• ८ मंसिर २०८१, शनिबार

‘छोराको खरायो हराएको सम्झनामा लेखेँ’

blog

बालपत्रिका ‘मुना’ को ‘स्रष्टा संवाद’ स्तम्भका लागि यस पटक हामीले भोजपुर जिल्लाको मार्सेमा जन्मनुभएकी (हालको बसाइँ : नयाँ बानेश्वर काठमाडौँ) बालसाहित्यकार कल्पना प्रधानसँग क्याम्ब्रिज पब्लिक हाइस्कुल, पुरानो बानेश्वरमा कक्षा ९ मा अध्ययनरत छात्र रूपमाङ्ग लुइँटेलले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार प्रधान र लुइँटेलको संवाद : 

तपाईंको बाल्यकाल कस्तो थियो होला ?

मेरो जन्म २००३ साल असोज ३ गते पूर्व ४ नम्बर  भोजपुर जिल्लाको मार्से भन्ने ठाउँ अहिलेकोे खोटाङमा भएको थियो । बाल्यकाल त्यस्तै त हो म अलि जिज्ञासु स्वभावको थिएँ । सुखसयलमै बित्यो । 

तपाईं पढ्ने विद्यालय कस्तो थियो ?

त्यतिबेला धेरैका आमाबाबुलाई आफ्ना छोराछोरीलाई पढाउनु पर्छ भन्ने ज्ञान नै थिएन । सानै उमेरमा बिहे गरिहाल्थे । स्वतन्त्र भएर, रमाएर, खेलेर बस्न नै कहाँ पाइन्थ्यो र ! अझ छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने कुरै थिएन । म पढ्नका लागि स्कुल नै गइनँ । नेपाली अक्षर परिवारले घरमा नै सिकाउनु भयो । पछि एकै पटक ठूली भएपछि ८ कक्षामा भर्ना भएर मात्र स्कुल जान थाले । 

विद्यालयको के कस्ता कुरा सम्झना आउँछ ?

  त्यसबेला धेरै स्कुल खुलेकै थिएनन् । स्कुल पुग्नै घण्टौँ लाग्ने ठाउँका केटाकेटीले त्यहाँसम्म पुगेर पढ्न सक्ने कुरै भएन । त्यसैले सानो उमेरमा विद्यार्थी भएर पढ्ने विद्यालय जानेजस्ता कुराको केही सम्झना नै छन् । 

घरमा कसरी पढ्नु हुन्थ्यो ?

म सानामा पढ्नलाई साह्रै रुचि गर्थें । मेरो यो चाख देखेर म मावलमा भएको बेलामा मावली हजुरआमा तेजकुमारी न्यौपानेले अङ्ग्रेजी पढ्नका लागि पण्डित वाशुदेव न्यौपानेलाई शिक्षकका  रूपमा व्यवस्था गरिदिनु भयो । दिएको सबै कुरा कण्ठ पार्थे ।

त्यस समयमा पाइने पुस्तकहरूको  हजुरलाई केही सम्झना छ ? 

आमा, हजुरआमा, हजुरबुबा आदिले विभिन्न कथा सुनाउनुहुन्थ्यो । ठूला मान्छेले जे सिकाउनु भयो र ‘यो पढ’ भनेर दिनुभयो ति नै हाम्रा पढ्ने सामग्री हुन्थे । संस्कृतका चण्डी आदि नेपालीमा लेखिएका स्वस्थानीको कथा, विभिन्न व्रतका कथा, कृष्ण चरित्र यस्तै यस्तै किताब हुन्थ्यो । 

विद्यालय जान गृहकार्य गर्न नपर्ने भएपछि त्यतिबेला बालबालिकाहरूको दैनिकी कस्तो हुन्थ्यो होला  ?

 हो नि है । अहिलेका बालबालिकालाई बिहान उठेदेखि बेलुकासम्म भ्याइनभ्याइ हुन्छ तर त्यति बेला, गोठाला जाने, घाँस काट्नेदेखि घरको काम गर्ने सबै आमाबाबासँगै केटाकेटीले पनि गर्नु पथ्र्यौ अनि दिन बितेन त । 

त्यति बेला गाउँघरमा कस्ता खेलहरू खेल्ने गरिन्थ्यो ? 

