पुस्तकालयले वाङ्मयको विकासमा उल्लेख्य योगदान दिएको र दिनेमा विवाद हुन सक्दैन । चिन्तन मात्र हुन सक्छ । तर इतिहासको कठोर सत्य स्वीकार गर्ने हो भने वाङ्मयको विकास हेतुले पुस्तकालय स्थापना भएका थिएनन् । तर सत्यको अर्को क्षितिजबाट हेर्दा पुस्तकालयले समग्र वाङ्मय, अझ बढी साहित्यको विस्तारमा पु¥याएको योगदान सामान्य लेखबाट आकलन सम्भव छैन । पुस्तकालयबिनाको देश, समाज वा व्यक्ति कल्पना गर्न सकिँदैन । हरेक व्यक्तिका घरमा पुस्तकालय हुन्छन् किनभने त्यहाँ केही न केही लिखित÷मुद्रित, कोरित (कोरिएका चित्र) सामग्री हुन्छन्, भलै तिनीहरू जिरा पोको पारिने प्रयोजनले पनि घरघर पुगेका हुन् । समयले संस्कृतिमा भिन्नता ल्याउँछ । आवश्यकताले सस्ंकृतिको निर्माण गर्छ । पुस्तकालय संस्कृतिमा पनि भिन्नता आएको छ । पुस्तकालयमा पढेका पुस्ताले वर्तमान विश्व नेतृत्व गरेका छन् । थाह छैन, उदाउँदा नेतृत्वले पुस्तकालय कुल्चेका हुनेछन् वा छैनन् तर तिनले पनि विश्वको नेतृत्व गर्नेछन् । विश्व खर्बपति विल गेट कम्प्युटरको चमत्कार र पुस्तकालयको परिवेशलाई सम्बद्ध गरेर व्याख्या गर्न रुचाउँछन् । पुस्तकालयमा जानेहरूको आवश्यकता बदलिएको छ, जसले पुस्तकालय संस्कृतिलाई बदलिँदो छ । हिजो मानिस पुस्तकालय जान्थे, आज पुस्तकालय मानिसका घरकोठामा आउन थालेका छन् । यसर्थ पुस्तकालयको उपयोग र उपभोग गर्ने तौरतरिकामा पनि भिन्नता आएका छन् । पुस्तकालयको सुदूर इतिहास हेर्ने हो भने राजाबडाका प्रशस्ति, आदेश, सनद, रुक्काजस्ता लिखत÷दस्तावेजको संरक्षण गर्ने कार्यबाट पुुस्तकालय अस्तित्वमा आउन थाले । पछि आएर उनीहरूसँग सम्बन्धित अन्य लिखत, चित्र÷कला तथा तस्बिर, मनोरञ्जन, धार्मिक सामग्री सञ्चय गर्ने क्रम बढ्यो । अन्ततः यिनै सञ्चय गरिएका भवन, स्थान÷आलय पुस्तकालयमा विकसित भए । भलै त्यस्ता सामग्री पुस्तक कम र पत्र बढी थिए भन्न सकिन्छ ।
विगत हेर्दा सरकारी तवरमा पुस्तकालय स्थापना गरिएका पाइन्छ । व्यक्तिका सङ्कलन र सङ्ग्रह पनि कालान्तरमा पुस्तकालय बन्ने अवसर पाएका छन् । नेपालमा मल्लकालीन भक्तपुरे पुस्तकालय हुँदै पृथ्वीनारायण शाहको नेपाली एकीकरणसँग सम्बन्धित र अन्य राजकीय दस्तावेज सुरक्षित गर्न गीर्वाणयुद्ध विक्रमले ‘चिताइ तहबिल’को कानुनी तथा संस्थागत संरचना तयार गरेपछि पुस्तकालयको आधुनिक इतिहास सुरु हुन्छ । राणाकालमा पनि विभिन्न पुस्तकालय बने तर कतिपय पुस्तकालय सर्वसाधारणका लागि बनेका थिएनन् । यसबाट पनि थाह हुन्छ, पुस्तकालयको प्रयोजन र त्यसका लक्षित वर्ग को थिए । नेपाली इतिहास कहन्छ, पुस्तकालय स्थापना गरौँ भन्ने चेतनशील नेपाली युवालाई गाथगादी ताकेको आरोपमा दण्ड सजाय गरियो, जुन काण्ड लाइब्रेरी पर्वले इतिहास भएको छ । पुस्तकालय स्थापनामा जनताको पहल रोक्ने राज्यशक्तिको प्रतिरोधी मानसिकता परिवर्तित हुँदै कुनै दिन मुलुकभर पुस्तकालय स्थापनाका अभियान चले, ती घटना पनि इतिहास भएका छन् ।
