कास्की, कात्तिक ४ गते । प्रहरीले पोखराको नयाँबजार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको अवस्थामा उनीहरूबाट नगद छ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “तिहारको समयमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको छ प्रहरीले जुवातास खेल्ने र खेलाउनेहरूलाई निगरानी गरिरहेको छ ।” प्रहरीका अनुसार पोखरा नयाँबजारबाट पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई सय १२ पत्ती तास र नगद दुई लाख ५१ हजार ४५५ बरामद भएको छ ।
यसैगरी पोखरा महानगरपालिका–२६, विजयपुरको लप्सीबोट सामुदायिक वनबाट सात जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १४ थान कौडा र ७७ हजार २०५ नगद फेला परेको छ ।
यस्तै प्रहरीले पोखरा–२, मोहोरियाटोलबाट आठ जना पक्राउ गरेको र उनीहरूको साथबाट छ बुक तास र नगद दुई लाख ७३ हजार ४४५ बरामद गरिएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस