दौलतविक्रम विष्ट (सं. १९८३–२०५९) को ‘चपाइएका अनुहार’ (सं. २०३०) चर्चित उपन्यास हो । काव्यात्मक भाषाको जादुले यो कृति अविस्मरणीय बनेको छ । फौजी सिपाहीको कथा चपाइएको अनुहार यथार्थवादी उपन्यास हो । बीसको दशकपछि नेपाली उपन्यास लेखन उन्नत समयमा प्रवेश गरेपछि यस उपन्यासले जन्म लिएको देखिन्छ । नेपालको सामाजिक सांस्कृतिक अवस्थालाई यसमा चित्रण गरिएको छ । लघु आकारको यस उपन्यास संस्मरणात्मक शैलीमा सिर्जित छ । मानवतालाई दर्शाउनु यस उपन्यासको मुख्य लक्ष्य देखिन्छ । खासमा युद्धको दुन्दुभीले पनि मानवताको सपाट रूप चपाउन सकेको छैन । सक्दैन पनि । यस उपन्यासमा सारमा यस्तै भाव व्यक्त भएको देखिन्छ । प्रस्तुत लेखको उद्देश्य पनि मानवतावादी दृष्टिबाट प्रस्तुत उपन्यासलाई पर्गेल्नु रहेको छ ।
मानवतावादको अर्थ मानवको र मानव अवस्थाको मूल्यको अवलोकन गर्नु हो । उदारता, अनुकम्पा, उदात्ततासँग यसको सम्बन्ध रहन्छ । साहित्यिक चिन्तनभित्र यस प्रकृतिका सार्विक चिन्तनको प्रयोग गरिएको हुन्छ । नेपाली उपन्यासमा प्रत्यक्ष–परोक्ष रूपमा मानवतावादको प्रयोग हुँदै आएको छ ।
चपाइएका अनुहार उपन्यास विदेशी परिवेशमा आरम्भ भएको छ । यद्यपि यसको अन्तर्तहमा मानवतालाई अवलोकन गर्नु रहेको देखिन्छ । अनन्त, किमरिख, बेरगितजस्ता मुख्य पात्रहरूमार्फत उपन्यासकारले सिर्जित जटिलताभित्र मानवहितको आवज उठाउन खोजेका छन् । भिन्न सांस्कृतिक र भौगोलिक परिवेशका पात्रहरू भए पनि आपसी सद्भावका साथ उनीहरूले व्यवहार गरेकाले उनीहरूको अन्तश्चेतना मानवता जीवित रहेको देखाइएको छ । उपन्यासका सबै पात्रको साझा समस्या गरिबी भए पनि यसभित्र पनि सर्व–कल्याणको चिन्तन प्रस्तुत गर्न खोजिएको छ । उपन्यासको चरित्र विकासका दृष्टिले त्यति सबल नदेखिए पनि तिनीहरूमा कहीँ न कहीँ सद्भावको लय भेट्टाउन सकिन्छ । पात्रको स्तर र अवस्थाभन्दा उपल्लो स्तरको भाषाको प्रयोग भएको भए पनि उनीहरूको केन्द्रीकृत लक्ष्य परोपकार रहेको देखिन्छ । क्षीण कथानक र सीमित पात्रको प्रयोग गरिएको यो उपन्यास कारुणिकताभित्र ममताको सपाट चित्रण गर्ने उपन्यास हो । करुणाभित्र पनि धिपधिपे ज्योतिमा झिनो रूपमा बाँचेको मानवतालाई आख्यानीकृत गरिएको छ यस उपन्यासमा ।
चपाइएका अनुहार उपन्यासको परिवेश निकै कौतुहलपूर्ण सिर्जना गरेर मानवीय जटिलताको उपस्थापन गर्न खोजिएको छ । युद्धको जटिल परिस्थिति त्यो पनि अफ्रिकाको अनकन्टार ठाउँमा उपन्यासकारले कसरी विषयको समाख्यान गर्न सकेका होलान् भन्ने जिज्ञासा उपन्यासको आरम्भबाट नै पाठकले बोध गर्छन् । यो सबै मानवताविरुद्ध लागेको डढेलोलाई सङ्केत गर्न खोजेको देखिन्छ । अफ्रिकाको जङ्गल, जटिल र प्रतिकूल वातावरणले परिस्थितिलाई झन् जटिलतामा पु¥याएको सन्दर्भलाई उपन्यासमा उठाइएको छ जसको अन्तिम आशय स्खलित मानवतालाई दुरुस्त देखाउनु हो । युद्धमा सहभागी हुँदा नयाँ भूगोल र नेपालको स्थानीय भूगोललाई समन्वय गरेर यस उपन्यासको कार्यव्यापार अगाडि बढाइको छ र सङ्कटापन्न मानवतालाई सङ्केत गर्न खोजिएको छ । भौगोलिक हिसाबले देशी र विदेशी परिवेशलाई उपन्यास जटिल मात्र बनाएको छैन मानवीय जटिलताको चित्र देखाउन खोजिएको छ । समयका हिसाबले युद्धकालीन परिवेशको चित्र उपन्यासमा पाइन्छ । यो जटिल परिवेशविधानले जटिलतामा जकडिएको मानवतालाई इङ्गित गरेको छ । जटिल परिवेशभित्र पनि थोरै मानवता बाँचेको छ भन्ने तथ्यलाई उपन्यासमा केन्द्रीय विषय बनाइएको छ । युद्धको दृश्याङ्कनभित्र मानवताको सानो धब्बा चिहाउनु यस उपन्यासको अभिप्राय हो भन्ने बुझिन्छ ।
