कपिल ज्ञवाली
सिद्धार्थनगर, असोज २९ गते । रूपन्देही जिल्लामा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । जिल्लाको प्रतिकुल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्ला सुरक्षा समितिलको बैठकले सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था दूरुस्त राख्न तिहारमा बिहान ७ देखि राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने निर्णय गरेको हो ।
सुरक्षा समितिले देउसी–भैलोमा सहभागी हुनले मर्यादित पोशाक लगाउनु पर्ने र मादक पदार्थ सेवन गर्न नपाइने निर्णय गरेको छ ।
देउसी–भैलो व्यवस्थित गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिने छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो–‘सुरक्षा व्यवस्था खलबलिन नदिन र नागरिकलाई सुरक्षा प्रत्याभूति गराउन यस्तो निर्णय गरिएको हो ।’ विगतका वर्षहरूमा प्रशासनले राति १० बजेसम्म देउसी खेल्न दिँदै आएको थियो ।
सुचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाद्वारा हस्तिाक्षरित बिज्ञप्तीमा तिहार पर्वलाइ सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । प्रशासनले अखाद्यवस्तु ,रङ मिसाइएका मिठाइहरू ,म्याद गुज्रेका भाइ मसला र प्लास्टिक जन्य फूलमाला प्रयोग नगर्न ,बिक्री वितरण नगर्न अपिल गरेको छ ।