुगिछन् । आफ्नो होस् हराएको थाहा पाएर जुनुमायाले आफैँलाई धिक्कारिन् ।
“चतक्कै माया मारेर एक्लै जाने बैगुनीलाई किन सम्झनुपरेको हो म...लाई...?”
जुनुमायाले आकाशतिर हेरिन् । टम्म कालो बादल मडारिरहेको थियो । ती बादल छिट्टै पानी बनेर वर्षिन मात्र बाँकी थियो । त्यसैले उनले हतार हतार घाँसको भारी फेरि मिलाइन् र पछाडि बोकिन् । अनि एक हातले नाम्लोको डोरो समात्दै र अर्को हातले छोरालाई डो¥याउँदै उनी छिटो छिटो घरको बाटोतर्फ लागिन् । जति नै छिटो हिँडे पनि उनले छोराको पाइला पछ्याउनुपथ्र्यो । बाटामै पानीले चुट्न थाल्यो । घरमा गाई र कुखुराको बिजोग हुने सम्झेर पानीको पर्वाह नगरी सकेसम्म छिटो छिटो हिँड्दै जुनुमायाको आमा छोरा घर आइपुगे ।
जुनुमाया आँगनको डिलमा आइपुग्ने वित्तिकै उनको जम्काभेट वन ढाटेसँग भयो । त्यसको मुखले भाले च्यापेको थियो । भाले उम्कने प्रयासस्वरूप फट्याक फट्याक गर्दै थियो ।
“आम्मै आले भाले !”
यति भनेर जुनुमायाले घाँसको भारी त्यही छोडेर ढाटे लखेट्न थालिन् । ढाटे बेतोडले भाग्यो । तर जुनुमायाले पछ्याउन छोडेन । उनले ढुङ्गामुढा गर्दै ढाटेलाई पछ्याइरहिन् । एकातिर भालेको फट्याक फट्याक उम्कने प्रयास, अर्कोतिर जुनुमायाले ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि विचरो ढाडेको केही सीप लागेन । मुखले च्यापेको भाले छोडेर ऊ मकैबारीतिर बेतोडले भाग्यो ।
ढाडेले छोडेपछि भालेले पखेटा फेरि फट्याक फट्याक गरेर आफूलाई सम्हाल्यो । घाइते र डरले आजित भालेले यताउति भाग्ने जाँगर खासै देखाएन । त्यसैले भालेलाई च्याप्प समातेर मायाले काखीमा च्यापेर जुनुमाया घर आइपुगिन् । घरमा आमा खोजेर छोरो रोइरहेको थियो । आमा र आफ्नो प्यारो भालेलाई एकसाथ देखेर छोरो फेरि दङ्ग प¥यो । ऊ एकैछिन अघिसम्मको रुवाइ बिर्सेर भालेसँग रमाउन थाल्यो ।
त्यो भाले सामान्य भाले थिएन । किनभने त्यो त आले भाले थियो अर्थात् आले परिवारको सदस्य । प्रेम र आले भाले सँगसँगैका हुन् । त्यसैले सानैदेखि प्रेम त्यही कुखुराको चल्लासँग खेल्थ्यो । दुवै जनाको खुब दोस्ती देखिन्थ्यो । त्यो चल्ला जतिखेर पनि प्रेमकै छेउछाउ हुन्थ्यो । कसैले भालेलाई जिस्क्यायो भने पनि प्रेम ढुङ्गा वा लट्ठी जे भेटिन्छ, त्यो बोकेर जिस्क्याउनेलाई हिर्काउन थालिहाल्थ्यो । तोते बोलीमा खबरदारी गर्दै उसले भन्थ्यो– “मेरो आले भालेलाई कसैले केही नगर्नु है । फेरि म ढुङ्गा टिपेर हान्छु नि ।”
यसरी त्यो भाले आले भाले बन्न पुगेको थियो ।
जुनुमायाका लागि पनि आले भाले साखे छोरा सरह थियो । त्यो भालेलाई उनी छोरा जति नै माया गर्थिन् । यो ६ वर्षमा त्यो भाले किन्छु भन्नेहरू कति आए तर जुनुमायाले तिनीहरूलाई उल्टै गाली गरेर फर्काउँथिन् । ६ वर्षको आले भाले निकै मजबुत र आक्रामक थियो । साथै सुरक्षात्मक पनि । प्रेमको नजिक आउने अपरिचित मान्छे होस् या जनावर आले भालेले आक्रमण गरिहाल्थ्यो ।
००००
विगतका प्रेमिल क्षण र वर्तमानको कहाली लाग्दो दैनिकी मनमनै तुलना गर्दागर्दै मध्यरात भइसकेको थियो । छोरो साँझ नपर्दै निदाइसकेको थियो । कतिबेला भुस्स निदाइएछ जुनुमायालाई पत्तो भएन । अचानक उनलाई आफ्नो हात तातो वस्तुमा परेको अनुभव भयो । उनी झल्याँस्स ब्युँझिइन् । छोराको जिउबाट बेग्लै तातो राप आइरहेको उनले मेसो पाइन् । छोराको निधार छामिन्, हनहनी ज्वरो आएको रहेछ । छोरो निदाएको भए पनि लामो लामो सास फेरिरहेको थियो । छोराको अवस्था देखेर जुनुमाया आत्तिएर उठिन् । छामछुम गरेर सिरानीबाट सलाई निकालेर कोरिन् र टुकी बालिन् । उनले छोरालाई उठाउन खोजिन् । छोराले कुनै प्रतिक्रिया जनाएन । उनले छोरालाई उठाएर काखमा राखिन् । उनलाई छोरा लल्याक लुलुक भएजस्तो लाग्यो । अनि आत्तिएर उनी कहालिन थालिन् । तर त्यो रातको नीरवतामा कसलाई गुहार्ने ? पहिलो पटक एकल आमा हुनुमा आज जुनुमायालाई धिक्कार लाग्यो । यही छोराको मुख हेरेर नै त उनी बसेकी थिइन् । ३० वर्षको उमेरमा उनीमाथि आँखा लगाउनेको कुनै कमी थिएन । कतिले त मुखै खोलेर छोरासहित सकार्छुसम्म भन्थे । केहीले आमा एक्लैले यो समाजमा केही गर्न सक्दिनन् भन्थे । जुनुमाया उनीहरू सबैलाई एउटै जवाफ दिन चाहन्थिन् । तरुनी र एकल आमाले पनि सम्मानजनक जीवन बाँचेर देखाउन सक्छे । आफ्नो सन्तानका लागि आदर्श आमा बन्न सक्छिन् । तर आजको रात भने जुनुमायालाई पहिलो पटक एक्लोपनले रुवायो । अरूले भने जस्तै आफू निरीह भएको अनुभव गरिन् ।
जुनुमायाले झ्याल खोलेर बाहिर हेरिन् । निष्पट्ट अन्धकार र चकमन्न रात थियो । जून अस्ताइसकेको थियो, केही ताराहरू टिल्पिलाइरहेका थिए । त्यही ताराको बीचमा एउटा तारामा उनले नवराज मुस्कुराइ रहेको देखिन् ।
“हेर्नुस् ट प्रेमको बाबा । हाम्रो प्रेम आज निकै बिरामी परेको छ । म एक्ली आमाले के गर्नु ? टपाईं किन यटि निष्ठुरी बन्नुभएको ? टपाईंलाई हाम्रो माया लाग्दैन ?”
जुनुमाया भक्कानो छोडेर रुन थालिन् । रातको शून्यतामा आमाको रुवाइ सुनेर हो या ज्वरोले च्यापेर हो प्रेम अलिकति चल्मलायो र निन्द्रमै मसिनो स्वरमा बोल्यो– “आछ्यु आमा, जाडो भयो ।”
छोराको आवाज सुनेर जुनुमाया झसँग भइन् । उनले हत्तपत्त झ्याल बन्द गरिदिइन् । छोराको निधार छामिन् । तातो उस्तै थियो । छोरोलाई कामज्वरो आएको आशङ्का गरिन् उनले । फटाफट कम्मरदेखि माथिको आफ्नो सबै कपडा उतारेर निर्वस्त्र भइन् । अनि छोरालाई आफ्नो छातिमा च्यापेर न्यानो पार्ने कोसिस गरिन् । छोराको ज्वरोले उनको बाहिरी छाति जति पोलेको थियो, त्यो भन्दा कैयौँ गुणा बढी भित्री छाती भतभती पोलिरहेको थियो ।
जुनुमाया रातभर अनिदो नै रहिन्, बिहानीको प्रतीक्षामा ।
खोपामा बास बसेको आले भाले चल्मलाएको आवाजले लोलाउन थालेको जुनुमायाको आँखा छ्याङ्ग खुल्यो ।
“कुखुरी काँ । कुखुरी काँ । कुखुरी काँ ।”
नभन्दै बिहानीको सङ्केत गर्दै आले भाले तीन चोटि बास्यो ।
००००
