अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ४ गते । एक सातादेखि बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिया सानिमाया खत्री मृत भेटिनुभएको छ ।
असोज २९ गते सम्पर्कविहीन हुनुभएकी खत्रीको शव मङ्गलबार बिहान सानीचौतारीको खोरियामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी तथा तालिमप्राप्त कुकुरको टोलीले मृत अवस्थामा खत्रीलाई फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सरोज मजाकोटी र पोखराबाट तालिमप्राप्त कुकुरसहित आउनुभएका प्रहरी नायब निरीक्षक मिलन केसीको टोलीले वृद्धाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।
घटनास्थल मृतकको घरभन्दा धेरै टाढा नरहेको तथा वृद्धाले लगाएको पोसाक पनि दुरुस्त रहेकाले लडेकै कारणले मृत्यु भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टपछि मात्र बाँकी कारण जानकारी हुने प्रहरीले जनाएको छ ।