बाबुराम शर्मा
दोलखा, कात्तिक ४ गते । दोलखाको भीमेश्वर नगरपालिका–९, स्यासीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएका छन् ।
मङ्गलबार बिहान ९ बजे वडा ९ कै भित्री सडकमा ग. २ च. ३४०० नम्बर बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । गाडीमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ, ५२ वर्षीया कृष्णकुमारी श्रेष्ठ र ४८ वर्षीया कुमारी श्रेष्ठ रहेका छन् । उनीहरूको टाउको, मुख तथा आँखामा चोट लागेको छ । उनीहरुको सदरमुकाम चरीकोटस्थितको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।
गाडी र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।