• ३० वैशाख २०८१, आइतबार

स्नातकोत्तरपछि कृषिकर्ममा जम्दै

blog

कृषि विकास कार्यालय दैलेखका प्रमुख बाली विकास अधिकृत घनश्याम कार्कीसहितका कर्मचारीहरु ।

विशाल सुनार

दुल्लु, पुस २५ गते । त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तर गरेका युवा नर्सरी सञ्चालन गरी सफल मात्र हैन गाउँकै उदाहरणीय बनेका छन् । दैलेखको डुंगेश्वर गाउँपालिका २ लाकुरीस्थित उम गाउँका सुनिलराज बिसी फलफूल प्रजातिका नर्सरी सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । 

बिसीले वि.सं.२०७३ सालमा नेपाली विषयमा स्नातकोत्तर सकेर घर फर्किएका बिसीका बुवाको अकस्मात् निधनपछि पहिलो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न पुग्नुभयो । पराजयपछि सक्रिय राजनीतिलाई किनारा लगाएर पाटा परेका आफ्नै खेतबारीमा मिहिनेतको बीउ रोप्न थाले र छोटो समयमै एक सफल कृषक बन्न पुग्नुभयो । 

वि.सं. २०७७ सालमा ‘खड्ग बिसी पशुपन्छी तथा कृषि फर्म दर्ता गरी व्यवसायमा लागे । स्नातकोत्तरकै दौरान त्रिभुवन विश्वविद्यालयसँगै जोडिएको केन्द्रीय वागवानी अनुसन्धान केन्द्र, कीर्तिपुरमा समय बिताउने गर्नुहुन्थ्यो । अध्ययन केन्द्रमा आउने जाने साथीहरुसँगको सङ्गतमै नर्सरीसम्बन्धी आधारभूत जानकारी समेत लिइसकेका थिए । 

व्यवसाय सुरु गर्दा बिसीले अलैची नर्सरीबाट सुरु गरेका थिए । अलैँचीको बेर्नाबाट वर्षमा ७ लाख सम्मको आम्दानी समेत गर्दै आएका थिए । अन्य व्यापारीभैँ बिसीलाई पनि महामारीले प्रभावित ग¥यो र बेर्ना विक्री ठप्प भयो ।

उहाँले भन्नुभयो ‘कोभिडका कारण अलैँचीको बजार भाउमा व्यापक गिरावट आयो, अनि विभिन्न रोगको सङ्क्रमण पनि देखिन थाल्यो र अलैँची छोडेँ’ । अलैँची छोडेर तरकारीसँगै सुन्तला, कागती, ओखर, जुनारलगायतको बिजु बेर्नासहित कलमी बिरुवाको नर्सरी सुरु गरेँ । ‘कृषि अनुसन्धान केन्द्र दैलेखको एकमहिने तालिम र कृषि विकास कार्यालयमा कृषक प्रोत्साहन कार्यक्रम स्वीकृत भएपछि सीप र साधन दुवै प्राप्त भयो’ बिसीले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘कर्णाली प्रदेश सरकारले कृषिसम्बन्धी कस्तो नीति निर्माण गर्छ, त्यसैअनुसारको नर्सरी सञ्चालन गर्छु,’ । हाल ५ रोपनी क्षेत्रफलमा नर्सरी सञ्चालन गर्दै आउनुभएको छ । नर्सरीमा हाल ग्राफ्टिङ् बिरुवा ५ हजार, बिजु बिरुवा ५ हजार, ट्राइफिलेट गरेका ५ हजार, कीर्तिपुर ग्राफ्टिङ ५ हजार बिरुवा छन् । त्यस्तै कागतीका बिजु बिरुवा ५ हजार छन् भने ओखरका १ हजार बिरुवा नर्सरीमा बेच्नका लागि तयार छन् । 

गतवर्ष ७ लाखभन्दा बढीको आम्दानी गरेका बिसीले यो वर्ष करिब ८० हजारको बेर्ना विक्रीबाट तेब्बर आम्दानी गर्ने लक्ष्य राखेका छन् । डेढ लाख बीउ पुँजी लगानीबाट व्यवसाय सुरु गरेका फर्ममा अहिले झण्डै ५० लाखका बेर्नाहरु  छन् । यो वर्षदेखि टिमुर, कफीसहित मसलाको बालीको बेर्ना राख्ने तयारी गरेका छन् ।

‘पढे लेखेका मान्छे भएर के दुःखी कर्ममा लागेको होला’ भन्दै गाउँलेहरुले नभनेका पनि होइनन् तर पढे लेखेकाले नै केही गर्नैपर्छ भन्नेमा बिसी दृढ छन् । बिसीकै केही गर्नुपर्छ भन्ने हुटहुटीले आफूमात्र हैन समुदायलाई नै तरकारी व्यवसायमा प्रेरणा थपेका छन् ।

नर्सरी स्थापना गरेयता सुन्तला, कागतीका एक हजार बिरुवा निःशुल्क वितरण गरिसकेका छन् भने व्यावसायिक परामर्शसमेत दिन्छन् । व्यवसायमा लागेदेखि जिल्लास्तरबाट सम्बन्धित कार्यालयको नियमित अनुगमन तथा सल्लाह र सहयोग पाइरहँदा थप हौसला मिलेको उहाँको भनाइ छ ।