• ५ असोज २०८२, आइतबार

खिर कसले खायो ?

blog

कुनै लेकमा धनी साहुको ठुलो गाईगोठ थियो । साहु निकै कठोर मिजासका थिए । उनले ती गाईको स्याहारका लागि तीन जना कामदार राखेका थिए । कामदार एकै परिवारका तीन दाजुभाइ थिए । 

गोठको बास । पुसको रात । झिसमिसे उज्यालो हुने बेला भएको थियो । जाडोले असाध्यै सताएको थियो । ओछ्यानबाट जुरुक्क उठेर कान्छाले भने, “घर छोडेको यतिका महिना भयो । एक दिन पनि मिठोमसिनो खाने मौका मिलेको छैन । दाजुहरूले मान्नुहुन्छ भने एउटा कुरा भन्ने थिएँ...!”

“यस्तो चिसोमा उज्यालै हुन नपाई यो कान्छालाई फेरि के खाने रहर पलायो नि...!” माइलो 

दाजुको सोचाइमा भाइको रहर र मालिकको कठोर मिजास सँगै भेला भए । उनी सिरकले मुख छोपेर उतापट्टि फर्किए । 

कान्छाले फेरि थपे, “ठुल्दाजुले के भन्लान्  

कुन्नी ?” कान्छोको स्वरले जेठाको दाजुको निद्रा खुल्यो । सिरकबाट अलिकति अनुहार देखाएर उनले भने, “तँलाई के खान मन लाग्यो ? ल भन कान्छा, तेरो इच्छा म पूरा गरिदिन्छु ।” “हँ, साँच्चै...!” कान्छो फुरुक्क पर्दै भने, “आमाले पकाए जस्तै मिठो खिर खाने नि !”जेठालाई आफ्नो भाइको माया लाग्यो । भाइको रहर पूरा गरिदिनकै लागि उनी उज्यालो भएपछि मालिककहाँ गए र बिन्ती बिसाए । बल्लतल्ल साहु राजी भए । त्यसै दिन बेलुका गोठमा खिर पाक्ने पक्का भयो । 

साँझ परेपछि गोठका सारा काम सकेर जेठो दाजुले खिर पकाउन थाले । कान्छो भने फुर्किएर खपिसक्नु थिएन । उनी दुध तताएका बेलाको बिरालो जस्तै गरेर अँगेनो वरिपरि घुम्न थाले । यसैबिच माहिलोले प्वाक्क बोले, “हेर कान्छा, यस्तो लेकमा खिर त मिठो होला तर लोभी साहुले साह्रै थोरै चामल दिएछन् । भित्री मुठी एक ज्यान बराबर रे !” 

अलि निराश हुँदै कान्छाले भने, “...तर मलाई त साह्रै भोक लागेको छ नि !”

खिर पाक्न थाल्यो । बास्ना गोठभरि फैलियो तर सामग्री कम थियो । तीन दाजुभाइका बिचमा कसले धेरै खाने भन्ने विषयमा विवाद भयो । “सबैभन्दा धेरै मेहनत मैले गरेको छु । म तिमीहरूको दाजु पनि हुँ । त्यसैले सबैभन्दा धेरै खिर त मेरो भागमा हुनु पर्छ,” जेठाले भने । “दाउरा खोजेर ल्याएको मैले हो । म चाहिँ हेरेर मात्र बसेको छु र ? मलाई कम्ती भाग पर्नु हुँदैन नि, !” माहिलाले पनि खबरदारी गरे । “सुरुमा खिर खाने रहर गर्ने म नै हुँ । अझ म त कान्छो भाइ । तिमीहरूले माया गर्नुपर्ने मान्छे । तिमीहरूले मलाई ठग्न कसरी मिल्छ, ?” कान्छाले पनि सजिलो कुरा गरेनन् । गलफत्ती बढ्दै गएपछि जेठाले एउटा जुक्ति लगाए र भने, “कसले कति खिर खाने भन्ने कुरा पनि साहुलाई यहीँ बोलाएर सोधौँ र उनको सल्लाह अनुसार गरौँ ।” 