चपाइएका अनुहार उपन्यास वैचारिक उपन्यास हो । यसमा प्रस्तुत भएको वैचारिकता मानवतावाद हो । हिजोदेखि आजसम्म सबैभन्दा जटिल सङ्कटमा परेको मानवतावादलाई यस उपन्यासको केन्द्रीय कथ्य बनाएको छ । संसारभरिका मान्छेलाई मानवीय सद्भावले सम्बोधन गरिनुपर्छ भन्ने कुरा मानवतावादमा आउनु स्वाभाविक छ । समाजमा काटमार छ । युद्ध छ । अविश्वास छ । मान्छेबाट सबैभन्दा धेरै त्राहिमाम मान्छे नै बनेको छ तर पनि मानवताको दियोमा तेल थप्न भने छोड्नु हुँदैन भन्ने भाव यस उपन्यासमा व्यक्त भएको छ ।
अनुहार फरक हुनसक्छ । स्वभाव फरक हुनसक्छ तर जटिलतामा सङ्घर्षरत दुई भिन्न व्यक्तिमा पहिलो सर्त भनेको बाँच्नु हो र बचाउनु हो । भौतिक रूपमा जमिन ध्वस्त हुनसक्छ । मानवीय अस्तित्व धुलिट्याम हुनसक्छ तर मान्छेको अन्तश्चेतनामा रहेको मानवता चपाउन सकिँदैन । यो सग्लो रहन्छ र रहनुपर्छ भन्ने केन्द्रीय विचार यस उपन्यासमा प्रस्तुत भएको छ । युद्धको मोर्चामा नै किन नहोस् मानवताको ज्योति धिपधिप्याउन छोड्नु हुँदैन । प्रकृति विपत्तिले त मान्छेलाई निल्न सक्छ तर मान्छे मान्छेलाई कहिल्यै निल्न हुँदैन । सक्दैन । अन्तिमसम्म पनि बाँच्नुपर्छ । बचाउनुपर्छ भन्ने वैचारिक पक्ष उपन्यासमा आएको छ । संसारभरका मान्छेले मान्छेलाई हेर्ने आँखा उज्यालो हुनुपर्छ । हामी बुद्धभूमिका सन्ततिले त झन् उदार भावनाबाट संसारलाई हेर्ने नयाँ दृष्टि दिनुपर्छ भन्नु नै यस उपन्यासको चिन्तन पक्ष हो ।
संसारमा सधैँ राम्रा मान्छे मात्र जन्मदैनन् । समयले हिटलर र गान्धीलाई सँगसँगै जन्माउँछ । तर अन्ततः मानवीय पक्षधरताका लागि हामी सधैँ गान्धीको पक्षमा लाग्नुको विकल्प छैन । यस उपन्यासको फ्रेममा दार्शनिकता नदेखिए पनि अन्तर्गतिमा मानवीयता देखिनु चाखलाग्दो रहेको छ । अन्तर्धरातलमा यदि हामीले युद्धलाई समाप्त पार्न सकेनौँ भने यसले हामीलाई सिध्याउँछ भन्ने केन्द्रीय भाव उपन्यासमा पढ्न पाइन्छ । यो उपन्यासको योजनाबद्ध रणनीति हो भन्ने बुझिन्छ ।
युद्ध कहिल्यै राम्रो हुँदैन । शान्ति सधैँ राम्रो हुन्छ । मानव जातिको इतिहासलाई पर्गेल्ने हो भने हिजोदेखि आजसम्म धेरै युद्धहरू भए तर मान्छेले सधैँ यसलाई खारेज गर्न चाहेको छ । आंशिक सफलता नै किन नहोस् मान्छेले अन्ततः युद्ध चाहेको छैन । मान्छेको स्वभाव हिंस्रक होइन शान्तिकामी हो । डार्बिनले जेसुकै भनून् युद्धलाई प्रकृतिप्रदत्त नियम भन्न मिल्दैन । प्रस्तुत उपन्यासको चुरो कुरा यही हो ।