 त्यस बेला बालबालिकाले त्यति खेल्न पाउँदैनथे । घरको कामले फुर्सद नै हुँदैन थियो । म चाहिँँ अलि भाग्यमानी रहिछु । आफ्नै मनले काम सघाउन गए मात्रै हो नत्र त खेलेरै दिन कटाउन पनि पाउँथे । त्यही त हो खेलहरू गट्टा, रुमाल लुकाइ । 

तपाईंको साहित्य लेखनको सुरुवात र प्रेरणाको स्रोत चाहिँ के होला ?

मैले स्कुलमा पढ्ने उमेरमै लेख्न थालेकी थिएँ । भोजपुरको विद्योदय स्कुलमा पढ्दा शुक्रबार हुने विभिन्न प्रतियोगितामध्ये कवितामा भाग लिएर प्रथम भई पुरस्कार पाएको सम्झना छ । मेरो छापिएको पहिलो रचना चाहिँ विश्वको नौलो झल्काइ भन्ने कविता हो । यो २०१९÷२० सालतिर छापिएको थियो । 

सानै उमेरदेखि कुन कुराले तपाईंलाई लेखनतर्फ प्रेरित गरिरह्यो ?

मेरो साहित्य लेखनको स्रोत भन्नुपर्दा पहिलो कुरा मेरा बुवा, हजुरबुवाहरू त्यति बेलै साहित्य रचना गर्न अगाडि हुनुहुन्थ्यो । म दुई वर्षकी पुग्दा नपुग्दै एकतीस वर्षको कलिलो उमेरमा नै परलोक जानुभएको भए पनि मेरा बुवा मोहनप्रसाद रेग्मी राम्रो साहित्यकार हुनुहुन्थ्यो । यसैगरी मेरो मावली परिवार अथवा भोजपुरका न्यौपाने खलकका निकै सन्तानहरू आज पनि देशकै चिनिएका साहित्यकार  हुनुहुन्छ । वातावरण पनि त्यस्तै भएर होला म पनि जिज्ञासु बन्दै गएँ । त्यस्तै मेरा श्रीमान् परशु प्रधान पनि साहित्यकार हुनुहुन्छ । स्वाभाविक रूपमा उहाँको प्रेरणा अहिलेसम्म पनि छँदैछ । अर्को कुरा भनेको मेरो पढाइका सन्दर्भमा र पारिवारिक भेटघाटका सन्दर्भमा काशीनाथ तमोट, कृष्णप्रसाद पराजुली, वाशु रिमाल यात्री आदिसँग भेट भयो  र उहाँहरूले पनि प्रेरणा दिनुभयो । मेरो बढी चर्चित मेरो सानो खरायो भन्ने बाल कविता चाहिँ मेरो छोरो प्रतीक प्रधान सानो बच्चा हुँदा ल्याइदिएको खेलौना खरायो हराएको सन्दर्भमा लेखेकी थिएँ । 

अहिलेका बालबालिकालाई विज्ञान प्रविधि र इन्टरनेटले  धेरै सहज बनाएको छ जस्तो लाग्दैन ? 

हो नि । उतिबेला स्कुलमा नपढ्दा, गृहकार्य नगर्दा शिक्षकले कुटेर दण्ड दिन्थे । अहिले जस्तो पढ्ने धेरै कुरा हुँदैनथे । टिभी, कम्प्युटर, मोबाइल थिएन । त्यसैले बालबालिका पनि धेरै डराउने, लजाउने, अलि सोझासिधा हुन्थे ।  अहिलेकाले धेरै कुरा जान्न बुझ्न पाएका छन् र बाठा पनि छन् । 

तपाईं आफ्ना साहित्यमा के कस्ता विषय लेख्न मन पराउनुहुन्छ ?

 म यस्तो विषयमा लेख्छु भनेर खास योजना बनाउँदिन । देखाइमा, भोगाइमा र अनुभवमा आएका मन छुने खालका जे जस्ता घटनाक्रम हुन्छन्  म तिनै कुरालाई विषय बनाएर लेख्छु । 

हामी बालबालिकाले बिर्सनै नहुने कुरा के होला ? 

 म बालिका भएको समयभन्दा अहिलेको समय धेरै फरक छ । अहिलेका बालबालिकाले आधुनिक सामग्री र संसार चिन्ने मौका पाएका छन् । यस्तो अवसरको राम्रो उपयोग गर्नुपर्छ । घर, परिवार, समाज, समय चिनेर सबैलाई सम्मान र राम्रो व्यवहार गर्नुपर्छ । अनुशासित भएर असल मान्छे बन्नुपर्छ भन्ने कुरा कहिल्यै बिर्सनु् हुँदैन ।