सूचना प्रविधि तथा विद्युतीय डिभाइस (उपकरण)को प्रयोगले पुस्तकालयको स्वरूप मात्र होइन स्वादमा पनि परिवर्तन आएको छ । वाङ्मयका तमाम पक्षमा योगदान दिने पुस्तकालय जाने पुस्ता घटेसँगै इतिहास–साहित्यको लेखन ओझलमा पर्नु स्वाभाविक हुनेछ । इतिहासका घटनालाई अनुभूतिका रङले सजाएर लेखिने साहित्य लेखन पातलियो भने आगामी नेपाली पुस्ताले सायदै सेतो बाघ लेख्नेछन् वा पढ्नेछन् । आज कुनै पनि नेपाली साहित्यकारले नेपाल एकीकरणका घटनालाई ऐतिहासिक उपन्यासमा झल्काउने पहल गर्छ भने बडामहाराज पृथ्वीनारायण शाहले जितेका सबै राज्यका राजकीय कागजपत्र, अभिलेख, दस्तावेज कहाँ पाउनु ? यसरी हेर्दा हामीले इतिहास मात्र गुमाएनौँ, साहित्य र साहित्य लेखनका सहयोगी सन्दर्भ सामग्री पनि गुमायौँ । थापाथलीको जैसीकोठा, घण्टाघर (वीर लाइब्रेरी), दरबार हाइस्कुल (दरबार लाइब्रेरी), पुरातìव विभाग सारिएको पुस्तकालय, केशर पुस्तकालय हुँदै राष्ट्रिय पुस्तकालय वा प्रजातन्त्र स्थापनापछि मुलुकैभरका विद्यालयमा स्थापना गरिएका र सामुदायिक पुस्तकालय स्थापनाको लहरसँगै नेपालमा पुस्तकालय तथा पठन संस्कृति पनि मौलाएको थियो । राजा, राजकाज, राजपरिवार र उनका नजिकका नातागोताले मात्र पढ्न पाउने गरी सञ्चालनमा आएका पुस्तकालयहरू क्रमशः जनताका आँगनमा आएपछि जनताले पढ्न पाए । पढ्ने र लेख्ने काम जनतामा स-यो । नेपालस्थित विदेशी दूतावासद्वारा स्थापित कतिपय पुस्तकालयले पढ्न र प्रदर्शन संस्कृतिलाई थप अगाडि बढाए । कुनै दिन यस्ता थिए, अमेरिकी वा बेलायती पुस्तकालयमा पढ्न जानु, पुस्तकालयको नियमित सदस्य हुनु ठुलै गर्वको विषय हुन्थ्यो ।
तर वर्तमान दृश्यमा भिन्नता आएको छ । कतिपय पुस्तकालयमा ताला लगाएर राखिएका छन् । कतिपयले अस्तित्व गुमाए । कतिपय जेनतेन बाँचेका छन् । अहिले बाँचिरहेको भए अमेरिकी पत्रकार कार्ल टी रोन (१९२५–२०००) ले ‘पुस्तकालय मन्दिर हो र सङ्घर्षले भन्दा पुस्तकालयको सिकाइले मानिसलाई बढी उन्मुक्ति दिन्छ’ भन्ने थिए कि थिएनन् भनेर सोच्ने दिन आएका छन् । सम्पन्नशाली देशहरूले हुलाकलाई ई–मेल बनाए, रुपियाँलाई ई–करेन्सी बनाए, पुस्तकालयलाई ई–पुस्तकालय बनाएका छन्, बनाउँदै छन् ।
