• ९ मंसिर २०८१, आइतबार

बालबालिकामा देखिने दादुरा के हो ?

blog

काठमाडौं, पुस २५ गते । नेपालगन्जमा केही दिनयता दादुरा सङ्क्रमण तीव्ररूपमा फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा पुस १३ गतेदेखि फैलिएको दादुराबाट हालसम्म ६३ जना बालबालिका सङ्क्रमित र एक जनाको मृत्यु भएको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाको तथ्यांक छ ।

परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. सागर दाहालका अनुसार हाल दादुरा सङ्क्रमण देखिएका बालबालिकामध्ये धेरै बालबालिकाले खोप लगाएका छैनन् । दादुराबाट प्रभावित वडाहरुमा सरकारले दादुराविरुद्धको खोप अभियान सुरु गरेको छ । डा. दाहालले अहिलेसम्म  एक हजार २३८ जनालाई खोप लगाइसकेकोे जानकारी दिनुभयो ।

हालसम्म दादुरा प्रभावित वडामा खोप अभियान सञ्चालनमा छ । खोप अधिकृत भरत भण्डारीका अनुसार आगामी दिनमा प्रभावित वडाका आसपासका वडाहरुमा पनि खोप अभियान सुरु गर्ने योजना रहेको छ । ५ देखि १२ वर्ष सम्मका बालबालिकामा ज्वरो आउने, जीउ दुख्ने, रुघाखोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दागलगायत लक्षण देखिएको छ ।

दादुरा भनेको के हो ?

सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार दादुरा एउटा सङ्क्रामक रोग हो जुन मिजल्स भाइरसको सङ्क्रमणले हुने गर्छ । उहाँका अनुसार यो रोग श्वासप्रश्वासको माध्ययबाट सर्दछ । ६ देखि ९ महिनासम्म शिशुलाई आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता शक्तिले दादुरा लाग्नबाट बचाउने चिकित्सक बताउँछन् ।

डा. कोइरालाका अनुसार दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्री पत्रहरुमा सङ्क्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा हुन्छ । दादुराका जीवाणुले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुन्छ । यसले गर्दा बच्चामा अरु सङ्क्रामक रोगहरु हुने सम्भावना पनि बढाइदिन्छ ।

लक्षणहरु

उच्च ज्वारो आउने, नाकबाट सिंगान बग्ने, आँखा रातो हुने र आँखाबाट पानी बग्ने, खोकी लाग्ने, शरीरमा राता बिमिराहरु निस्कने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेका बच्चाहरुमा कानको सङ्क्रमण, आँखाको दृष्टि कमजोर हुने, निमोनिया, इन्सेफलाइटिस, मस्तिष्कको सङ्क्रमणका साथै पखाला, कुपोषण भई मृत्युसमेत हुने सम्भावना हुने डा. कोइरालाको भनाइ छ । त्यसैले दादुराका चिन्ह वा लक्षणहरु देखिएमा बच्चाहरुलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ ।

कस्ता बच्चा जोखिममा

कम तौल भएका कुपोषण भएका, खोप नपाएका व्यक्तिगत तथा सरसफाइ कमी भएका, भिटामिन ‘ए’ को कमि भएका, रोग फैलाउनमा दूषित वातावरण, कुपोषण भएका बालाबालिका बढी जोखिममा हुने डा. कोइराला बताउनुहुन्छ ।

दादुराको रोगथाम तथा उपचार

हाछ्युँ गर्दा, खोक्दा नाक र मुख सफा रुमालले छोप्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । हाछ्युँ गरेपछि साबुन पानीले मिचिमिची धुन, बच्चालाई भिडभाड भएका सार्वजनिक ठाउँमा नलैजाने र नपठाउने, सकेसम्म घरभित्रै राख्ने, बस्ने कोठामा हावाको आवतजावत हुने र घाम आउने गरी खुल्ला राख्नुपर्छ, बच्चाको वरिपरि धूमपान नगर्ने र अरुलाई पनि गर्न नदिने । रोग लागेको अवस्थामा साविकको भन्दा बढी पोसिलो खाना खुवाउने र दादुरा लाग्दा प्रतिरक्षा प्रणाली बढाउन भिटामिन ‘ए’ क्याप्सुल स्वास्थ्यकर्मीको सल्लाह अनुसार खुवाउन डा.कोइरालाको सुझाव छ ।

दादुरा रोग लागेका बालबालिकाहरूलाई पोसिलो खाना र झोलिलो खाने कुरा जरुरी हुन्छ । दादुरा रोग अतिसङ्क्रमित रोग भएकाले यस रोगको प्रतिरोधात्मक क्षमता कम भएका बालबलिका रोगीको सम्पर्कमा आएमा दादुरा रोगबाट सङ्क्रमित हुन्छन् ।

त्यसैले लक्षणहरु देखिए सो सङ्क्रमित बिरामीमा बिमिरा देखिएको कम्तीमा ४ दिन छुट्टै राख्न चिकित्सकको सुझाव छ । यसबाट बच्न नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप तालिकाअनुसार स्वास्थ्य संस्थाहरुबाट महिना र १५ महिनाको उमेरमा दुई पटक बालबालिकाहरुलाई निःशुल्क दादुराविरुद्ध खोप दिँदै आएको छ । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विभिन्न अध्ययनले देखाएको छ । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ ।

दादुरा अतिसङ्क्रामक रोग भएकोले यस रोग छिटो फैलिएर महामारी गराउने रोगमध्ये लिने गरिन्छ । त्यसैले यो विरुद्धका खोप लगाउन चिकित्सकको सुझाव छ । यस्तै हालै सार्वजनिक नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले पनि नेपालमा पछिल्लो ५ वर्षमा बालबालिकालाई लगाइने नियमित खोपको कभरेज घटेको देखाएको छ ।

२३ महिनासम्मका बालबालिकामा लगाउनुपर्ने क्षयरोगविरुद्ध बीसीजी खोप, डीपीटी, हेपबिहिब पोलियोको खोप दादुरा–रुबेला जस्ता लगाउनैपर्ने खोप विगत पाँच वर्षमा ४ प्रतिशत बालबालिकाले नलगाइएको उक्त सर्वेक्षणले देखाएको छ । सरकारले सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।