जेठाको विचारमा भाइहरू सहमत भए । त्यसपछि जेठो साहु लिन गए । उनले साहुलाई सारा कुरा सुनाए । बल्लतल्ल साहु गोठमा आए । “ल आज यो खिर जस्ताको तस्तै छोपेर राख । 

आज राति जसले राम्रो सपना देख्छ, त्यसले धेर खानू । सपनाको निर्णय गर्न म भोलि बिहान यहाँ आउँछु । अहिले चुप लागेर सुत ।” यति भनेर साहु हिँडे । दाजुभाइले पनि साहुको कुरा शिरोपर गरेर खिर राम्रोसँग छोपेर राखे अनि सुते ।  

राति जति निदाउने प्रयास गर्दा पनि कान्छालाई  निद्रा  परेन । उता दाजुहरू घुर्न थाले । छेउमा बसेको बिरालो पनि निदायो । सपना त कहाँ देख्नु !  उनी निकैबेर छटपटाइरहे । निदाउन केही सिप नचलेपछि कान्छो सुतेको ठाउँबाट सरक्क उठे । छोपेर राखेको खिरको भाँडो बिस्तारै खोले । खिर सेलाउँदै गएर ठिक्क मनतातो भएको थियो । उनले कपाकपी सबै खिर खाए र उस्तै पारेर भाँडो छोपिदिए । अनि सरक्क आएर सुते । बिहान कान्छो ब्युँझिँदा साहु सपना सुन्न आइसकेका रहेछन् । दाजुहरू गोठको धन्दा गर्दै थिए । कान्छालाई के गरौँ के गरौँ भन्ने छटपटी भयो । उनलाई कसैलाई केही भनिहाल्ने आँट पनि आएन । उनले आज साहुलाई ढोग पनि गरेन । 

तीनै जना गोठाला भेला भएपछि साहुले पालैपालो आज राति देखेको सपना सुनाउन आदेश दिए । सुरुमा जेठाले बडो फुर्तिसाथ भने, “सपनामा मैले चाँदीको दरबार देखेँ । त्यहाँ त हाम्रै गाईगोठ रहेछ । तपाईंले दही, नौनी झिक्दै हुनुहुन्थ्यो । गोठको धारामा त दुध जस्तै पानी बग्दै थियो ।” 

“अब माहिलाको पालो ।” साहु माहिलाको मुखतिर फर्किए । माहिलो पनि हौसिँदै भन्न थाले, “मेरो सपनामा शिवपार्वती आएर यो जग्गाका बारेमा वर्णन गर्नुभयो । यहाँ सेता सर्पको बास छ रे । यहाँ त कृष्णले गाईको रेखदेख गर्दा रहेछन् ! उहाँहरूले मलाई आशीर्वाद पनि दिनुभयो ।”

“दुवैले कस्ता राम्रा सपना देखे छौँ । ल, अब कान्छाको पालो” साहु कान्छो बसेतिर फर्किए । कान्छो त बोल्नै नसकी सुक्क सुक्क गरेर रुन पो थाले । साहुले कान्छालाई नरोइकन आफूले देखेको सपना जस्ताको तस्तै सुनाउन अह्राए । अनि उनले डराउँदै डराउँदै मलिन स्वरमा भने, “साहु बा, मेरो सपनामा त अजङ्गको राक्षस आयो । उसका दुवै हातमा तरबार थिए । त्यसले मलाई थपक्क उठेर खिर खा, होइन भने म नै तँलाई खाइदिन्छु भनेर हप्कायो । अनि त मैले खिर नखाइ हुँदै भएन । त्यसैले मैले त राति नै उठेर सबै खिर खाइदिएँ ।”

मुना