राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा),कात्तिक ४ गते । बारीमा नै उच्च मूल्य पाउँदा कालीगण्डकीका फूल कृषक उत्साहित भएका छन् । विगतका वर्षहरुको तुलनामा यो वर्ष फूलको माग र मूल्य उच्च भएको कालीगण्डकीका कृषकहरूले बताएका हुन् ।
कालीगण्डकी गाउँपालिका–५ का रेमोन थापाले यो वर्ष फूलले राम्रो मूल्य पाएको बताउनु भयो । यो वर्ष फूल होलसेलमा तीन सय र फुटकरमा चार सय रुपियाँ प्रतिकिलोको दरले बिक्री भइरहेको थापाको भनाइ छ । अघिल्लो वर्ष प्रति किलो दुई सयमा फूल बिक्री गरेर झण्डै पाँच लाख आम्दानी गरेको भन्दै थापाले यो वर्ष आम्दानी बढ्ने बताउनुभयो ।
फूलको माग उच्च भएसँगै मूल्य पनि उच्च पाएकोमा खुसी लागेको उहाँको भनाइ छ । अघिल्लो वर्ष तीन रोपनीमा फूल खेती गर्नु भएका थापाले यो वर्ष पाँच रोपनीमा गर्नु भएको छ ।
यस्तै कालीगण्डकी–२ का हिरामान सुवेदी पनि राम्रो मूल्य पाउँदा उत्साहित हुनु हुन्छ । उहाँले भन्नुभयो,“हामीले उत्पादन गर्याैं पालिकाले बजारीकरणका लागि सहयोग गर्दछ, अहिले त मूल्य पनि उच्च पाइयो ।”
यो वर्ष फूल केही ढिला फूलेका कारण माग अनुसार उपलव्ध गराउन नसकेको कृषकहरूको भनाइ छ । कृषक पुष्पा सिंजालीले माघ महिना सम्म निरन्तर फूल बिक्री भइरहने भन्दै बजारको समस्या नभएको बताउनु भयो । उहाँले भन्नुभयो,“पालिका र हेफर संस्था मिलेर बजार खोज्ने काम गर्नु भएको छ, जसले हामीलाई राम्रो मूल्य पाउने अवसर मिलेको छ ।”
कालीगण्डकी गाउँपालिकाले उत्पादनसँगै बजारीकरणलाई जोड दिन कालीगण्डकी कृषि मूल्यश्रृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको छ । हेफर प्रोजेक्टसँगको सहकार्यमा पालिकामा उत्पादन भएका वस्तुहरूको बजारीकरणको काम भइरहेको पालिकाले जनाएको छ ।
कृषकहरूलाई व्यावसायिक फूल खेतीमा आकर्षण गराउन विभिन्न सहयोग गर्दै आएको कालीगण्डकी गाउँपालिकाले बजारीकरणमा पनि सहयोग गर्दै आएको हो । गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव खिमबहादुर थापाले उत्पादन र बजारीकरणसँगसँगै लैजाने आफूहरूको योजना भएको बताउनु भयो । अहिले फूल टिप्ने र बिक्री गर्ने काम भइरहेको भन्दै कति मूल्यको बिक्री भयो भन्ने जानकारी पछि हुने उहाँको भनाइ छ ।
कृषकलाई फूल लगाउने तरिकासँगै टिप्ने तरिका पनि सिकायौं अहिले बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो । पालिकाका प्राविधिकहरूले उनीहरूलाई निरन्तर सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
पालिकासँग मिलेर फूलसँगै अकबरे खुर्सानी लगायतको बजारीकरणमा सहयोग गर्दै आएको हेफर प्रोजेक्ट बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो । यो पटक बजारमा माग धेरै हुँदा कृषकले राम्रो मूल्य पाएको पाण्डेले बताउनु भयो ।
समूह, कृषक तथा विद्यालयहरू गरी ३० रोपनी भन्दा धेरै क्षेत्रमा व्यावसायिक फूल खेती हुँदै आएको परियोजनाका अधिकृत दीपक विश्वकर्माले जानकारी दिनुभयो । अन्य बाली लगाउँदा मिहिनेत धेरै र प्रतिफल कम पाएका कृषकहरू व्यावसायिक फूल खेतीमा आकर्षित भएका हुन् ।