आक्रोशमा हेर्दा गान्धीको अहिंसावादी चिन्तन जुत्ताको तलुवामुनि किन नपरोस् अन्ततः यसको विकल्प छैन भन्न खोज्नु यस उपन्यासको खास विचार देखिन्छ । युद्ध मानवताको इष्ट कहिल्यै हुनसक्दैन । हामी भयानक युद्धलाई मात्र बिर्सनु हुँदैन कि संसारमा कहिल्यै युद्ध नहुने पक्का गरिनुपर्छ । मानव प्रकृतिको उपज हो । युद्धले मानवलाई विनाश गर्नु भनेको प्रकृतिलाई ध्वंश गर्नु हो । युद्ध र अपराधविरुद्ध सामूहिक आवाज उठाउन ढिलो गर्नु हुँदैन भन्ने भाव यस उपन्यासमा आएको छ ।
युद्धहरूमा हुने सामूहिक हत्या र जनधनको विनाश विकराल हुन्छ । यसले हजारौँलाई विक्षिप्त बनाउँछ । युद्धले घृणा सिर्जना गर्छ । मानिसहरू स्वार्थी र क्रूर बनाउँछ अनि अन्ततः मानवबीचको दूरी झन् फराकिलो बनाउँछ । फलस्वरूप मानवता र नैतिकताको विकराल रूप सिर्जना हुन्छ । मावन सभ्यताको अन्त्य हुन्छ । लडाइँ र मानवता परस्पर विरोध चिन्तन भए पनि युद्धको समाप्तिपछि मानवताको आँकुरा स्वतः पलाउँछ भन्ने भाव उपन्यासमा प्रस्तुत गरिएको छ । यो उपन्यासको खास मक्सद पनि रहेको देखिन्छ ।
यस उपन्यासमा वर्गीय पात्रहरू छन् । मुख्य पात्र अनन्त अन्य पात्रहरू किमरिख, वेरगीत, चन्द्रे जस्ता पात्रहरूको पारिवारिक एवम् आर्थिक अवस्थालाई बुझ्दा उच्च, मध्यम र निम्न वर्गको प्रतिनिधिका रूपमा रहेको देखिन्छ । आर्थिक हैसियत उच्च भएका राष्ट्रले कमजोर राष्ट्रलाई र उच्च वर्गले निम्न वर्गलाई अन्याय, अत्याचार, दमन, शोषण गरेको तथ्य उपन्यासमा छ । विनाशकारी युद्धमा निम्न वर्गीय पात्रहरू धेरै मरेको, घाइते भएको, परिवार विक्षिप्त बनेको जस्ता कारण उच्च वर्गको शासनले आम जनताहरूले दुःख, पीडा र कष्ट भोग्नुपरेको यथार्थ प्रष्ट हुन्छ । मानवताको फडानी पनि यस्तै वर्गीय समाजबाट ज्यादा हुन्छ भन्ने विचार उपन्यासमा प्रस्तुत भएको छ ।
युद्धको सपाट विम्ब प्रयोग गरेर मानवताको वकालत गर्न विष्ट कति खप्पिस छन् भन्ने बुझ्ने केही दृष्टान्तहरू नै काफी छन्
“शत्रुपक्षको गोलीको पर्रा मेरो कनपट्टीलाई छोलाछोला भनेझैँ गरी सुइँयसुइँय सुइकँदा पनि मेरो बुद्धिसम्मत चेतनाले धोका दिएको थिएन ।”
“ती हवाईजहाजले बम खसाल्न थाल्छन् । फेरि ब्युँझिन्छ हामीले बिर्सिसकेको उही युद्धको आभास, उही मर्ने र मार्ने कुराको विक्षिप्त छनक, उही मान्छे मात्र बारुदको पुञ्ज भएको दुर्गन्ध ।”
“कुनै कृषक युद्ध चाहँदैनन्, कुनै मजदुर युद्ध चाहँदैनन्, मैले अस्पतालको बिछ्यौनामा मजदुर सिपाहीहरूको स्वर सुनेकी छु ।”
उल्लिखित दृष्टान्तको आधार र पूर्वअध्येता ठाकुर पराजुली, ताना शर्मा, राजेन्द्र सुवेदी अनि कृष्णहरि बराल र नेत्र एटमका अनुसार पनि यो वैचारिक उपन्यास हो भन्न थप आड मिल्छ ।
समग्रमा नेपाली उपन्यास परम्परामा आज रमिता छ, शिरीषको फूलजस्ता उपन्यासपछि सिर्जना भएको चपाइएका अनुहार मानवीय मूल्यलाई बचाउने उद्देश्यले सिर्जना गरिएको बलियो उपन्यास हो । युद्धलाई घृणा गर्ने र मानवतालाई माया गर्न सिकाउने यो उपन्यास मानवतावादी विचार र कलात्मक शिल्प पक्ष दुवै दृष्टिबाट सबल देखिन्छ । नेपाली उपन्यास साहित्यमा उच्च मानवीय उपन्यासको सूचीकृत गर्दा अनुसन्धाता लक्ष्मी अधिकारीले भनेजस्तै यो उपन्यास अग्रपङ्क्तिमा आउने निश्चित छ । जटिल परिस्थितिमा अनुहार चपाएर पनि मावताको अनुहार चपाउन नसकिएको परिस्थिति सिर्जना गर्ने यो उपन्यास पठनीय र ऐतिहासिक उपन्यास हो ।