विश्वको डिजिटलीकरण हुँदैछ । यस्तो अवस्थामा नेपाल कता जाने हो ? नेपालको दीर्घकालीन सञ्चार नीतिले अहिले पनि पत्रिका, पुस्तकको छपाइलाई महìव दिएको छ । प्रादेशिक र स्थानीय तहमा पुस्तक, पत्रपत्रिका प्रकाशन, दर्ता मात्र होइन पुस्तकालयको स्थापनाको आवश्यकता देखेका छन्, सरकारी दस्तावेजले तर अबका पुस्तकलय विगतकै वीर पुस्तकालय हुने छैनन् भनेर स्पष्ट हुनुपर्छ । अबका दिन कुनै पनि नामका सरकारी प्रज्ञा प्रतिष्ठानले रातो किताबको बजेटबाट ‘रत्न पुस्तक भण्डार’ वा हितैषी प्रेस वाराणासीले जसरी किताब छाप्नुको औचित्य पुष्टि गर्न सक्ने छैनन् । यस्ता प्रकाशन व्यक्तिगत ‘शुभलाभ’का लागि बढी र सामूहिक शुभज्ञानका लागि कम हुने देखिन्छ । यस्तो वर्तमानमा अबको यात्रा विद्युतीय पुस्तकालयतिर हुनुपर्छ । एकतिर सुगौली सन्धिजस्ता हाम्रा महìवपूर्ण दस्तावेज हामीले सङ्कलन, सङ्ग्रह र सुरक्षित गर्न सकेका छैनौँ, अर्कोतिर नयाँ पुस्ताले एक क्लिक गर्नेबित्तिकै विश्वका विविध विषयमा जानकारी दिने वेबसाइटलाई ‘आधुनिक पुस्तकालय’ बनाउन सकेका छैनौँ । यो विरोधाभाषले पुस्तकालयका सन्दर्भमा हामीलाई न इतिहास न भविष्यसँग जोड्नेछ । शब्दकोशले झैँ पुस्तकालयलाई किताब राख्ने र पढ्ने घर मात्र भन्ने हो भने यसमाथि गरिने आर्थिक लगानीको औचित्य अझ कमजोर हुनेछ । पुस्तकालय मूलतः लेखिएका, कोरिएका, छापिएका दस्तावेजहरूको सङ्कलन, सङ्ग्रह, सुरक्षा, अध्ययन, अनुसन्धान गर्ने बहुउपयोगी स्थान÷सम्पदा हुनुपर्ने वर्तमान अवस्थामा सरकारले पुस्तकालय विज्ञानको अध्ययन÷अध्यापनसँगै पुस्तकालयको विद्युतीयकरण (डिजिटलाइज्ड) गर्नु आवश्यक छ । अबका पुस्तकालय पढिने मात्र नभएर देखिने र सुनिने पनि हुनुपर्छ । नेपालमा रहेका विभिन्न पुस्तकालयमा के, कस्ता सामग्री कहाँ छन् तिनको जानकारी पाउन सक्ने गरी सूची बनाएर पाठकलाई आकर्षित गर्न सकिनेछ । मदन पुरस्कार पुस्तकालयले यस्तो सूची विद्युतीय रूपमा हेर्न मिल्ने बनाएको छ । विभिन्न र पुराना सामुदायिक पुस्तकालयमा पनि ऐतिहासिक महìवका सामग्री रहेका छन् । कतिपय व्यक्तिसँग पनि दुर्लभ सामग्री छन् ।
सरकारले यस्ता सामग्रीको डिजिटल आर्काइभ बनाउन सहयोग गर्नुपर्नेछ । यसनिम्ति सरकारले सार्वजनिक आह्वान गर्न सक्छ । पुस्तकालय र त्यहाँ भौतिक लगानी गर्नुको सट्टा नियमित विद्युत् आपूर्ति, इन्टरनेट सुविधा, युवा तथा विद्यार्थीलाई विद्युतीय उपकरण खरिदमा सहुलियत दिएर घरआँगनमा सस्तो र सुलभ विद्युतीय पुस्तकालय पु-याउन सकिनेछ । तर अहिले पनि सरकारले इन्टरनेट र कम्युटरलाई मनोरञ्जनको माध्यम÷साधन बनाएर चर्को कर लिइरहेको गुनासो छ । इन्टरनेटको प्रयोगलाई बौद्धिक ज्ञान आर्जनको साधन बनाउने गरी संयन्त्र तयार गर्न नसक्ने अनि हचुवाका भरमा इन्टरनेटलाई मनोरञ्जनको साधन भनेर डिजिटलाइज्ड नेपाल बनाउने अभियान सुस्त बनाउनु हुँदैन । समाजलाई आधुनिकतातिर डो-याउने साहित्यको विस्तारमा विद्युतीय पुस्तकालयको अभियानलाई वर्तमान नेपालले उच्च महत्व दिनुपर्ने छ ।