बिहान सबेरै बिरामी छोरालाई लिएर जुनुमाया गाउँको डाक्टर कान्छा बनेर परिचित वनघरे कान्छाकोमा पुगिन् । वनघरे कान्छा टु इन वान व्यक्ति थिए । फुकेर हुनेलाई फुकेर पठाउँथे उनी । औषधि आवश्यक पर्नेलाई औषधि दिन्थे । अस्पताल लैजानुपर्ने अवस्थाका बिरामीलाई अस्पताल लैजानु भनेर सिफारिस पनि उनी आफैँ गर्थे । त्यसैले गाउँलेका उनी साह्रै विश्वासी पात्रा थिए ।
वनघरे कान्छाले जुनुमायाको छोराको निधार छामेर हे-यो । नाडी छामेर मुटुको चाल मनमनै नाप्यो । आँखा र जिब्रो जम्मै निरीक्षण ग¥यो ।
“कता कता बच्चालाई निमोनिया हो कि जस्तो लाग्दैछ । अवस्था हेर्दा गम्भीर छ । ढिला नगर बुहारी छोरालाई आजै या भोलि नै सदरमुकाम अस्पताल लैजाऊ । वनतिरको आँखा लागेको भए म अहिले नै धुप र अक्षताले मन्छाइदिन्छु । तर भरेसम्म पनि बच्चाको ज्वरो घटेन भने ढिला नगर है बुहारी । फेरि वनघरेले भनेन भनेर पछि बात नलागोस् मलाई ।”
वनघरेको कुरा सुनेर जुनुमाया झन् आत्तिइन् । आजको भोलि नै सदरमुकाम जान र अस्पताल खर्च कहाँ खोज्ने ? भन्ने द्विविधा पनि थियो मनमा । तर पनि “हवस् म त्यसै गर्छु,” भनेर वनघरेसँग बिदा मागेर बिरामी छोरो पिठ्युँमा बोकेर फर्किइन् उनी ।
दिनभरिमा छोरोको अवस्थामा कुनै सुधार आएन । झन् बेला बेलामा वान्तासमेत गर्न थालेको थियो । छोराको बिग्रिँदो अवस्था देखेर जुनुमाया आत्तिइन् । आत्तिएर के पो हुन्थ्यो ? र, त्यस रात उनले भोलि बिहानै छोरोलाई लिएर सदरमुकाम अस्पताल जाने अठोट गरिन् । त्यसबेलासम्म छोराको हात थामिदिन सम्झे जतिका देवीदेवता मनमनै भाकाल गरिन्– जुनुमायाले ।
“कुखुरी काँ । कुखुरी काँ । कुखुरी काँ ।”
फेरि बिहानै आले भाले बास्यो ।
भालेको डाँकसँगै जुनुमाया उठिन् । झोलामा आफ्नो र छोराको आवश्यक लुगाफाटा मिलाउन थालिन् । छोरा प्रेम ज्वरोले अझै निस्लोट थियो । ज्वरो फिटिक्क घट्न सकेको थिएन । उनले खुइलिसकेको थैली खोलेर हेरिन्, मन फेरि अमिलो बनेर आयो । लामो सास फेरेर उनी बाहिर निस्किन् । छिमेकमा पुगेर एक दुई दिन आफ्नो घरको पनि हेरचाह गरिदिन अनुरोध गरिन् ।
छिमेकीले सकरात्मक ढाडस दिएपछि उनको मन थोरै भए पनि ढुक्क भयो ।
घर फर्केर आएर उनले बिरामी छोरोलाई ढाडमा कसिलोसँग कसेर बोकिन् । एउटा काँधमा लुगाफाटा र बाटोमा खान ठिक्क पारेको खाजाको झोला भिरिन् । दलिनमा झुन्ड्याएर राखेको पुरानो पेरुङ्गो झिकिन् । अनि भर्खरै बासेर बिहानीको सङ्केत दिएको आले भाले जुन उनका लागि छोरा जत्तिकै प्यारो थियो, त्यसलाई समातेर पुरानो पेरुङ्गोमा हालिन् र ढोका बन्द गरेर फटाफट ओरालो झरिन् ।
........
चार घण्टा हिँडेपछि बकैया बजार आइपुग्यो । त्यहाँबाट सदरमुकाम जाने गाडी चढ्न पाइन्थ्यो । बस चढ्नुअघि जुनुमाया आले भाले बोकेर बजारको फ्रेस हाउसमा गइन् । त्यहाँ फ्रेस हाउसका साहुजी र जुनुमायाबीच केहीबेर आले भालेको मूल्यको विनिमय चल्यो ।
आले भालेको तौल बमोजिम ११ सय रुपियाँ जुनुमायाको हातमा प-यो । कसिलोसँग मुट्ठीमा त्यो पैसा कसेर जुनुमाया सदरमुकाम जाने बस चढिन् ।
बजार र बसभित्रका यात्रुको होहल्लाकाबीच पनि निकै परसम्म आले भालेको क्वाँय क्वाँय आवाज जुनुमायाको कानमा ठोक्किन आइरहेको थियो ।