• २९ असोज २०८२, बुधबार

बेलायतमा नेपाल एजुकेसन अवार्ड्स : शैक्षिक संस्थाबिच सहकार्यको नयाँ अध्याय सुरु

blog

लन्डन, असोज २९ गते । लन्डनको युनिभर्सिटी अफ ग्रिनिचमा ‘नेपाल एजुकेसन अवार्ड्स युके २०२५’ सम्पन्न भएको छ। 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल–बेलायतबिचको साझेदारी, ज्ञान सृजना र साझा मूल्यहरूको उत्सवका रूपमा यस्ता अवार्डहरूको महत्त्व रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “उत्कृष्टताको कुनै सिमाना हुँदैन। ज्ञान सिर्जना र साझेदारीमार्फत स्वतन्त्र, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्ने हाम्रो साझा लक्ष्य हो,जसले दुई देशबिचको मित्रतालाई अझ सुदृढ बनाउने छ।”

राजदूत घिमिरेले उच्च शिक्षाले नेपाल–बेलायत सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाली विद्यार्थी विश्वस्तरमा प्रतिस्पर्धी र सांस्कृतिक विविधताको प्रतीक बनेको बताउनुभयो।

उहाँले युनिभर्सिटी अफ ग्रिनिच र नेपाली शैक्षिक संस्थाबिच सहकार्यको नयाँ अध्याय सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो।

सोमबार विश्वविद्यालयको ग्रिनिच क्याम्पसमा कलेज रिडर्स पत्रिकाद्वारा आयोजित उक्त समारोहको अध्यक्षता संरक्षक भवानी प्रसाद पौडेलले गर्नुभयो । कार्यक्रममा विभिन्न नेपाली विश्वविद्यालयका उपकुलपति, पदाधिकारी, शिक्षक तथा शिक्षण संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले पत्रिकाको १८ वर्षको यात्रालाई स्मरण गर्दै व्यक्तिगत तथा संस्थागत अवार्डमार्फत नेपालमा शैक्षिक उन्नयनमा योगदान गर्ने व्यक्तित्वलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गर्दै आएको बताउनुभयो।


निर्णायक मण्डलका प्रमुख तथा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक बहादुर शाक्यले अवार्डका लागि १२० भन्दा बढी नामाङ्कन प्राप्त भएको जानकारी दिनुभयो। 

उहाँका अनुसार शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, नेतृत्व, सामुदायिक संलग्नता र विश्व दृष्टिकोणका आधारमा ६२ जना उत्कृष्ट शिक्षाशास्त्री तथा शिक्षक र ३० अग्रणी संस्थालाई सम्मान गरिएको थियो।

समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. सुवर्ण लाल बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, मधेश विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरी, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, द ब्रिटिश कलेजका निर्देशक राजेन कंडेललगायतलाई शैक्षिक उत्कृष्टता र योगदानका आधारमा सम्मान गरिएको थियो।

रिडर्स पत्रिकाका कार्यकारी सम्पादक केशव नेपालले युकेको शैक्षिक परम्परा र सभ्यताबाट नेपालले सिक्न सक्ने धेरै विषय रहेको उल्लेख गर्दै नेपाली शिक्षा क्षेत्र पनि विश्वस्तरमा आफ्नो पहिचान विस्तार गर्दै गएको बताउनुभयो।

युनिभर्सिटी अफ ग्रिनिचकी कार्यकारी निर्देशक (मार्केटिङ तथा विद्यार्थी सम्बन्ध) क्लेयर म्याथ्यूजले नेपालका शैक्षिक संस्थाहरूसँग दीर्घकालीन सहकार्यका लागि आफ्नो विश्वविद्यालय उत्सुक रहेको बताउनुभयो।

कार्यक्रमको अन्त्यमा संरक्षक भवानी पौडेलले धन्यवाद ज्ञापन गर्दै समारोहको समापन गर्नुभयो। कार्यक्रममा युनिभर्सिटी अफ ग्रिनिचका वरिष्ठ अधिकारीहरूलाई ‘टोकन अफ लभ’ पनि प्रदान गरिएको थियो।